‘एउटै नाउरको सिकार गर्न २३ लाख’

तनहुँ बस दुर्घटना : घाइते भेट्न भारतीय मन्त्री काठमाडौँमा

काठमाडौँ । नेपालमा हिजो भएको तनहुँ बस दुर्घटनाका घाइते यात्रीहरूलाई भेट्न र मृतकका शव लिएर जान भारत सरकारले आफ्ना एक जना केन्द्रीय मन्त्रीलाई काठमाडौँ पठाएको छ

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खडसे आज बिहान काठमाडौँ आउनुभएको हो ।

उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगत्तै घाइतेहरुको अवस्था बुझ्न त्रिवि शिक्षण अस्पताल जानुभएको छ । शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो ।  बस दुर्घटनामा मृत्यु भएका महाराष्ट्रका तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने तयारी छ ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो । दुर्घटनामा १६ जना घाइते भएका थिए । उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए । राजधानी काठमाडौँबाट ११८ किलोमिटर टाढा नेपालको तनहुँ जिल्लामा यो दुर्घटना भएको थियो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ११ : ३२ बजे