एनपीएलको ट्रफी सार्वजनिक

कोभिड बिरुद्धको लडाइँमा अग्रभागमा खटिने नर्सहरुप्रति राष्ट्रपतिद्धारा प्रशंसा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा खटिएका नर्सको प्रशंसा गर्नुभएको छ । भण्डारीले बुधबार अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा ट्वीट मार्फत् शुभकामना दिँदै प्रशंसा गर्नुभएको हो।

“विश्वव्यापी महामारी कोभिड–१९ विरुद्धको लडाइँमा अग्रभागमा रहेर सङ्क्रमितको हेरचाहमा अहोरात्र खटिएका सम्पूर्ण नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा गर्दै अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु”, उहाँले ट्वीटमा भन्नुभएको छ ।

बुधबार नेपाल सहित विश्वभर अन्तर्राष्ट्रिय नर्स दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘नर्सस् नेतृत्वका लागि आवाज, भविष्यको स्वास्थ्य सेवाका लागि एक दृष्टि’ भन्ने नाराका साथ यो वर्षको नर्स दिवस मनाइँदै छ । हरेक मे १२को दिन आधुनिक नर्सिङ आन्दोलनकी जन्मदाता फ्लोरेन्स नाइटिङ्गेलको जन्मजयन्तीको अवसरमा विश्वभर नर्स दिवस मनाउने गरिन्छ ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : ४० बजे