साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

फहराउँला हिंसारहित रातो झण्डा !!

सृष्टिमै  खोट थियो या दृष्टिमा
विपरीत लिङ्ग  विनाको मानव  समाज
कल्पेर हेर
फेरि हेर पीडित बनेर
जब देख्ने छौ हिंसाका  अनेकन् रूपहरू
तब गरूङ्गा बन्नेछन् तिम्रा पाइलाहरू

शब्द एक, रूप अनेक
देख्नेछौ यत्र—तत्र सर्वत्र
खचाखच भरिएको. बस
ठोकिँदै कुहिनाले  आनन्द लिन्छ ऊ
खुला आकाशमुनि एक्लै हुँदा
निमेषमै पुग्छ ऊ

सँगै जिउने र सँगै मर्ने कसम खाएकै भोलिपल्ट
दहेजको हिसाब नमिलेपछि
जिउँदै आगो सल्काउन  छरेको पेट्रोलको
धुवाँ  ताप्दै  अनेक तानाबाना बुन्दै

ममताका खानी आमाहरू
छियाछिया बनाई
बोक्सी, डायन  भन्दै
क्रूर नीचता
मन नपर्ने बोली असहज व्यवहार
हिंसा र दुर्व्यवहार

अब कुन  शब्द, वाक्य खोजौँ  या परिभाषा
आफ्नै. सन्तान बलात्कृत हुँदा
घाँटी रेटेर हत्या गर्ने पनि हिंसा
गर्भैदेखि  पिछा लागेको
मृत्युशय्या, पिण्ड पानीसम्म
लैङ्गिक हिंसा

सोह्र दिने  यात्राले  कति फाँड्न सकिएला
सदियौँ जरा गाडेका अजङ ऐजेरुहरू
यात्रा निरन्तर गर्दा ठोकिँदै चट्टानसँग
पुगिएला शिखर अनि फहराउँला
​​​​​​​हिंसारहित रातो झण्डा !!

 

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  १० : १९ बजे