काठमाडौँ । टुँडिखेलमा घुमाएर हान्दै नाकको डाँडी भाँच्ने उपमा पाएका रवि लामिछाने शुक्रबार भने आफैँ डाँडी भच्चिए जस्तो अवस्थामा देखिए । सहकारी संस्था बचत दुरुपयोग संसदीय छानबिन विशेष समितिमा बयान दिन सिंहदरबार पुगेका उनी सार्वजनिक रूपमा पहिलो पटक यति निरीह अवस्थामा देखिए ।
समितिमा बयानका लागि बोलाइएकामध्ये उनी सम्भवतः सबैभन्दा धेरै प्रश्नको कठघरामा उभिने व्यक्तिमा पर्छन् । समितिले उनलाई ५१ वटा प्रश्न सोधेको थियो । दिउँसो ३ बजे सुरु भएको उनको बयान राति १ बजे सकिएको थियो । उनले सहकारी ठगी प्रकरणमा आफू कतै संलग्न नभएको बयान दिए पनि अनुहारले भने केही प्रमाणहरू छोडेर गएको देखिन्थो ।
यसअघि सिंहजस्तै गर्जेर यस्ता कुराको प्रतिवाद गर्ने उनी त्यस दिन भने पिँजडामा थुनिएको मैना जस्तै टिठलाग्दा देखिएका थिए । त्यसबेला उनले कसैको नाकको डाँडी भँच्ने चेतावनी पनि सुनाएनन् । समितिले सोधेका प्रश्नको जवाफ टिठलाग्दो अवस्थामा दिएको प्रस्टै देखिन्थ्यो । नाकाको डाँडी भाँच्न आग्रह गर्ने रवि र सूचनाको विभागको पास लिएर पत्रकारिता गर्नुभन्दा जुत्ता पालिस गरेर खान्छु भनेर चेतावनी दिने रवि शुक्रबारको बयानमा भने बिल्कुल फरक देखिएका थिए ।
उनी चर्को कुरा गरेर राजनीतिको उडान भर्नेमा पर्छन् । सधैँ चर्को कुराले मात्र राजनीति नचल्ने रहेछ भन्ने यस बेला आएर उनले महसुस गरे जस्तो देखिन्छ । उनले चर्को कुरा गरेर राजनीतिको उडान त भरे नै । त्यसलाई ल्यान्डिङ गर्ने भन्ने विषयमा उनी आफैँ अन्योलमा देखिएका छन् । पूर्वतिर एउटा भनाइ छ– उदाउन न उदाइस् भेरै तर कसरी अस्ताउलास् ।
२०७४ सालमा रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा एउटा उजुरी प¥यो । उनीविरुद्ध यस्ता उजुरी त परिरहन्थे । २८ माघ २०७४ मा परेको उजुरीले चाहिँ प्रेस काउन्सिलको ध्यान खिच्यो । उजुरीकर्ता नुवाकोटका लक्ष्मण विक थिए । ‘रवि लामिछाने अमेरिकी आप्रवासी भिसा लिई नेपालमा अनुमतिबेगर बस्दै आएका व्यक्ति हुन्,’ उनको आरोप थियो, ‘सूचना विभागको नियमसमेत पालना नगरी उनी नेपाली सञ्चार माध्यममा काम गरिरहेका छन् ।’
‘सिधा कुरा जनतासँग’ कार्यक्रमका माध्यमबाट लामिछानेले बेतिथिका कुरा गरेर आफूलाई अब्बल बनाउने कोसिस गर्थे । यो कार्यक्रम कार्यक्रम चलाउँदा उनी गालीगलौजका शब्दसमेत प्रयोग गर्थे ।
नेपाली सञ्चार संस्थामै काम गरिरहेका व्यक्तिबारे यस्तो उजुरी परेपछि काउन्सिलले लामिछानेको प्रेस पास भएकोवा नभएको खुलाई पठाउन सूचना विभागलाई पत्राचार ग¥यो । विभागले लामिछानेले प्रेस प्रतिनिधि प्रमाणपत्र नलिएको जवाफी पत्र पठायो । त्यसपछि काउन्सिलले स्वयं लामिछानेलाई यसबारे खुलाएर पठाउन भन्दै पात्राचार ग-यो ।
कानुनी रूपमा तल हुँदाहुँदै लामिछानेले जेजस्तो भाषा प्रयोग गरेर यसको जवाफी पत्र पठाए । त्यही पत्र नै उनको पतनको कारण बन्यो । पत्रमा उनले आफू विदेशी नागरिक नभएको दाबी गरेका थिए । लामिछानेले कार्यानुमति नवीकरणको प्रक्रियामा रहेको र अहिले काम गर्दै बस्न समस्या नभएको कुरा गृह मन्त्रालयकै अधिकारीले भनेको रेकर्डसमेत आफूसँग सुरक्षित रहेको दलिल दिएका थिए । साथै श्रम अनुमति पनि लिएको उनको दाबी थियो ।
उनले आफू पत्रकार नभइसकेकाले सूचना विभागको प्रेस पास नलिएको मात्र बताएनन्, यो लिनुभन्दा दोबाटोमा जुत्ता पालिस गरेर बस्ने भनिदिए ।
उनले सञ्चालन गरेको कार्यक्रममा प्रयोग गरिएका शब्दले त्यसबेला नै पत्रकारिताको बद्नाम गरिरहेको धेरैले गुनासो गरेका थिए । उनले प्रयोग गरेको एउटा शब्द थियो– टुँडिखेलमा राखेर, घुमाएर नाकाको डाँडी भाँच्चिने गरी हान्ने । उनको त्यही शब्दले पत्रकारितामा मात्र होइन राजनीतिमा समेत उनको हैसियत प्रस्ट भएको थियो ।
प्रकाशित मिति : ९ भाद्र २०८१, आइतबार २ : ४६ बजे
प्रतिक्रिया