‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एभीसी सेन्ट्रल जोन: उपाधि जोगाउनेमा महिला टोली आशावादी

काठमाडौं । पुराना तथा अनुभवी खेलाडीलाई बाहिर राख्दै प्रशिक्षक जगदीश भट्टले एसियन भलिबल कन्फेडेरेसन (एभीसी) एसियन सिनियर महिला सेन्टर जोन भलिबल च्याम्पियनसिपका लागि अन्तिम खेलाडी छनोट गरे । अनुभवी कप्तान विनिता बुढाथोकीसहित अधिकांश पुराना खेलाडीलाई प्रशिक्षणमा नबोलाएपछि प्रशिक्षक भट्ट विवादित बने । नेपाल भलिबल एसोसिएसन (एनभिए) बाटै प्रशिक्षक दबाबमा परे । तर उनले आफ्नो निर्णयलाई उल्टाएनन् । 

उपलब्ध युवा खेलाडीबाटै तयारी पूरा गरे । युवा खेलाडीलाई मनोबल दिए । खेलाडीलाई जित्ने सकिन्छ भनेर हौसला प्रदान गरे । भयो त्यही । बंगलादेशको राजधानी ढाकामा भएको प्रतियोगितामा नेपालले फाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्यो । एसियालीस्तरको ऐतिहासिक पहिलो उपाधि हात पारेको नेपालले फाइनलमा माल्दिभ्सलाई २५-१३,  २५-१२ र २५-८ ले हराउँदै उपाधि हात पार्‍याे । 

यही टोलीले लगत्तै नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली प्रतियोगिता (साग) मा समेत ऐतिहासिक रजत पदक हात पार्‍याे । सुरुआती दुई सेट आफ्नो पक्षमा पारेको नेपालले त्यसपछिका तीन सेट भारतलाई बुझाएको थियो ।  

उनै प्रशिक्षक जगदीश भट्ट र कप्तान अरुणा शाहीको नेतृत्वमा नेपालले पुनः ढाकामै एभीसी सेन्ट्रल जोन खेल्दैछ । पहिलो उपाधि जितेका अघिकांश खेलाडी बाहिर रहे पनि नेपालले युवा खेलाडीलाई समावेश गर्दै ६ देखि १४ पुससम्म हुने प्रतियोगिताका लागि आफ्नो लक्ष्य उपाधि जोगाउने बनाएको छ । अन्तिम १२ खेलाडीको छनोटसँगै नेपाली टोलीले आफ्नो प्रशिक्षणलाई तीव्रता दिएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा प्रशिक्षक भट्टले टोलीको रणनीति बुनिरहेका छन् । 

‘पहिला खेलाडीमा फिटनेसमा समस्या देखिएको थियो तर अहिले रिकभरी भएको छ । १३औं सागमा रजत पदक र सेन्ट्रल जोनमा उपाधि जित्दाको जुन टोलीभन्दा हामी धेरै माथि छौ जस्तो महसुस भएको छ,’ प्रशिक्षक भट्टले भने । उनी अन्तर्राष्ट्रिय प्रतियोगितामा अन्य देशको समेत सहभागिता र प्रशिक्षण नभएको बताउँदै विपक्षीलाई नजिकैबाट नियालेर उपाधि जित्ने गरी प्रशिक्षण गरिरहेको बताउँछन् । 

‘हामीसँग प्रतिस्पर्धा गर्ने टोलीको पनि अन्तर्राष्ट्रिय सहभागिता न्यून छ । प्रशिक्षण हाम्रो जस्तै भएको हुनाले हामीले नेपाललाई फेरि स्वर्ण पदक दिने प्रयासमा लागिरहेका छौ । हामीले प्रतिस्पर्धीलाई नजिकैबाट नियालेर रणनीति बनाइरहेका छौ । र, कमीकमजोरीलाई प्रशिक्षणको माध्यमबाट सुधार गरिरहेका छौं,’ भट्ट भन्छन् ।  

यसपटक प्रतियोगितामा महिलातर्फ नेपालसहित ६ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता सिंगल राउन्ड रोबिनको पद्धतिमा हुनेछ । तालिकाको शीर्षस्थानमा रहने दुई टोलीले उपाधिका लागि खेल्नेछन् भने तेस्रो र चौथोले तेस्रो स्थानका लागि खेल्नेछन् । प्रतियोगितामा आयोजक बंगलादेशसँगै किर्गिस्तान, माल्दिभ्स, साविक विजेता नेपाल, श्रीलंका र उज्वेकिस्तान रहेका छन् ।

प्रतियोगितामा लागि प्रशिक्षक भट्टले अरुणा शाहीको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरिसकेका छन् । टोलीमा लक्ष्मी चन्द, शान्ति थारु र कामना बिष्टले पहिलोपटक स्थान बनाएका छन् । यस्तै कृपा अधिकारी र मनिषा चौधरीले पुनरागमन गरे । 

गत सिजन टोलीमा रहेका रेश्मा भण्डारी, पुनम चन्द, निरुता थगुन्ना, कामला पुन, जानकी भण्डारी यसपटक टोली बाहिर रहे ।  नेपाललाई पहिलोपटक उपाधि दिलाएका कप्तान शाहीसँगै, प्रतिभा माली, सफिया पुन, सुनिता खड्का, सरस्वती चौधरी, सलिना श्रेष्ठले यसपटक समेत प्रतियोगितामा निरन्तरता पाए । 

प्रशिक्षक भट्ट नयाँ खेलाडी टोलीमा आउनु पुराना खेलाडीका लागि चुनौती रहेको बताउँदै नयाँ खेलाडीमा समेत आशा गर्ने ठाउँ रहेको बताउँछन् । ‘मेरो विचारमा भलिबलमा नयाँ खेलाडी आउनु भनेको सुधार भएको लाग्छ । पुराना खेलाडीलाई चुनौती दिन नयाँ खेलाडी आएका छन् । नयाँ खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगिता नखेले पनि आन्तरिक प्रतियोगिता धेरै खेलेका छन् । उनीहरूको आत्मविश्वास धेरै छ । पहिलाभन्दा धेरै आशा र भरोसा भएका छन् । हामीले नयाँ खेलाडीलाई एकदमै आशा गरेका छौ, उनीहरूले राम्रो नखेलेमा पुराना खेलाडीलाई खेलाउने रणनीति बनाएका छौ ।  कृपा अधिकारी र मनिषा चौधरी पुराना खेलाडी हुन्, बाँकी खेलाडीले घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेर आफूलाई स्थापित गरेका खेलाडी छन्,’ भट्ट भन्छन् । 

प्रशिक्षक भट्ट प्रतियोगितामा यसपटक समेत सबै टोली नेपाल अनुकूल भएको बताउँदै टोलीको सर्भिस, ब्लक र स्पाइकमा सुधार भएको बताउँछन् । 

‘उज्वेकिस्तान, कीर्गिस्तान, नेपाल र श्रीलंका उस्तै क्याटगोरीमा छ । बंगलादेश र माल्दिभ्स हामीभन्दा तल छ । किर्गिस्तानलाई हामीले पहिला हराएका थियौ । तर उनीहरू राम्रो छन् । व्यक्तिगत स्रोतबाट प्रशिक्षणको भिडियो मागेर हेरिरहेका छौ र त्यसैअनुसार तयारी गरेका छौं । हामीले सर्भिस, ब्लक र स्पाइकलाई राम्रो बनाएका छौं,’ उनी भन्छन् । 

कप्तान अरुणा शाही साविक विजेता रहेकाले यसपटक समेत उपाधिकै लागि खेल्ने र खेलाडीबीच तालमेलसमेत राम्रो भएको बताउँछिन् । ‘प्रशिक्षण राम्रो भइरहेको छ । साविक विजेता हौ, यसपटक पनि हुनुपर्छ । हाम्रो लक्ष्य च्याम्पियन बन्ने हो । नयाँ र पुराना खेलाडीको समायोजन राम्रो छ’, उनले भनिन् ।  

महिला टोली : अरुणा शाही (कप्तान), प्रतिभा माली, सरस्वती चौधरी, शान्ती थारु, उषा भण्डारी, सुनिता खड्का, मनिषा चौधरी, कामना विष्ट, लक्ष्मी चन्द, सफिया पुन, कृपा अधिकारी, सलिना श्रेष्ठ (लिविरो) 

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  १ : २७ बजे