कांग्रेस महाधिवेशनः उम्मेदवारी मनोनयन जारी

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन प्रक्रिया जारी छ । दिउँसो १ बजेसम्म सभापति उम्मेदवारमा एक जना मात्र उम्मेदवारी परेको छ । कांग्रेस सभापतिका लागि कल्याण गुरुङले उम्मेदवारी मनोनयन गर्नुभएको छ । सहमहामन्त्रीमा तीनजनाले उम्मेदवारी दिनुभएको छ । मानबहादुर विश्वकर्मा, बद्रीप्रसाद पाण्डे र फर्मुला मनसुरले उम्मेदवारी मनोनयन गर्नुभएको केन्द्रीय निर्वाचन समितिका सदस्य सीताराम केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार केन्द्रीय सदस्यतर्फ अपाङ्ग कोटामा तीन, अल्पसङ्ख्यकमा एक र मुस्लिम कोटामा एकजनाको उम्मेदवारी परेको छ । लुम्बिनी प्रदेशका लागि एक, गण्डकीका लागि एक र सुदूरपश्चिम प्रदेशका लागि एक तथा थारू कोटाबाट दुईजनाले उम्मेदवारी मनोनयन गराउनुभएको छ ।

त्यसैगरी, वाग्मती प्रदेशबाट दुई, मधेसी कोटाबाट चार, कर्णालीबाट दुई तथा आदिवासी जनताजातितर्फबाट ११ जनाले मनोनयन गराउनुभएको छ । निर्वाचन प्रक्रियाको काम भृकुटीमण्डप र राष्ट्रियसभा गृहबाट भइरहेको छ । विभिन्न २० स्थानबाट मनोनयन भइरहेको छ । कांग्रेस सभापति, उपसभापति र महामन्त्री पदका उम्मेदवारको मनोनयन एकै ठाउँबाट भइरहेको छ भने केन्द्रीय सदस्य र प्रदेशको आरक्षणअनुसार फरक फरक गरी कूल २० स्थानमा मानोनयनको व्यवस्था गरिएको कांग्रेसले जनाएको छ । कांग्रेस पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ ।
 
    आज बिहान १० बजेदेखि मनोनयन प्रक्रिया सुरु भएको हो । निर्वाचन समितिले मनोनयनका लागि आज साँझ ५ बजेसम्म समय निर्धारण गरेको छ । आइतबार दाबी विरोध सकेर अन्तिम नामावाली प्रकाशन गरिनेछ ।

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  २ : १९ बजे