‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सञ्चार मन्त्रीद्वारा नेता चौलागाईंलाई राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जलि

काठमाडौँ । नेकपा (एमाले) का नेता तथा वाग्मती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पार्थीव शरीरमाथि सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

मन्त्री गुरुङले आज बिहान मनमोहन मेमोरियल अस्पतालमा पुगेर राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । त्यस्तै पार्टीका अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो । उहाँको केही समयपछि पशुपति आर्यघाटको विद्युतीय शव दाहगृहबाट अन्त्येष्टि गरिनेछ । कोरोना सङ्क्रमणबाट मङ्गलबार राति नेता चौलगाईंको निधन भएको थियो ।

नेकपा (एमाले)पोलिटब्यूरो सदस्य रहनुभएका चौलागाईं दोलखा ‘ख’ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । नेता चौलगाईं विसं २०५६ को निर्वाचनमा दोलखा क्षेत्र नं १ बाट निर्वाचित हुनुभएको थियो । त्यस्तै २०७० को संविधानसभा चुनावमा समानुपातिक कोटाबाट सांसद हुनुभएको थियो ।

विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहनुभएका चौलगाईं निष्ठावान र इमान्दार नेता हुनुहुन्थ्यो । उहाँको निधनले दोलखाका साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नुपरेको एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताउनुभयो ।

प्रकाशित मिति : २९ बैशाख २०७८, बुधबार  १० : २० बजे