हिंसा पीडितलाई सुरक्षित आवास गृहमा सेवा

रुकुम । रुकुम (पूर्व) मा अहिलेसम्म २१९ हिंसापीडितले अल्पकालीन सुरक्षित आवासगृह (सेफ हाउस) मार्फत सेवा लिएका छन् । 

सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको उक्त आवास गृहमा हालसम्म जिल्लाका तीनवटै गाउँपालिकाका २१९ हिंसापीडितले सेवा लिएका छन् । ती मध्ये १९९ महिला र २० पुरुष छन् । सिस्ने गाउँपालिकाद्वारा आवास गृहमा सञ्चालनसम्बन्धी आयोजित सरोकारवालासँगको अन्तर्क्रिया कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो । 

यसमा सिस्नेका  १८०, भूमेका १४ ,पुथा उत्तरगङ्गा गाउँपालिकाका १३ र रोल्पाका दुई  हिंसापीडितले आवासगृहका सेवा लिएको मनोविमर्शकर्ता सुगन्धा मल्लले जानकारी गराउनुभयो । उहाँका अनुसार शारीरिक र मानसिक हिंसापीडित १६०, जबर्जस्ती करणीमा परेका १२, सम्बन्धविच्छेदका १५, स्रोतसाधनबाट वञ्चित ११ जनाले सेवा लिएका छन् । 
    
यसैगरी बोक्सी आरोप, बहुविवाह र बालविवाहका तीन/तीन गरी नौ, आर्थिक कारोबारका पाँच, ज्यानसम्बन्धीका दुई, विष सेवन र बाल श्रमशोषनको एक÷एक गरी दुई हिंसापीडितले सेवा लिएको मनोविमर्शकर्ता मल्लले बताउनुभयो । यसमा अहिलेसम्म १२ समस्यालाई स्थानीय तहको न्यायिक समितिमार्फत मेलमिलाप गराइएको छ । जिल्ला प्रहरी कार्यालय, ओसीएमसी, न्यायिक समितिलगायतसँगको सहकार्य समन्वयमा हिंसापीडितलाई ‘काउन्सिलिङ’ गर्ने काम भइरहेको जनाइएको छ । अहिले आवासगृहमा ५८ जना छन् ।  हिंसापीडितले राहत पाइरहेको भएपनि यसको सञ्चालन र व्यवस्थापनमा चुनौती देखिएको उहाँको भनाइ छ । आवासगृहमा जिल्लाभरिका हिंसापीडितलाई सेवा दिने गरेको भएपनि आर्थिक पाटोमा साझेदारी संस्थासँग सिस्नेले मात्र सहकार्य गरेको छ । यसमा भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाले पनि सहकार्य गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

हिंसापीडितलाई सम्बन्धित निकायकहाँ पुर्याउँदा आर्थिक समस्या पर्ने गरेको छ भने न्यायिक समितिमा, प्रहरीमा गएर मिलेर गएका पनि पटक–पटक उस्तै समस्या लिएर सेफ हाउसमा आउँदा उनीहरुको समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा पनि अन्योल भएको मनोविमर्शकर्ता मल्लले बताउनुभयो । 

अन्तर्क्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटा र जिल्ला प्रहरी प्रमुख  गणेशबहादुर श्रेष्ठले आवासगृह न्याय प्रक्रियाको अभिन्न अङ्ग भएको बताउनुभयो । सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिन्तामणि दाहालले पनि आवास गृहमा यहाँका हिंसापीडितलाई राहत मिलेको बताउनुभएको छ । 

सिस्ने गाउँपालिकाले पालिकामा लैङ्गिक हिंसा निवारण कोषसमेत खडा गरेर हिंसा पीडितलाई सहयोग गरिरहेको छ । गाउँपालिकाले हिंसामा परेकालाई आयस्रोतको लागि काम गर्न जनाउँदै रु १० देखि २० हजारसम्म आर्थिक सहायता अर्थात् अनुदान दिने गरेको गाउँपालिकाका महिला तथा बालबालिका शाखाका सुनिता खड्काले जानकारी दिनुभयो । अहिलेसम्म चार जनालाई अनुदानसमेत दिइएको छ । तीन जनालाई रु १०/१० हजारको दरले र एक जनालाई रु १८ हजारको दरले लैङ्गिक हिंसा निवारण कोषबाट आर्थिक अनुदान दिएको उहाँले बताउनुभयो । सिस्नेमा २०७६ साल फागुन १८ गते आवास गृह तयार गरिएको हो । नियमित सेवा भने २०७७ जेठ २० बाट सुरु भएको हो । रासस

प्रकाशित मिति : २७ मंसिर २०७८, सोमबार  ७ : ४१ बजे