‘एउटै नाउरको सिकार गर्न २३ लाख’

आत्तिने रोगबाट बच्न के गर्ने ? यस्ता छन् डा सुमनप्रसाद अधिकारीको सुझाव

काठमाडौँ । मानिसहरु सामान्य कुराहरुमा डराउने स्वभावका हुन्छन् । परीक्षाका दिन, रोजगारीका लागि अन्तर्वार्ताका दिन, कुनै काम बिग्रिएको दिन कोही व्यक्ति सामान्य भन्दा अधिक डराउँछ भन्ने उसलाई पक्कै एन्जाइटी अर्थात् डराउने वा आत्तिने रोग भएको हुन सक्छ । यिनै विषयमा केन्द्रीत रहेर मनोशास्त्री काउन्सिलिङ एवं रिसर्च सेन्टरका मनोचिकित्सक डा सुमनप्रसाद अधिकारीसँग चक्रपथकर्मी युवराज ढुङ्गेलले गरेको कुराकानीः 

डराउने वा आत्तिने रोग भनेको के हो ?

मानिसको स्वभाव विभिन्न प्रकारका हुने गर्छन् । अलिअलि चिन्ता, डर, दुः.ख, थोरै हड्बहाडट सामान्य हो । तर प्रायः यो रोगको अवस्थामा भने लगातार आउने दिनहरुमा या घटनामा डर लागिरहने, मन आत्तिरहने, साथै शरीरका विभिन्न भागमा अप्ठेरो भइरहन्छ भने त्यसलाई आत्तिने रोग भनिन्छ । यस रोग भएका बिरामी प्रायः नकारात्मक प्रवृत्तिका हुन्छन । उनीहरुको सोचाई नै नकारात्मक शैलीको हुन्छ । फोन बजे पनि कसैले धम्क्याउनै गर्यो कि भनेर सोच्न थाल्छन्् । घरमा कसैले घण्टी बजाए चोर आयो कि भनेर शंका गर्छन् । बिनाकारण आत्तिन थाल्छन् । जब मानिस साना कुरामा पनि आत्तिन थाल्छ वा सानातिना समस्यामा धेरै आत्तिन्छ भने उसलाई डराउने रोग लागेको छ भनी बुझ्न सकिन्छ । यस रोगका व्यक्तिहरुको मन आत्तिनुका साथै मुटुको धड्कन तेज हुनु, श्वासको गति बढ्नु, श्वास रोकिएको जस्तो हुनु, शरीर या हातखुटा काम्ने, पसिना आउने, जस्ता कुरा देखा पर्दछ । यो रोगका व्यक्तिहरु पलपलमा आत्तिने गर्छन् । यस अवस्थाका मानिसहरु सामान्य व्यक्तिहरुको भन्दा बढी आउँदा दिनहरु या भविष्यदेखि डराउने गर्दछन् ।

यस रोगका कारणहरु के–के हुन् ?

वंशाणुगत कारण  : आमा बुबा या हजुरबुबा, हजुरआमा कसैलाई आत्तिने रोग भएमा छोराछारी वा नातीनातिनीमा पनि यस्ता समस्याहरु देखा पर्दछ ।

जैविक कारण : हर्माेन र न्युरोट्रान्समिटरमा गडबडी भएमा यो रोग लाग्न सक्छ ।

मनोवैज्ञानिक कारण : यो व्यक्तिको जीवनशैली, विचार, द्दृष्टिकोणसँग सम्बन्धित रहेको हुन्छ ।

सामाजिक कारण :  समाजका परम्पराहरुमा व्यक्ति समायोजन हुन सकेन भने या समाजले उसलाई गर्ने व्यवहार खराब भएमा यो समस्या देखिन थाल्दछ ।

वातावरणीय कारण : व्यक्तिले काम गर्ने क्षेत्र, परिवारमा राम्रा सम्बन्ध नहुनु, माया नपाएको, पारिवारिक तनाव, दुर्घटना, कामको बोझ र विभिन्न हिंसाबाट गुज्रिएको अवस्थामा पनि यो समस्या देखिन्छ ।

शारीरिक रोगका कारण : शरीरमा रहेको सामान्य रोगदेखि दीर्घ रोगहरु लागको छ भने पनि यो स्थिति रहन सक्छ । 

डिप्रेसन : मानसिक रोगहरु मध्य डिप्रेसनका व्यक्तिहरुमा यो समस्या देखिएको पाइन्छ ।

अनिन्द«ा धुम्रपान, मद्यपानको कुलतमा परेकाहरु एन्जाइटीबाट बढी प्रभावित हुने गर्छन । मुटुरोग मधुमेह, थाइराइडको समस्या भएमा पनि डराउने रोगको समस्या बढ्न सक्छ ।

यो रोग कति प्रकारका हुन्छन् ? 

आत्तिने र डराउने रोगका विभिन्न प्रकारका हुन्छन् ।

प्यानिक डिस्अर्डर : बिना कारण एक्कासी डर मान्ने, श्वास फेर्न गाह्रो हुने, हातगोडा चिसो हुने, मुटुको धड्कन बढ्ने, हातखुटा काम्ने, रिङ्गटा लाग्ने, पेट पोलेको जस्तो हुने, घाँटीमा केही अड्केको जस्तो हुने, आफूलाई मरिन्छ होला वा लडेर बेहोस होला जस्तो हुने गर्दछ ।

अगोरोफोया : भिडभाड, लिफ्ट, मन्दिर, पुल, बस, प्लेन, सिनेमा हल, बन्द कोठा या बाथरुम जहाँ पनि डर लाग्ने म त्यहाँ गए भने फस्छु, निस्कन गाह्रो हुन्छ, हंसले ठाउँ छोड्छ लगायत कुराहरु हुन्छ वा अत्याधिक रुपमा डराउने वा कही जानु छ भने सोचेरै धेरै डर मान्ने हुन्छ ।

सोसियल फोविया : जमघट, भेटघट, सामाजिक परम्परा, साँस्कृतिक रीतिरीवाज जस्ता कुराहरुमा अप्ठेरो महसुुस हुने, कुनै सामान्य काम बिग्रिएमा लज्जित हुने, हरेक कुरामा बेइज्जतको अनुभव हुने, समूहमा बसेर बोल्दा मुख सुक्ने, डर लाग्ने, हात, शरीर काम्ने, हुन्छन । यस्ता मानिसहरुलाई घमन्डी, एकोहोरो, एकलकाटे, डर छेरुवा, सन्की, अल्छी यस्ता धेरै नामले चिन्ने गरिन्छ ।

ओसिडि (एकोहोरा मन) :अब म मर्दै छु भनी सेकेन्ड सेकेन्डमा आफ्नो श्वास र हातको नाडी चेक गरिरहनु, मर्ने मन नहुँदा नहुँदै मर्न मन लाग्ने हुन्छ ।

सामान्य कुरामा डराउने : हिँड्दा लड्छु होला, पानी पिउँदा अढ्किन्छ होला जस्ता कुरामा डर मानु ।

विशेष फोबिया : कुनै घटना अथवा कुनै वस्तु देख्नेबितिकै त्रास हुने, केही व्यक्तिलाई हृदघात भयो भन्ने कुरा सुन्नेबिब्किै आत्तालिने वा म पनि हृदघातबाट मर्छु कि भन्ने चिन्ता हुने । कुनै घटना हेरेर मान्छे मरेको कुरा सुन्दा बेहोस होला जस्तो हुने ।

यो रोग जन्मजात हुन्छ वा समयअनुसार देखा पर्दै जान्छ ?

यसलाई जन्मजात रोग भन्न मिल्दैन । किनकी यो किशोरावस्थाबाट प्रायः शुरु हुने गरेको वैज्ञानिक तथ्याङ्कहरुले देखाएको छ । किशोरावस्थाबाट मात्र नभई कसैलाई यौवन अवस्था र वृद्ध अवस्थामा पनि यो रोग लागेको पाइन्छ । तनाव, तनावयुक्त घटना, दुःखद समाचार र धेरै चिन्तित व्यक्तिहरुमा यो रोग लाग्ने भएकाले यसलाई जन्मजात रुपमा देखा पर्दछ भन्न सकिँदैन् । वंशानुगत रुपमा भने यो रोग देखा पर्ने संम्भव रहेको हुन्छ ।

यो रोग कुन उमेरमा बढी देखिएको पाइन्छ ?

तथ्याङ्कअनुसार हेर्ने हो भने युवा पुस्तामा ७ प्रतिशत र वृद्ध अवस्थामा ५  प्रतिशत रहेको देखिन्छ । यो रोगको १० प्रतिशत कुल जनसङ्ख्या मध्यको हो । नेपालमा यति नै प्रतिशत भनी तथ्यांक छैन । विश्व स्वास्थ्य संघठनका अनुसार विश्वमा १५ देखि १९ वर्षका ३० करोड जनसङ्ख्या आत्तिने रोगबाट जुझिरहेका छन् । 

यो रोगका लक्षणहरु के–के हुन् ? 

पल पलमा घट्ने घटनाक्रम र भविष्य देखि डराउने,

मानसिक रुपमा नकारात्मक सोचाइ बढी आउनु,

शरीरका विभिन्न भागमा अफ्टयारो महसुस हुनु,

मुटुको धड्कन सामान्य भएपनि अत्याधिक बढेको महसुस हुनु ,

निन्द«ामा गडबडी हुने,

छिटोछिटो दिशा पिसाब हुने,

पेटसम्बन्धि समस्या देखिने,

हातखुट्टा चिसो भइ थरथर काम्ने,

अत्याधिक पीर र चिन्ताको महसुश हुने, 

चिन्ता लिन्नँ भनेर जतिसुकै प्रयास गर्दा पनि केही नलाग्ने,

कुनै कुरामा ध्यान केन्द्रीत गर्न कठिनाइ हुने,

खलखली पसिना आउने,

बिनाकारण एक्कासी डर लाग्ने,

श्वास फेर्न गाह्रो हुने,

थकित वा कमजोर महसुस हुने,

तनावग्रस्त भएको अनुभव हुने,

दुखेको महसुस हुने,

शान्तसँग बस्न नसक्ने,

समस्याका बारेमा चाहिनेभन्दा धेरै सोच्ने,

यसबाट बच्ने उपायहरु के–के हुन् ? 

यसको प्रमुख उपाय नै मनोपरामर्श र साइकोथेरापी हो ।

यो रोगले जटिल अवस्था लियो भने मनोचिकित्सकको सल्लाह बमोजिम औषधीजन्य उपचार गर्न सकिन्छ । त्यस्तै जीवनशैलीमा सुधार जसअन्तर्गत उचित आहार, निन्द्रा, व्यायाम, आराम, तनाव व्यवस्थापन, योगा तथा ध्यान आदि नियमित गर्नाले पनि व्यक्तिमा सुधार आउन सक्छ ।

यो रोग अस्वस्थ जीवनशैलिका कारण हुने भएकाले सरसफाइमा विशेष ध्यान दिनुपर्छ । धूम्रपान, मद्यपान र लागुऔषधको कुलतबाट टाढा रहनुपर्छ । नकारात्मक भावना आउन नदिन योग, ध्यान र एक्सरसाइज गनुपर्दछ । यो रोग लागिसकेपछि समाजबाट समर्थन र मनोसामाजिक सहयोगद्वारा पनि उपचार गर्नु उपयुक्त हुन्छ ।

परिवारलाई यो रोगको ज्ञान दिइ साथै मनोशिक्ष दिएर पनि यसको उपचार गर्न सकिन्छ ।

कतिपय अवस्थामा  औषधि तथा साइकोथेरापी र मनोपरामर्श दुवै सेवा सँगसँगै गर्दा छिटो पहिलेको अवस्थामा फर्कन सकिन्छ ।

कस्तो उपचारबाट यसको पूर्ण रुपमा निधान गरिन्छ ? 

यो समस्याको उपचार हुन्छ । उपचारले यस समस्यालाई पूर्ण रुपले नियन्त्रणमा ल्याउन सक्छ । उपयुक्त उपचार शुरु भएको केही हप्तापछि नै साविककै स्थितिमा आई आफ्ना कार्यहरु सुचारु रुपले गर्न सकिन्छ । यस रोगको उपचार तीन किसिमले गर्न सकिन्छ । 

जसमा औषधि तथा मनोपरामर्श र साइकोथेरापी पर्छन् । विचारलाई नियन्त्रण गर्ने तरिकाले व्यक्तिलाई तनावमुक्त रहन र आत्तिने र नकारात्मक विचारहरुका स्थानमा बढी सकारात्मक विचारहरु ल्याउन मद्दत गर्दछन् । यी पद्धतिबाट कम कडा प्रकारको मन डराउने रोग औषधि बिना नै उपचार गर्न पर्याप्त हुन्छन् । कडा अवस्थाहरुमा भने औषधीको प्रयोग गरी पूर्ण रुपमा निधान गरिन्छ ।

यो रोगले व्यक्तिको जीवनशैलीमा कत्तिको प्रभाव पार्छ ? 

एन्जाइटी वा आत्तिने रोग सामान्य खालको मानसिक रोग भएपनि यसले मानिसको मनस्थितिलाई बिगारिदिन्छ । यो रोगका बिरामी जतिबेला पनि डराउने, सानोतिनो कुरामा आत्तिने प्रवृत्तिका हुन्छन् । यसको उपचार वा नियन्त्रणमा ध्यान नदिँदा दैनिकीमा असर पर्न थाल्छ । रोगीको पारिवारिक सम्बन्ध, सामाजिक दृष्टि, पढाई, जागिर, रोजगारी गुम्ने खतरा, आदि इत्यादिले दैनिक क्रियाकलापमा असर पुर्याउँछ । 

अन्त्यमा हाम्रा पाठकहरुलाई यो रोगका विषयमा के भन्न चहानुहुन्छ ? 

सबै खाले मानसिक रोगहरु सामान्य हुँदैनन् । कुनैले रोगले ज्यान समेत जान सक्ने खतरा हुन्छ । यस्ता खालका कुनै पनि रोगका लक्षणहरु देखा पर्नासाथ मनोचिकित्सक कहाँ जान म सबैलाई अनुरोध गर्दछु । शरिरमा एन्जाइटी हर्मोन हुने हुँदा कहिलेकाहीँ यस हर्माेनको मात्रा धेरै हुन जाने भएकाले मानिसमा डराउने रोग देखा पर्दछ । यसको समयमै उपचार भएमा पूर्ण रुपमा निको समेत हुन्छ । त्यसैले यस्ता लक्षणका व्यक्तिलाई कतै देख्नु भयो भने आफ्नै परिवारको सदस्य हुनुहुन्छ भने राम्रो व्यवहार र माया गर्नुपर्छ र नजिकको कुनै मानसिक अस्पतामा लैजानुपर्छ ।

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  २ : ३५ बजे