‘नेशनल डे कन्सर्ट’ सम्पन्न

पूर्वराष्ट्रपति भण्डारीबाट बिपीसम्बन्धी वृत्तचित्र अवलोकन

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा प्रजातान्त्रिक आन्दोलनका अग्रणी व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको जीवनीमा आधारित वृत्तचित्र ‘राजद्रोही राजनेता’ अवलोकन गर्नुभएको छ ।

सुशील कोइराला मेमोरियल फाउन्डेसनले शुक्रबार रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले वृत्तचित्र अवलोकन गर्नुभएको हो । कार्यक्रममा बिपीपुत्र नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला, एमाले उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, राप्रपा नेपालका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापालगायत विभिन्न क्षेत्रका अगुवा नागरिकहरूको सहभागिता रहेको थियो ।

पत्रकार जगत नेपालले निर्माण गर्नुभएको वृत्तचित्रमा बिपी कोइराला भारत प्रवासबाट मेलमिलापको नीति लिएर स्वदेश फिर्ता, उपचारका लागि अमेरिका प्रस्थान र आगमन, जनमत संग्रहको सन्दर्भ लगायत देखाइएको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका नेतृत्वकर्तामध्येका एक बिपी २००७ सालको क्रान्तिका सूत्रधार हुनुहुन्थ्यो । २०१५ सालको आम निर्वाचनमा नेपाली कांग्रेसले दुईतिहाइ बहुमत हासिल गरेपछि बिपी प्रधानमन्त्री बन्नुभयो । २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्र कु गरेर पञ्चायती व्यवस्था लादेपछि बिपी लगायतका नेतालाई करिब आठ वर्ष जेलमा कोचेपछि प्रवास जानुभएको थियो । बिपी मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्कनुभएको थियो ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार  ६ : ५२ बजे