‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सांसद्‍ चौधरीले तामझामका साथ शिलान्यास गरेको बर्दघाटको खजुरा पुल अलपत्र

नवलपरासी (पश्चिम)। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ र १६ जोड्ने खजुरा खोलामा पुल निर्माण कार्य अलपत्र बनेको छ ।

२०७७ पुसमा निर्माण कम्पनी श्रीमृत सन्जिवनी सेवा सँग ठेक्का सम्झौता भई २०७९ चैत्र बाट काम सुरु भएको पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन ।९ करोड ७७ लाखको लागतमा निर्माण हुने भनिएको पुल बजेट अभावमा अलपत्र बनेको हो ।

७५ मिटर लम्बाई र ११ मिटर चौडाइ रहने पुलको निर्माण कार्य ३० महिना भित्र सक्नु पर्ने भएपनी हालसम्म पुलको एउटा मात्रै पिल्लर (फाउन्डेसन) तयार भएको छ । बजेट अभावकै कारण पुल निर्माणको काम ठप्प भएको सडक डिभिजन कार्यालय पुल महाशाखाका इन्जिनियर सन्तोष भण्डारीले बताउनुभयो ।

सुरुमा ६० लाख रुपैयाँ मात्रै विनियोजन भएको र अहिले चालू आर्थिक वर्षमा ४७ लाख मात्र विनियोजन भएकोमा ठेकेदारले फाउन्डेसनकै काम सुरु गर्दा अघिल्लो वर्षकै भुक्तानी लिन बाँकी रहेकाले चालू आबको बजेट समेत भुक्तानी भइसकेको इन्जिनियर भण्डारीले जानकारी दिनुभयो ।‘अहिले जम्मा ४७ लाख रुपैयाँ मात्रै विनियोजन भएकोमा पहिलेको कामकै भुक्तानी दिन बाँकी थियो त्यो भुक्तानी दिँदा अब ११–१२ लाख मात्रै बाँकी होला’ भन्डारीले भने ।

काम सुरु भई पुल निर्माण कार्यले गति लिन नसकेपछि बर्दघाट नगरपालिकाको पटक पटकको ताकेता र पहल पछि ठेकेदार कम्पनीले केही दिन काम गरेर पहिलो फाउन्डेसन तयार गरेको थियो । हाल बजेट नै विनियोजन नभएका कारण पुल निर्माण कार्य ठप्प छ ।२०७९ चैत्र १२ गते पुलको शिलान्यास गरिएको थियो । निक्कै तामझामका साथ त्यतिबेला सांसद विनोद चौधरीले पुलको शिलान्यास गर्नुभएको थियो ।

पुल नहुँदा घुमाउरो लामो दुरीको बाटो प्रयोग गर्नु पर्दा स्थानीयलाई बर्षायाममा निकै सास्ती हुने गरेको छ । पुल निर्माण पछि त्रिवेणी धाम सम्म पुग्न र त्यस क्षेत्रका नागरिकलाई आवतजावतमा सहज हुने विश्वास लिईएपनि निर्माण कार्य अलपत्र बन्दा स्थानीय निराश बनेका छन् । थप बजेटको सुनिश्चितता नभई निर्माण कार्य अघि नबढ्ने देखिएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार  १२ : ५८ बजे