एमालेको जागरणसभामा जे देखियो…

एमालेको जागरणसभामा जे देखियो…

पुस्तक समीक्षा

सोभियत संघमा अध्ययनरत विदेशी विद्यार्थीलाई पनि कृषिकर्ममा प्रोत्साहन

सन् १९८५ मा छात्रावृत्तिमा इन्जिनियरिङ पढ्न सोभियत संघका लागि नेपालबाट प्रस्थान गरेका राम विन्दु श्रेष्ठको दैनिकी लेख्ने बानी रहेछ । इन्जिनियर भएर स्वदेश फर्केलगत्तै उनी देश सेवामा संलग्न रहे । एसियाली विकास बैंक लगायतको परामर्श सेवामा संलग्न उनले फुर्सदिलो हुँदा दैनिकी लेखेको डायरीका आधारमा ‘मेरा सोभियत सम्झनाहरू’ प्रकाशन गरेका छन् । उनको सोभियत स्मरण संस्मरण मात्र नभएर नेपाली साहित्यरूपी सागर चम्किलो मोती बन्ने नै छ । कतैकतै भाषिक अशुद्धिबाहेक कृतिमा खोट लगाउने ठाउँ पाउन सकिँदैन ।

जीवनमा निरुद्देश्य बिताइएको समयलाई लिएर पछि पछुताउनुपर्ने अवस्था आउन दिनुहुँदैन । उन्मादमा गरिएको तुच्छ र क्षुद्र क्षणले जीवन पर्यन्त लज्जित र पछुताउने बनाउन सक्छ । राम विन्दुले आफूले पढेको उपन्यासलाई पनि पुस्तकमा उद्धरण गरेका छन् । जीवनमा थोरै पनि समय खेर फाल्नु हुँदैन भन्ने राम विन्दुले कहिल्यै अनावश्य तागत देखाउन हुँदैन भन्ने सन्देश पनि दिन चाहेको देखिन्छ ।

हामीले हाम्रो इन्स्टिच्युटको नजिक निर्माण स्थलमा काम गर्‍यौं,’ सोभियत संघ पढ्न थालेपछि सुरुमा गरेको स्वयंसेवाबारे उनले लेखेका छन्, यो स्वयं सेवा कार्यमा विभिन्न देशका विद्यार्थी एवं शिक्षकहरू सहभागी भएकाले रमाइलो भयो । सोभियत संघको उदाहरण दिँदै गाउँ वा टोलको बाटो सफा गर्न पनि सरकारी बजेट नपर्खी टोलवासीले नै गर्नुपर्ने विचार यहाँ अभिव्यक्त भएको छ ।

सोभियत संघका नेता जोसेफ स्टालिनले मेट्रो स्टेसनहरूलाई जनताको दरबार बनाउन चाहन्थे । उनले मेट्रोको निर्माणलाई पूँजीवादी संसारमा समाजवादको श्रेष्ठता प्रदर्शन गर्ने माध्यमका रूपमा हेरेका थिए । आफ्नो सोचलाई जीवनमा ल्याउन उनले केही उत्कृष्ट डिजाइनरहरू र वास्तुकारहरूलाई निम्त्याए । स्टालिनका सहयोगी लाजर कागानोविचले मेट्रोलाई नयाँ समाजको प्रतीक, जसमा हाम्रो रगत, हाम्रो प्रेम, नयाँ संघर्ष समावेश छभनेका थिए । समग्रमा मस्को मेट्रो सन् १९३० को दशकमा सोभियत संघले हासिल गरेको औद्योगीकरणको एक शीर्ष उपलब्धि थियो । यहाँ सोभियत नागरिकको स्वदेश प्रेम देखाइएको छ । शासकले विकासको योजना बनाउँदा लामो समयसम्म टिक्ने योजना बनाउनुपर्ने धारणा यहाँ व्यक्त भएको छ ।

एउटा कार्यक्रममा दोस्रो विश्वयुद्धमा लडेका भेट्रान योद्धाहरूले हामीलाई दोस्रो विश्वयुद्धमा लडेका विविध वीरताका गाथा सुनाए । मातृभूमिको रक्षार्थ त्यति बेला सोभियत राष्ट्र र राष्ट्रियताका सम्बन्धमा विभिन्न भाषाभाषीबीच कसरी आत्मीयता र एकता थियो भन्ने उदाहरण दिइएको थियो । सबै युद्धका लागि, ‘सबै मातृभूमिका लागि, सबै स्टालिनका लागिभन्दै पूरा देश महासंग्राममा हामिएकाले उक्तयुद्ध दोस्रो विश्वयुद्ध मात्र नभई महान् देशभक्तिपूर्ण कार्य भएको व्याख्या गरे । यसको आशय नेता र कार्यकर्तामा अझ भनौं जनमानसमा राष्ट्रभक्तिको भावना कसरी भरिन्छ भन्ने देखाइएको छ । सबै नागरिकमा राष्ट्रभक्ति भएन भने देशको प्रगति ढिलो हुने देखाउन खोजिएको छ । 

जीवन संघर्ष हो, मलाई थाहा छ । जिन्दगीमा हार र जित दुवै हुन्छ, त्यो पनि थाहा छ । संघर्ष, संघर्ष, संघर्षमै बाँच्न सिक्नुपर्छ, त्यो थाहा थियो नै तर किन किन, कहाँ हो कहाँबाट आफूलाई कमजोर महसुस गर्दै छु । सोभियत संघमा आफूले चाहेको क्याम्पसमा पढ्न नपाउँदा राम विन्दुले यो पंक्ति लेखेका रहेछन् । पढाइमा परिश्रमी भएका उनी वास्तवमा निराश चाहिँ हुन परेको छैन । लामो प्रयासपछि उनको इच्छा अनुसारको क्याम्पसमा उनले पढ्न पाएछन् ।

वर्षको अधिकांश समय हिउँपर्ने त्यो ठाउँमा घर, बजार, शहर र कोठाचोटा तताउन कति इन्धन खर्च हुँदो हो । त्यो अवस्था हाम्रो मुलुकमा भएको भए हाम्रो अर्थतन्त्रको कति भाग खर्च हुन्थ्यो होला । फेरि उपयुक्त हावापानी र वर्षको तीन बाली लगाउँदा पनि हामीकहाँ अनिकाल हुन्छ र प्रायः अन्न आयात गर्नुपर्छ । हाम्रो जस्तो बाह्रै महिना खेतीयोग्य मौसम भए तिनले कति उत्पादन गर्दा हुन् । यो भनाइमा नेपाली अर्थविद् र नीति निर्मातालाई गतिलो उपदेश छ । उत्पादन योग्य भूमि पर्याप्त हुँदा पनि पर्याप्त खाद्यान्न उत्पादन गर्न नसक्नु नीति निर्माताको कमजोरी हो । शिक्षा वा रोजगारीका लागि प्रायः बलिया पाखुरी विदेसिनु किमार्थ उचित होइन भन्ने राम विन्दुको ठम्याइ छ ।

राम विन्दुले त्यहाँको खानाको परिकारबारे पनि उल्लेख गरेका छन् । हामीकहाँ मकैको आटो (मकैको भात) खाने चलन हराउने चरणमा छ । रुसमा भने आटो खानाको एक अंग रहेको छ । आटो खाने चलन गर्ने र यसको उत्पादनलाई प्राथमिकता दिने हो भने नेपालको सबै हावापानी मकै उत्पादन हुन सक्छ । यहाँ स्थानीय रूपमा उत्पादन हुने अन्नको महत्त्व दर्साइएको छ । खाद्यान्न उत्पादन हुने सम्भवना हुँदा हुँदै आयातमा आश्रित हुनु देशको दुर्भाग्य भएको उनको धारणा छ । 

हाम्रा विद्यालय वा क्याम्पसहरूमा हुने अतिरिक्त क्रियाकलापमा अति सीमितता छ । रुसमा भने विदेशबाट प्राविधिक विषय पढ्न आएकाहरूले पनि त्यहाँ उत्साहका साथ साहित्यिक गतिविधिमा सहभागी हुनुपर्दो रहेछ । व्यक्तित्व विकासमा साहित्य साधना आवश्यक हुने रहस्य रुसी शिक्षाविद्ले राम्ररी बुझेको यसबाट झल्किन्छ । यहाँका शिक्षविद्को क्षमता उजागर गरिएको छ । देशको आवश्यकता बुझ्न नसक्ने शिक्षाविद्ले बनाएको पाठ्यक्रमले आवश्य जनशक्ति उत्पादन हुन नसक्ने उनको ठहर छ ।

आफू अन्यायमा परेको अनुभव भएपछि राम्ररी प्रतिवाद गरेमा न्याय पाइने पुष्टि पनि राम विन्दुले पुस्तकमा गरेका छन् । उनले लिएको दह्रो अडानका कारण प्रध्यापिकाले परीक्षामा दिएको अंक पनि संशोधन गरेको राम विन्दुले पुस्तकमा उल्लेख गरेका छन् ।

विद्यार्थीका लागि विषयवस्तुबाहेक अन्य साहित्यको अध्ययन कति महत्वपूर्ण हुन्छ भन्ने विषयको उठान पनि उनले गरेका छन् । रुसमा अध्ययनकै क्रममा उनले रुसी भाषाको किताब नेपाली भाषामा अनुवाद गरेका रहेछन् । नेपाल फर्कंदा उक्त पाण्डुलिपि उतै छुटेको राम विन्दु पछुताएका छन् ।

रुसमा अध्ययन गर्ने विदेशी विद्यार्थीसमेत त्यहाँको कृषिकर्ममा सहभागी हुनुपर्ने रहेछ । यसले सबैले कृषिकर्म जान्नुपर्छ भन्ने सन्देश दिएको छ । हामीकहाँ भने खेतीपातीको जानकारी शून्य रहेका मानिसको संख्या बढी होला । रुसमा सबै मानिसलाई कृषिकर्मबारे ज्ञान अनिवार्य रहेको यसबाट पुष्टि हुन्छ ।

रुसको मुस्लिम बहुल क्षेत्रमा मन्दिरलाई पौराणिक स्थलका रूपमा संरक्षण गरिएको देखेर राम विन्दु आश्चर्यमा परेछन् । ऐतिहासिक सम्पदा संरक्षण गर्नुपर्ने सन्देश उनको पुस्तकमा पाइन्छ ।

पेसाले सिभिल इन्जिनियर भए पनि उनको पुस्तकमा प्रशस्त उखानटुक्काको प्रयोग पाइन्छ । उखान टुक्काले पुस्तकलाई थप स्तरीय एवं पठनीय बनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार  ९ : ३९ बजे