साफ यू–१७ च्याम्पियनसिप आजदेखि

अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा व्यवसायी र सरकारबीच अन्तरक्रिया हुँदै

काठमाडौँ । सत्तारूढ नेकपा एमाले सम्बद्ध नेपाल उद्योग तथा व्यवसायी महासंघले काठमाडौँमा अर्थतन्त्रलाई चलायमान बनाउने विषयमा बृहत् अन्तरक्रिया आयोजना गर्दै छ ।

महासंघको आयोजनामा ‘सुदृढ अर्थतन्त्र निर्माणको आधार : सबल निजी क्षेत्र र बलियो पूर्वाधार’ विषयमा शुक्रबार हुने कार्यक्रम प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने महासंघका अध्यक्ष भागिरथ सापकोटाले जानकारी दिनुभयो ।

कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, प्रधानमन्त्रीका आर्थिक विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायत उद्योग वाणिज्य क्षेत्रसँग सम्बद्ध विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी रहने जानकारी दिइएको छ ।

मुलुकको संकटग्रस्त आर्थिक अवस्था, उद्योग व्यवसायीहरूले भोग्नुपरिरहेका समस्यामाथि सरकार र निजी क्षेत्रलाई एकै थलोमा राखेर छलफल गरी समाधानको मार्ग पहिल्याउने योजनाका साथ यो अन्तरक्रिया गर्न लागिएको नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष सापकोटाले बताउनुभयो ।

कार्यक्रमलाई परिणाममुखी बनाउन उद्घाटन सत्र र बन्द सत्र गरी दुई चरणमा छलफल गरिनेछ ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ३ : ०५ बजे