‘नेशनल डे कन्सर्ट’ सम्पन्न

महानगर प्रहरीले पनि सिसी क्यामराबाट रथयात्राको निगरानी गर्ने

विराटनगर । विराटनगरमा निकालिने ऐतिहासिक राधाकृष्णको रथयात्रामा आपराधिक गतिविधि हुन नदिन सिसी क्यामराबाट निगरानी गर्ने भएको छ ।

महानगरपालिकाको प्रशासनिक भवनस्थित नगर प्रहरीको कन्ट्रोल रुमबाट रथयात्राका क्रममा आपराधिक गतिविधिको हुन नदिन निगरानी गर्न लागिएको हो । राधाकृष्ण मन्दिरदेखि रोडशेष चोकसम्म जडान गरिएका सिसी क्यामराबाट सूक्ष्म रुपमा निगरानी गरिने नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिनुभयो ।

रथयात्रामा हुने भीडको फाइदा उठाउँदै चोरी, पकेटमारा, महिलामाथि हुने दुर्व्यवहारलगायत सिसी क्यामराबाट निगरानी गरिने पौडेलले बताउनुभयो । पौडेलका अनुसार कसैले आपराधिक गतिविधि गरेको पाइए तत्कालै नेपाल प्रहरी र सशस्त्र प्रहरीसित समन्वय गरेर नियन्त्रणमा लिइनेछ । रथयात्रा निकालिने राधाकृष्ण मन्दिरदेखि रोडशेषसम्म महानगरले ३७ वटा सिसी क्यामरा जडान गरेको छ । रोडशेषदेखि बरगाछीसम्म जिल्ला प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट निगरानी गरिनेछ ।

हरेक वर्ष राधाकृष्ण रथयात्रामा हजारौँको सहभागिता रहँदै आएको छ । रथयात्रामा विराटनगरसहित आसपासका गाउँपालिका र भारतका विभिन्न स्थानबाट भक्तजनको सहभागिता रहने गरेको छ । यसपटकको रथयात्रामा करिब पाँच लाख भक्तजन सहभागी हुने आयोजकको अनुमान छ । कृष्णजन्माष्टीको भोलिपल्ट रथयात्रा गर्ने परम्परा छ । तीनपैनीस्थित राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रा मेनरोड हुँदै रोडशेष चोक पुगेर बसपार्क, महेन्द्रचोक, बिजुली अफिस, बरगाछी हुँदै मन्दिरमा पुगेर समापन हुनेछ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  ६ : ५१ बजे