‘नेशनल डे कन्सर्ट’ सम्पन्न

रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिने : वनमन्त्री शाही

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरी राजपत्रमा प्रकाशित गर्न लागेको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा बोल्दै वनमन्त्री शाहीले रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तुमा घोषणा गरी राजपत्रमा प्रकाशित गर्न लागिएको र कृषि हानिकारकको रूपमा बँदेलको म्याद थप गरिएको बताउनुभयो ।

रातो बाँदर किसानको खेतबारीमा आएर अन्नबाली हानि नोक्सानी पुर्‍याई स्थानीय हैरानी दिइरहेकाले कृषि हानिकारक वन्यजन्तुमा घोषणा गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।

मन्त्री शाहीले भन्नुभयो, ‘बँदेलले पनि किसानको बालीनालीमा पूर्ण रूपमा क्षति पुर्‍याउने भएकाले कृषि हानिकारक वन्यजन्तुमा राखिएको छ ।’ वनको कारणले पूर्वाधार निर्माणका काममा असर परेको भन्ने जनगुनासो आएको हुँदा खानेपानी, सडक, विद्युत लगायत पूर्वाधारका योजना छिटोछरितो बनाउन मन्त्रालय प्रयासरत रहेको उहाँको भनाइ छ ।

वनमन्त्री शाहीका अनुसार वन्यजन्तु ऐन संशोधन गर्न मन्त्रालय पूर्ण रूपमा सहमत छ । विकास निर्माणमा वातावरणीय अध्ययन प्रक्रिया पनि निकै गाह्रो र झन्झटिलो विषय भएको र उक्त प्रक्रियालाई पनि सहज बनाउन मन्त्रालयको ध्यानाकर्षण भएको उहाँको भनाइ छ ।

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न मन्त्रालयको ध्यानकर्षण भएको बताउँदै मन्त्री शाहीले भन्नुभयो, ‘आहारा र बासस्थान मासिँदै जा“दा वन्यजन्तु मानव बस्तीमा छिरेर हानि नोक्सानी पुर्‍याउन थालेका छन् ।’

प्रकाशित मिति : ३ भाद्र २०८१, सोमबार  ११ : ४० बजे