‘एउटै नाउरको सिकार गर्न २३ लाख’

पदाधिकारी छान्ने सकसले माधव नेपाल तनावमा

काठमाडौँ । मुलुकलाई समृद्धितर्फ लम्काउन अगाडि बढिरहेको नेकपा एमालेलाई चोइट्याएर नेकपा एस गठन गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको हबिगत अहिले ‘नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाउको अनुहार’ जस्तै भइरहेको टिप्पणी हुन थालेको छ ।

गत असारको मध्यमा तामझामका साथ उद्घाटन गरिएको महाधिवेशनले केन्द्रीय समिति गठन गर्न नसकेपछि कसैले थाहै नपाउने गरी सट्याकसुटुक समापन गरिएको थियो । अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल रहेको घोषणा गरेर त्यसको एक महिनापछि ३४४ सदस्यीय जम्बो केन्द्रीय समिति बनाइएको छ ।

महाधिवेशनपछि हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठक अहिले माधव नेपाललाई निल्नु न ओकल्नु भइरहेको एक केन्द्रीय सदस्यले बताए । हिजोको बैठकमा केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराइएको थियो भने अध्यक्ष नेपाल र सम्मानित नेता खनालले सम्बोधन गर्नुभएको थियो । त्यस क्रममा नेताहरूले सहमतिमा पदाधिकारी चयन गर्नुपर्ने आशयको भाषण गरेपछि नेतृत्वमा जान खोजेका केन्द्रीय सदस्यहरू नेपाल, खनाल र महासचिव भुसालसँग आगो भएका छन् ।

सहमतिमा अघि बढ्दा नेताहरूको कोटरीबाट नेतृत्व चयन हुने भएकाले धेरैजसो आकांक्षीहरूले केन्द्रीय सदस्यबीच निर्वाचन गराएर पदाधिकारी चयन गर्नुपर्ने माग गरेका छन् । नेकपा एसमा अहिले वरिष्ठ उपाध्यक्ष कसलाई बनाउने भन्ने विषय निकै पेचिलो बनेको एक केन्द्रीय सदस्यले चक्रपथलाई बताए । उनका अनुसार बैठक उद्घाटन हुँदासम्म बेदुराम भुसाल वरिष्ठ उपाध्यक्ष हुने चर्चा थियो तर कोटेश्वर र छाउनी धाउन खप्पिस प्रमेश हमालले उद्घाटन सकिएको २४ घण्टा बित्दानबित्दै आफ्नो पक्षमा पल्ला भारी बनाएको गाइँगुइँ अर्पण ब्यांक्वेटमा सुनिएको छ ।

केन्द्रीय सदस्यबीच निर्वाचन हुने हो भने वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेले बाजी मार्ने बताइएको छ । नेतृत्वप्रति असहमति राखेर एसको केन्द्रीय कार्यालय नजिकै सम्पर्क कार्यालय खोलेका पाण्डेले केही समयअघि सार्वजनिक वक्तव्य जारी गरेर नेतृत्वको कार्यशैलीको आलोचना गर्नुभएको थियो । २१ सदस्यीय पदाधिकारीमा सात उपाध्यक्ष, चार उपमहासचिव, सात सचिव चयनका लागि एसमा अहिले ठुलै रस्साकस्सी चलिरहेको छ ।

उपाध्यक्षको आकांक्षीमा धनेन्द्र बस्नेत, केशवलाल श्रेष्ठ, विरोध खतिवडा, प्रकाश ज्वाला, गंगालाल तुलाधर, जयन्ती राई, बलराम बास्कोटा, हरि पराजुली, डा. विजय पौडेल, सोमप्रसाद पाण्डे लगायत डेढ दर्जनको दाबी छ । उपाध्यक्षमा दाबी गरेका जगन्नाथ खतिवडा लगायतका नेताहरु उपमहासचिवको बार्गेनिङमा छन् ।
त्यसैगरी सात सचिवका लागि शेरबहादुर कुँवर, हस्त शाही, मेटमणि चौधरी, सुदेश पराजुली, नरेश शाही, अम्मरबहादुर थापा, चन्द्रबहादुर शाही, दिल कुमारी पन्त, श्रीप्रसाद शाह, सावित्रा भुसाल, सुदीप शाह, कल्याणी खड्का, राजकुमार भट्टराई, बलदेव चौधरी, राजन राई, केशव बिष्ट, ताजमहम्मद मियाँ लगायत तीन दर्जनजतिले दाबी गरेपछि त्यहाँ भाँडभैलो मच्चिएको छ ।

पार्टी कार्यालयको भाडासमेत तिर्न नसकेर घरवेटीले कुन दिन घर छोड्ने उर्दी जारी गर्ने अवस्था पनि आएको छ । ती केन्द्रीय सदस्य चक्रपथसँग भन्छन्, ‘यस्तो अवस्थामा नेतृत्वमा आउन भएको दौडधुपले यो पार्टीभित्रको पदलोलुपता दर्साएको छ ।’ पार्टीको हालत राष्ट्रिय पार्टी नभएको, जनमत भएका धेरैजसो नेता कार्यकर्ता मूल घर एमालेमा फर्किरहेको अवस्थामा एसमा चलिरहेको गाईजात्राले यो पार्टी विघटन उन्मुख हुँदै गएको भन्दै ती केन्द्रीय सदस्य भन्छन्, ‘अब एस भन्ने पार्टी क्लब बन्न धेरै दिन कुर्न नपर्ला ।’

नेकपा एस सञ्चालनको आर्थिक जोहो पूर्वमन्त्री प्रेमबहादुर आले, किसान श्रेष्ठ र धनबहादुर बुढामगरले गर्दै आएका थिए । महाधिवेशनपछि उनीहरू तीनैजनाले पार्टीको मुख्यालयतिर हेर्नै छाडेका छन् । प्रेम आले त केन्द्रीय समितिमा पनि अटाएका छैनन् । कानुनी समस्याले गर्दा कतिपय जनप्रतिनिधि एमाले प्रवेश गर्नबाट रोकिएका छन् । उनीहरूले कानुनी जटिलता फुकाइदिन एमाले नेताहरुलाई हारगुहार गरिरहेको बुझिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८१, सोमबार  १ : ५५ बजे