‘नेशनल डे कन्सर्ट’ सम्पन्न

खोकनामा रुद्रायणी जात्रा शुरु

काठमाडौं । काठमाडौं उपत्यकाको नेवारी समुदायको चाडपर्वको केन्द्र मानिने खोकनामा रुद्रायणी जात्रा शुरु भएको छ ।

खोकनामा रहेकी रुद्रायणीलाई सिकाली चौरमा लगेर तान्त्रिक विधिअनुसार पूजा गर्ने चलन रहेको छ । खोकनाको मन्दिरमा पूर्णिमाको दिन(हिजो) विशेष पूजा गरेर रुद्रायणीलाई जात्राको लागि तयार गरिन्छ । यसपछि सिकाली चौरमा लगिएको रुद्रायणीलाई खोकनाका विभिन्न पाटीहरुमा दर्शन र पूजाका लागि ल्याइन्छ । पौराणिक कालमा रुद्रायणीको पूजा र जात्रा महिना दिनसम्म चल्ने भएपनि यसलाई छोट्याएर अहिले ३ दिनमा सारिएको हो । यस समयको पूजालाई नेवारी समुदायले ‘घँज्या’ भन्दछन् । यस्तै भोलि फर्सि र काँक्रोको पूजा गर्दै यो जात्रा समापन गरिन्छ । खोकनाको रुद्रायणीको जात्रा कृषिसँग जोडिएको स्थानियको मत रहेको छ । ‘सि’ भनेको फलफूल र ‘काली’ भनेको फल्ने ठाउँ भएर काठमाडौं उपत्यका आफैँ सिकाली रहेको भनिन्छ । यो जात्रामा विशेषगरी फलफुल दान गर्ने चलन छ ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै स्थानीय उदयकुमार डंगोलले रुद्रायणी मन्दिरमा रहेका देवताहरुलाई खटमा निकालेर सिकाली चौरमा पु¥याइ पुजाआजा गरी रुद्रायणी जात्रा मनाउने गरिएको बताउनु भयो । उहाँले सिकाली चौरमा पु¥याएर विधिपूर्वक देवताहरुको पूजाआजा गरेपछि देवताहरुलाई पुनः रुद्रायणी मन्दिरमा फिर्ता ल्याइन्छ र फिर्ता ल्याउने पनि आफ्नै विधिसम्मत तरिका रहेको बताउनु भयो । उहाँकाअनुसार देवतालाई खटमा बसाएर बाजागाजासहित नाचगान गर्दै ल्याएर पुनः रुद्रायणी मन्दिरमै देवतालाई पुनःस्थापित गरिन्छ । पुजाआजा सम्पन्न भएपश्चात मन्दिरमा भोज गरिन्छ । र राति डबलीमा गएर जात्रा गर्ने परम्परा रहदै आएको छ । उहाँले खोकनामा गाइजात्रा भने भोलि मात्रै मनाइने बताउनु भयो । भोलि मृतकको परिवारबाट एक वर्षभित्र साफर जाने भनि कार्यक्रम गरिने र भोलि पनि देवगणहरुको विशेष पूजासहित भोजन हुने उहाँको भनाई छ ।

स्थानीय ईश्वर डंगोलले हिजो क्वाँटी खाने दिनमा भ्यागुतालाई भात खुवाउने चलन रहेको बताउनु भयो । भ्यागुतालाई खुवाएर राखिराखेको भागबाट आज बेलुका औजारहरु पूजा प्रचलन रहेको पनि उहाँले जानकारी दिनुभयो । उहाँले कुनै घरको परिवारका सदस्यको निधन भएको छ भने सो परिवारले दान गर्ने चलन रहेको बताउनु भयो ।

खोकनाका नेवारी समुदायले रुद्रायणीको जात्रालाई निकै हर्षोल्लासका साथ मनाउने गरेका छन् । परम्परा जोगाउनका लागि पछिल्लो पुस्ताहरुको पनि उत्तिकै साथ रहेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ४ : १७ बजे