‘नेशनल डे कन्सर्ट’ सम्पन्न

श्रावण शुक्ल पूर्णिमा : धार्मिकस्थलमा धामीझाँक्री मेला

खोटाङ । बाँसको लिंगो, केराको खम्बा !
नुहाउन आयौँ देउताको धाममा !!
जै हर हर, जै हर हर ! रक्षा गर, क्षमा गर !!
पानफूल दियौँ, पानफूल खाऊ है !
सयौँ वर्षको आयु देऊ है !!
सै राजा सै सै, सै रानी सै सै…

यही भाका तथा बोलको गीत र ढोल, झ्याम्टा एवं ढ्यांग्रोको तालमा धार्मिक तथा पर्यटकीय स्थलमा ढोलेताले सहित धामीझाँक्री नाचिरहेका छन् । साउन लागेसँगै गुप्तवास बसेका धामीझाँक्री श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलहरूमा गएर नुहाउनुका साथै पूजाआजा गरेर बिद्धे (ज्ञान) प्राप्तिका लागि प्रार्थना गर्ने गर्छन् ।

गुप्तबास बसेका धामीझाँक्रीका गुरु र देवीदेवता श्रावण शुक्ल पूर्णिमाको दिन धार्मिकस्थलमा गएर नुहाइधुवाइ गरेपछि आफ्ना गुरु तथा देवीदेवता चल्ने मान्यता छ । सोही मान्यताअनुसार धामीझाँक्री जिल्लाका विभिन्न ठाउँमा अवस्थित धार्मिक तथा पर्यटकीय स्थलमा नुहाउन तथा पूजाआजा गर्न पुग्नेगरेका छन् ।

महिना दिनसम्म गुप्तवास बसेका धामीझाँक्री आज बिहानदेखि जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलमा भेला भएका छन् । बराहपोखरी, भुलभुले दूधकुण्ड, साप्सुधाप, कान्छी सालपा, भालुखोला, होङमा पोखरी, जन्तेढुंगा लगायत धार्मिक तथा पर्यटकीय स्थलमा बिहानदेखि धामीझाँक्रीको बृहत् मेला लागेको स्थानीय बासिन्दाले बताएका छन् ।
धार्मिक तथा पर्यटकीय स्थलमा लाग्ने धामीझाँक्री मेलामा रमिता हेर्ने सर्वसाधारण तथा पूजाआजा गर्ने भक्तजनको समेत बाक्लो उपस्थिति देखिएको छ । धार्मिक मेला भर्न आउने सर्वसाधारणका लागि होटल तथा पसलसमेत सञ्चालन गरिएका छन् ।

जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलमा शुक्ल पूर्णिमाको अवसर पारेर पूजाआजा सहित नुहाउँदा रोगव्याधी हट्नुका साथै मनोकांक्षा पूरा हुने जनविश्वास छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सबैभन्दा नजिक रहेको मुडेस्थित धार्मिक एवं पर्यटकीय स्थल भालुखोलामा आइतबारदेखि नै धार्मिक मेला लागेको छ ।

ढोल, ढ्यांग्रो र झ्याम्टा बजाउँदै दिनभर धामी नाच्ने भालुखोलामा बुढापाका, युवायुवती तथा केटाकेटी सबैको उल्लेख्य उपस्थिति रहने गरेको छ । परापूर्वकालदेखि नै यस ठाउँको पानीले नुहाइधुवाइ गरेमा रोगकष्ट निको हुने जनविश्वास रहिआएको स्थानीय सीताराम राईले बताउनुभयो ।

श्रावण शुल्क पूर्णिमाको अवसरमा बर्सेनि ठूलो मेला लाग्ने धार्मिक एवं पर्यटकीय स्थल भालुखोलामा विभिन्न मनोकांक्षा लिएर विभिन्न ठाउँबाट हजारौँको संख्यामा दर्शनार्थी आउने गरेका छन् । श्रावण शुल्क पूर्णिमाका अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएकाले पनि धार्मिक तथा पर्यटकीय स्थलमा लाग्ने धार्मिक मेला हेर्न तथा पूजाआजा गर्ने दर्शनार्थी एवं भक्तजनको संख्या वृद्धि भएको हो ।

जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलमा गएर दिनभर नाचगान गरेका धामीझाँक्री बेलुका घर फर्किएर सामूहिक तथा एकल रूपमा देवीदेवताको पूजाआरधाना सहित रातभर चिन्ता बस्ने (ढोलेतालेसहित थान थापेर जपध्यान गर्ने काम) गर्छन् ।

त्यस अवसरमा छरछिमेकका स्थानीय बासिन्दाले धामीझाँक्रीको शिर उभ्याउनी (पैसा र रक्सीको कठुवा चढाएर ढोग्ने काम) समेत गर्ने प्रचलन रहिआएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका दिलकुमार राईले बताउनुभयो ।

पछिल्लो समय धार्मिकस्थलहरूको महत्त्व बढ्दै गएपछि जिल्लास्थित दश वटै स्थानीय सरकारले आआफ्नो क्षेत्रमा पर्ने धार्मिकस्थलको स्तरोन्नति तथा प्रवर्द्धन गरिरहेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले लाखौँ रकम खर्चिएर साप्सुधाप र भुलभुले दूधकुण्डको स्तरोन्नति गरेको छ ।

संघीयता लागु भएपछि स्थानीय सरकारले धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति एवं प्रवद्र्धनको काम गरेसँगै अन्य समयमा पनि पूजाआजा गर्ने भक्तजन तथा दर्शनार्थीको संख्या दिनानुदिन वृद्धि हुँदै गएको स्थानीय बासिन्दाहरूले बताएका छन् ।

जिल्लास्थित धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति एवं प्रवद्र्धन गरेर आन्तरिक आयस्रोत वृद्धि गर्ने स्थानीय सरकारको लक्ष्य रहेको छ । पछिल्लो समय जिल्लाका हरेक स्थानीय तहमा धार्मिक तथा पर्यटकीय स्थलको स्तरोन्नति तथा संरक्षण एवं प्रवर्द्धनको माग बढिररहेको छ । जिल्लास्थित सबै जातजातिका स्थानीय बासिन्दा आआफ्नो ऐतिहासिकस्थल संरक्षणमा जुटेका छन् ।

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  १ : २८ बजे