गाजाबाट छ जना बन्धकको शव बरामद

जेरुसेलम । इजरायली सेनाले आन्तरिक सुरक्षा निकाय शिन बेटसँगको संयुक्त कारबाहीमा गाजाको दक्षिणी क्षेत्र खान युनूसबाट छ जना बन्धकको शव बरामद गरिएको मंगलबार जनाएको छ ।

बन्धकमध्ये यागेभ बुचस्टाब, अलेक्जान्डर डान्सिग, योराम मेट्जर, नादभ पोपलवेल, चेइम पेरी यसपहिले नै मृत घोषित भएका थिए भने अब्राहम मुन्डरलाई मंगलबार बिहान मृत घोषणा गरिएको थियो ।

गुप्तचर तथा फरेन्सिक परीक्षणपछि बन्धकहरूको शव परिवारलाई बुझाउने तयारी भएको सेनाले विज्ञप्तिमार्फत जनाएको छ ।
मृत बन्धकका शव बरामदपछि उनीहरूको अन्त्येष्टिका परिवारको पर्खाइको समय सकिएको ‘होस्टेज एण्ड मिसिङ फेमिलिज फोरम’ ले विज्ञप्तिमार्फत जनाएको छ ।

फोरमले इजरायली सरकारलाई बाँकी बन्धकलाई वार्ता र सम्झौतामार्फत फिर्ताको सुनिश्चित गर्न आह्वान गरेको छ ।

यसै क्रममा इजरायली सरकारले मध्यस्थकर्ताहरूको सहयोगमा हालको सम्झौतालाई अन्तिम रूप दिन लागि पर्न समेत सुझाव दिएको छ ।

इजिप्ट, कतार अमेरिकालगायत देशका मध्यस्थकर्ताले इजरायल र हमासलाई इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको बदलामा बाँकी बन्धकहरूको रिहाइ सुरक्षित गर्न मद्दत गर्ने युद्धविराम सम्झौतामा सहमत हुन आग्रह गरेका छन् ।

मंगलबार बरामद गरिएका छ वटा शवहरूमध्ये मेट्जर, पेरी र डान्सिग पनि गाजा नजिकैको समुदाय निर–ओजका थिए जुन आक्रमणबाट धेरै प्रभावित क्षेत्र हो ।

प्यालेस्टिनी इलमिक कट्टरपन्थी समूहले मुन्दर, उहाँकी श्रीमती, छोरी र नातिसमेतलाई अपहरण गरेका थिए । परिवारका अन्य सदस्यहरू नोभेम्बरको एक हप्ता लामो युद्धविरामको क्रममा रिहा भएका थिए भने उनका छोरा आक्रमणकै दिन मारिएका थिए ।

इजरायली आधिकारिक तथ्यांक अनुसार हमासको आक्रमणमा अधिकांश नागरिक सहित इजरायलमा १ हजार १९९ जनाको मृत्यु भएको थियो ।

त्यसैक्रममा बन्धक बनाइएका २५१ जनामध्ये १०५ जना अझै पनि गाजामा बन्धक अवस्थामा रहेको र तीमध्येका ३४ जनाको मृत्यु भएको सेनाले जनाएको छ ।

इजरायलको जवाफी अभियानले गाजामा ४० हजारभन्दा बढी प्यालेस्टिनीहरूको ज्यान लिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले गाजा आक्रमणमा ज्यान गुमाउनेमा अधिकांश महिला तथा बालबालिका रहेको जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलबार  ३ : २८ बजे