‘नेशनल डे कन्सर्ट’ सम्पन्न

विद्यार्थीको नेतृत्व विकासका लागि प्रशिक्षण केन्द्र उद्घाटन

काठमाडौँ । बुलन्द आवाजले विद्यार्थीमा नेतृत्व विकासका लागि आयोजना गरेको ‘बुलन्द लिडर खोजी अभियान एवं भाषण कला प्रशिक्षण’ कार्यक्रमको पूर्वशिक्षामन्त्री शिशिर खनालले उद्घाटन गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री खनालले भन्नुभयो, ‘हाम्रो देशमा दलीय राजनीति हाबी छ । स्थानीय खानेपानी समितिदेखि सिंहदरबारमा हुने कर्मचारीसमेत कुनै न कुनै दलीय आस्थाबाट परिचालित भएकाले नेपालको शासकीय व्यवस्थामा झन् जटिल बनेको छ ।’

जुनसुकै राजनीतिक पार्टीको टिकटबाट जनप्रतिनिधि निर्वाचित भए पनि त्यसपछि उक्त प्रतिनिधि कुनै पार्टीको हुन नहुने बताउँदै सांसदसमेत रहेका खनालले भन्नुभयो, ‘मेयर वा सांसद कुनै दलको विशेषको भन्ने भाष्यमा सुधार गर्नुपर्छ ।’

उहाँले बुलन्द आवाज प्रालिलाई नेतृत्व आउन सक्ने विद्यार्थीका लागि गर्न लागेको प्रशिक्षण कार्यका लागि बधाईसमेत दिनुभयो ।
कार्यक्रममा बोल्दै बुलन्द आवाजका प्रबन्ध निर्देशक राजन नेपालले पत्रकारितामा दलगत झुकाव नभई निष्पक्ष हुनुपर्ने बताउँदै दूरदराजका बस्तीका विद्यार्थीभित्र लुकेको कलालाई उजागर गर्न आफू लागि परेको बताउनुभयो । उहाँले बुलन्द आवाजमा जोडिन चाहने जोसुकैलाई कुनै पार्टीको झोले नबन्न सुझाव दिनुभयो ।

सुरेश तिमल्सिनाले सञ्चालन गर्नुभएको कार्यक्रममा सामाजिक अभियन्ता हेमराज जोशी, बब्लु गुप्ता नेपाली तथा उमेश बोहोरा, नवजीवन परोपकार समाजका अध्यक्ष दुर्गानाथ दाहाल, धादिङ रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया, दुप्चेश्वर शिक्षा शाखाका प्रकाश थापा, बुलन्द आवाज टिमका कलिना तामाङ लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  ५ : ४४ बजे