दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सिंहदरबारको प्रतिष्ठा कायम राखौँ

काठमाडौँ ।  सिंहदरबार तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नो निजी निवासको रूपमा निर्माण गराएका हुन् । यसको निर्माण ई.सं. १९०३ मासुरु गरी तीन वर्षभित्र नै पूरा भएको थियो । निर्माण पूरा हुँदा यसमा १,७०० वटा कोठाहरू थिए, जुन त्यस बेलाको एसियाकै सबैभन्दा ठुलो दरबार थियो । यसको निर्माणमा त्यस बेलाको पच्चीस लाख रुपैयाँ खर्च भएको थियो । 

वि.स. २००७ सालको राजनीतिक परिवर्तनपछि सिंहदरबारमा नेपाल सरकारको कार्यालय राखियो । त्यतिबेला यो दरबारमा प्रधानमन्त्रीको कार्यालयदेखि लिएर सम्पूर्ण मन्त्रालयहरू अवस्थित थिए । वि.स. २०३० सालको आगलागी यसको पछाडिको धेरैजसो भाग नष्ट भएको थियो । त्यस आगलागीपछि थुप्रै सरकारी कार्यालयहरू अन्त सारियो । हाल सिंहदरबार परिसरमा धेरै मन्त्रालयहरू रहेका छन् । बाहिर रहेका मन्त्रालयहरूलाई पनि सिंहदरबारभित्र ल्याउने काम भइरहेको छ । 

नेपालको सिंहदरबारको अनुसरण गर्दै भारत लगायतका अन्य मुलुकहरूले एकीकृत प्रशासनिक केन्द्र निर्माण गरेका थिए । जसरी अर्थतन्त्र सबल थियो, सोही अनुसार प्रशासनिक केन्द्र पनि अरूका लागि नमुना थियो । अहिले सिंहदरबार प्रमुख प्रशासकीय केन्द्र मात्र होइन, सिङ्गो शासकीय प्रवृत्तिको प्रतीकको रूपमा रहेको छ ।

सिंहदरबार जनताको सेवक होइन कि शासक हुने मनोविज्ञान, शासकीय प्रणालीका नमिठो स्वाद स्थानीय तहमा पुगेका छन् ।  

नेपालको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार हो । यसलाई नमुनाकै रूपमा विकास गर्न सकिने प्रशस्त सम्भावना छ । यसको योजनाबद्ध निर्माण, रङ्ग—रोगन, सरसफाइ र सौन्दर्यीकरण, पार्किङ, हरियाली प्रवर्द्धन, आन्तरिक तथा बाह्य सजावट, पुराना सवारी साधनहरूको लिलामी, सूचना प्रविधिको उच्चतम प्रयोग,  Digital Governance,  Digital वडापत्र,  SMART Working Style, कार्यरत कर्मचारीहरूको  समय पालना र नियमितता लगाएका शून्य लागत र थोरै लागतमा धेरै काम गरेर सिंहदरबारलाई नमुनाको विकास गर्न सकिने सम्भावना जीवित छ । सिंहदरबारको प्राचीन छवि, इतिहास, भूगोल, अवस्थितिले हामीलाई कम्तीमा दक्षिण एसियाको नमुना प्रशासनिक केन्द्रको रूपमा विकास गर्ने अवसर प्रदान गरेको छ । जम्मा ७६१ सरकारमध्ये सङ्घीय सरकारको नमुना प्रशासनिक भवनको रूपमा विकास गरी सात प्रदेश र ७५३ स्थानीय तहका लागि रोल मोडल हुन सक्थ्यो । यसलाई Lab को रूपमा विकास गर्न सकिन्छ । उचित व्यवस्थापन गर्न सक्दा स्रोत, साधन, विज्ञता जनशक्तिको कमी छैन । 

सिंहदरबारको वर्तमान परिदृश्यबाट नागरिक सन्तुष्ट छैनन् । परिवर्तनको सुरुवात सिंहदरबारबाट गरी त्यसलाई गाउँ—गाउँमा पुर्‍याउन सक्दा नागरिकले परिवर्तनको अनुभूति गर्न सक्थे । नयाँ सार्वजनिक प्रशासन र व्यवस्थापनका धुरन्धर विद्वानहरू कार्यरत रहेको ठाउँ सिंहदरबारले किन काँचुली फेर्न सकेन ? किन नागरिकले अपेक्षा गरेजस्तो बन्न सकेन ? सानो र सजिलो कामबाट त्यसको प्रदर्शनकारी प्रभाव अरूमा देखाउने अवसर किन गुमाइरहेका छौँ ? सानो काममा पनि हामी चुकेका छौ । किन यस्तो भएको छ ? हामीले समीक्षा गर्नु जरुरी छ ।

विगत र वर्तमानका  प्रयास सुस्त छन् । यही सुस्तताका कारण पर्याप्त, गतिशील र छिटो नतिजा आउन सकिरहेका छैनन् । विदेशी पाहुनाहरू आउँदा राता—रात सजिने दरबारलाई हामी सधैँ नमुनाकै रूपमा किन राख्न सकिँदैन ?  सिंहदरबारको लागि हाल छुट्ट्याइएकै बजेट र जनशक्तिबाट त्यो काम गर्न असम्भव छैन । तर, कामको अगुवाइ,  प्रतिबद्धता, लगाव, मनोबल, उत्प्रेरणा  (Motivation), समन्वय, नेतृत्व र जबाफदेहिता वहन गर्न सक्ने क्षमता लगायतका धेरै विषयले प्रभाव पार्दो रहेछ । यस्ता विषयमा रूपान्तरणकारी अग्रसरता देखिँदैन । प्रशासन सुधारको छवि बनाएका धेरै सचिव, मुख्यसचिवहरू कार्यरत रहे, तर झट्का लाग्ने रहर लाग्ने, अनुसरण गर्न  लायक किन बनाउन सकिएन ? 

सिंहदरबार शासकीय प्रणालीको धरोहर, आस्था, विश्वास, इमान, नैतिकता निष्ठाको केन्द्र बनी सम्पूर्ण शासकीय प्रणालीलाई नेतृत्व प्रदान गरोस् भन्ने अपेक्षा रहेको छ । शासकीय प्रणाली संस्कार, संस्कृतिको पुञ्जको रूपमा विकसित हुनुपर्छ भन्ने अपेक्षा नागरिक हो ।  शासकीय सोच र संस्कारमा परिवर्तन आओस् भन्ने हो । पछिल्लो समयमा शासकीय प्रबन्धमा स्खलन भइरहेको छ । लोकतन्त्रका खम्बाहरू धरमराइरहेका छन् । सरकार, संसद्, अदालत,  अड्डाहरू, अर्थतन्त्र, अपेक्षाहरू डगमगाइरहेका छन् । यस्तो हुन नहुने हो । राज्यले लिएको समृद्धिको अभियानले निरन्तरता प्राप्त गरोस् भन्ने हो । सिंहदरबारभित्र छिर्दा सकारात्मक तरङ्ग (Positive Vibration) आउनुपर्छ । यहाँ हुने हरेक निर्णय पद्धति, प्रणाली र प्रविधिमा आधारित भइदिओस् भन्ने अपेक्षा हो । शासकीय प्रबन्धमा आएका चुनौतीहरूलाई सामना गर्ने ल्याकत सिंहदरबारमा हुनुपर्छ । 

यस प्रकारको अपेक्षा गरिरहँदा काम भएका छन् भनेर केही सूचीहरू पस्कन सकिन्छ । तर, हाम्रो शासकीय प्रबन्धकहरूको मनोविज्ञान कस्तो छ भनेर धेरै हेर्नु पर्दैन । उहाँहरूले चढ्ने सवारी साधनहरूको पार्किङको शैली (स्टाइल) हेरे पुग्छ । सिंहदरबारको गुरुयोजना पनि छ । देश विकासको गुरुयोजना केही समयका लागि अलि पर राखेर सिंहदरबारको गुरुयोजना पूर्ण कार्यान्वयन गरौँ, अनि बाहिर सोचौला ।  

सिंहदरबार शासकीय प्रणालीको धरोहर, आस्था, विश्वास, इमान, नैतिकता निष्ठाको केन्द्र बनी सम्पूर्ण शासकीय प्रणालीलाई नेतृत्व प्रदान गरोस् भन्ने अपेक्षा रहेको छ । शासकीय प्रणाली संस्कार, संस्कृतिको पुञ्जको रूपमा विकसित हुनुपर्छ भन्ने अपेक्षा नागरिक हो । 

अहिले गाउँ—गाउँमा सिंहदरबार भन्ने नारा छ । यसलाई दुई वटा अर्थमा  बुझ्न सकिन्छ— सकारात्मक र नकारात्मक । सकारात्मक अर्थमा बुझ्दा राज्यको सेवा—सुविधा वडा— वडामा पुगेको छ । सानोतिनो विकास निर्माणका लागि काठमाडौँकै सिंहदरबार नै धाउन पर्दैन । सङ्घीयताले सेवा प्रवाहलाई सरल सहज बनाउन कोसिस गरिराखेको छ । नागरिकलाई केन्द्रबिन्दुमा राखेर विकासका कामहरू भइरहेका छन् । नकारात्मक अर्थमा बुझ्दा केन्द्रमा विद्यमान केन्द्रीकृत, एकात्मक, विभागवाद (Departmentalization) , रातो फिताशाही (Red tape) प्रवृत्ति देखिन्छ ।  

यसरी हेर्दा सिंहदरबार जनताको सेवक होइन कि शासक हुने मनोविज्ञान, शासकीय प्रणालीका नमिठो स्वाद स्थानीय तहमा पुगेका छन् । जनताका नजिकका शासकीय संरचनाले सेवा प्रवाह, विकास व्यवस्थापन, सङ्गठन संरचनामा नयाँ सोच विकास (Innovation) गर्नु पर्नेमा सिंहदरबारकै नकारात्मक परम्पराको अनुसरण गर्न पुग्दा सेवा रेड टेप स्थानीय तहसम्म पुग्यो । परिवर्तनको अर्थ नागरिकमैत्री सेवा प्रवाहमा  चुस्तता, प्रविधिमैत्री, नागरिकमैत्री  सङ्गठन संरचना बनाउने हो, व्यक्तिका लागि संरचना बनाउने होइन । शासकीय पात्रहरूले रूपान्तरणकारी नेतृत्व प्रदान गरेर आफ्नो स्थानीय सरकारलाई विकासको नायकको रूपमा स्थापित गर्ने अवसर छ । दैनिन्दिन नियमित काम (Routine work) लाई रूपान्तरणकारी प्रणालीमा लैजाने काममा सम्पूर्ण लगाव र ताकत लगाउनुपर्दछ । 

सिंहदरबारका लागि दैनिक ओहोर—दोहोरो गर्ने प्रधानमन्त्री, मन्त्री, सचिव लगायत राष्ट्रका मुख्य नीति निर्माताहरू दैनिक रूपमा ठोकिने हाम्रा पूर्वाधार राजा र राणाकालीन नै छन् । ट्रली बस,  हेटौडा काठमाडौँ चल्ने रोप—वे, भृकुटी कागज कारखाना, बुटवल धागो कारखाना, सुनवल चिनी कारखाना लगायतका रणनीतिक पूर्वाधारहरू बन्द हुँदा नागरिकमा चिन्ता छ । नीति निर्माताहरू रूपान्तरणकारी र परिवर्तनका संवाहक रूपमा उभिई आफ्नो ल्याकतको समन्वयात्मक रूपमा प्रयोग गरौँ  र देश बनाउने दिशामा लागौँ । सके थप नयाँ गरौँ, नसके कम्तीमा अन्य मुलुकलाई समेत प्रभाव पार्न र अनुसरण गराउन सफल पुरानो चन्द्र शमशेरको जाज्वल्यमान सिंहदरबारको प्रतिष्ठा कायम राखौँ । 

(लेखक निजामती सेवामा कार्यरत हुनहुन्छ ।)

प्रकाशित मिति : २६ मंसिर २०७८, आइतबार  १० : २७ बजे