युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष रोक्कालाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष कल्याण रोक्कालाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले रोक्कालाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न भनेको हो । अदालतले अन्तरिम आदेश दिने वा नदिनेबारे छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । केपी शर्मा ओली सरकारको पालामा नियुक्त हुनुभएका रोक्कालाई नयाँ सरकार आएपछि हटाइएको थियो । आफू खुला प्रतिस्पर्धाबाट आएको भन्दै रोक्का गैरकानूनी रुपमा हटाइएकोविरुद्ध अदालत जानुभएको थियो । रोक्काको पक्षबाट अधिवक्ता पुष्पराज पौडेल, भोजराज आचार्य र सुवास आचार्यले बहस गरेका थिए । यसअघि देउवा सरकारले हटाएका नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकवहादुर भण्डारी र प्रकृति संरक्षण कोषका उपाध्यक्ष कृष्णप्रसाद ओली पनि अदालतबाट पुनर्वहाली भएका छन् ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  ७ : ४८ बजे