दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

काठमाडौं महानगरमा १९६ किलोमिटर सडक कालोपत्रे गर्‍यौँ : मेयर शाक्य 

काठमाडौं – काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले महानगरले १९६ दशमलव १ किलोमिटर सडक कालोपत्रे गरेको बताउनु भएको छ ।

२७ औँ महानगर दिवसको अवसरमा आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले  १४ दशमलव ६८ किलोमिटर सडक ढलान गरेको र १० दशमलव ७९ किलोमिटर सडकमा ब्लक छाप्ने काम सम्पन्न गरेको जानकारी दिनुभयो । 

‘मेरो कार्यकालमा ४८९ किलोमिटर सडकमा ढुङ्गा छाप्ने काम सम्पन्न भएको छ भने २२६ दशमलव ४ किलोमिटर सडक मर्मत र १८ दशमलव ३४ किलोमिटर ढल निर्माण गरिएको छ,’ उहाँले भन्नुभयो , ‘वडा नं. ३, ४, ९, १४, १८ र २६ गरी ६ वटा नयाँ वडा कार्यालय निर्माण सम्पन्न भएको छ ।  वडा नं. २, ६, १२, १६, २०, २१, २२, २७, २९ र ३१ गरी १० वटा वडा कार्यालयहरू निर्माणाधीन अवस्थामा छन् ।  वडा नं. ५, ६, ७, १०, ११, १५, २३ र ३२ गरी आठ वटा वडाहरूको स्तरोन्नति गरिएको छ ।’ 

महानगरपालिकाले अहिलेसम्म  २७ वटा ऐन, ५ वटा नियम, ४ वटा निर्देशिका, २० वटा कार्यविधि, ३ वटा मापदण्ड र एउटा मार्गदर्शन/निर्देशन गरी ६० वटा कानुन तर्जुमा गरी जारी गरिएको समेत मेयर शाक्यले जानकारी दिनुभयो । ‘१ लाख ३७ हजार थान मिसिल डिजिटलाइजेसन गरिएको छ,’ उहाँले भन्नुभयो , ‘४० वटा राजपत्र र एउटा ऐन संग्रह प्रकाशन भएको छ । महानगरपालिकाको केन्द्रीय कार्यालयसहित सबै वडा कार्यालयहरुमा मेलमिलाप केन्द्र स्थापना गरिएको छ ।’

मेयर शाक्यका अनुसार वडा २, ९, ११, २०, २१, २२ र ३० गरी सात वटा वडामा नयाँ स्वास्थ्य क्लिनिकको स्थापना गरेको,  विरेन्द्र सैनिक अस्पतालमा १० बेडको निःशुल्क मिर्गौला डाइलासिस सेवा सुरु गरेको,  ९ वटा सरकारी र सामुदायिक अस्पताललाई ४६ थान भेन्टिलेटर प्रदान गरेको, विशेषज्ञ स्वास्थ्य सेवा सुधारका लागि त्रिवि शिक्षण अस्पताललाई सिटी स्क्यान मेसिन खरिद, १० वटा भेन्टिलेटर मेसिन उपलब्ध गराएको, वीरेन्द्र सैनिक अस्पताललाई डाइलासिस मेसिन खरिद, शहीद गंगालाल ह्रदय केन्द्रलाइ अक्सिजन प्लान्ट खरिद सहयोग, रगतका तत्व छुट्याउने मेसिन किन्न कान्ति बाल अस्पताललाई सहयोग र जलेका विरामीको उपचारमा आवश्यक पर्ने उपकरण खरिदका लागि कीर्तिपुर अस्पताललाई सहयोग, अक्सिजन प्लान्ट स्थापना गर्न मनमोहन अस्पताल, दक्षिणकालीलाई सहयोगगरेको जानकारी दिनुभयो । 

त्यस्तै उहाँले स्वस्थ्य मिर्गौला, स्वस्थ्य काठमाडौं कार्यक्रमअन्तर्गत मिर्गौला बचाउ अभियान चलाइएको पनि जानकारी दिनुभयो ।महानगरभित्र करिब १७ वटा नयाँ पार्क निर्माण गरिएको र ५३ वटा निर्माण सम्पन्न हुने चरणमा पुगेको समेत बताउनुभयो । वडा ६ बौद्ध रामहिटीमा नयाँ महानगर वारुणयन्त्र भवन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइएको, वडा नं. ३ महाराजगञ्ज बाँसबारीमा महानगर वारुणयन्त्र भवन निर्माणधिन अवस्थामा रहेको र महानगर भित्रका ९२ वटै सामुदायिक विद्यालयमा एउटै प्रकारको पहेँलो रङ्ग लगाएर भित्तामा चित्र तथा महावाणी लेखन कार्य गरिएको समेत बताउनुभयो ।

आफ्नो कार्यकालमा काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोतबाट महानगरका करिब १२ हजार बरिष्ठ ज्येष्ठ नागरिक वार्षिक १२ हजार रुपैयाँ भत्ता वितरण हुँदै आएको र पूर्ण अपाङ्गहरुलाई मासिक ३ हजार रुपैयाँ उपलब्ध गराइँदै आएको मेयर शाक्यले  जानकारी दिनुभयो । उहाँले नेपालभाषा एकेडेमीसँगको सहकार्यमा ‘नेपालभाषा ज्ञान कोष’ प्रकाशनको चरणमा पुगेको र काठमाडौंको सम्पदा र जीवनशैली झल्किने कलात्मक चित्रहरूको पुस्तक प्रकाशनमा ल्याइएको पनि जानकारी दिनुभयो  ।

‘काठमाडौंको मौलिक एवम् परम्परागत बाजागाजा संरक्षणका लागि गुठीहरुलाई सहयोग गरेको,   स्थानीय तहमा माध्यमिक तहसम्मको शिक्षाको अधिकार प्राप्त भएपछि विद्यालय सञ्चालन व्यवस्थापनका लागि ऐन जारी गरेको, सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा स्थानीय विषयका रुपमा नेपालभाषाको पाठ्यक्रम ‘येँ देय् म्हसीके’ निर्माण गरी कार्यान्वयनमा ल्याइएको र एक वडा एक नमूना विद्यालय विकास कार्यक्रमअन्तर्गत ३२ वटा सामुदायिक विद्यालयहरुमा कार्यक्रम सञ्चालन गरेको जानकारी समेत दिनुभयो ।’

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १२ : ५३ बजे