साफ यू–१७ च्याम्पियनसिप आजदेखि

दुई वर्षपछि अन्तुपोखरीमा डुङ्गा सञ्चालन

मङ्गलबारे । पर्यटकीय नगरी सूर्योदय नगरपालिकाको श्रीअन्तु पोखरीमा पुनः डुङ्गा सञ्चालनमा आएको छ । दुई वर्षदेखि रोकिएको डुङ्गा सञ्चालन पुनः सुरु गरिएको हो । 

कोरोना महामारीसँगै नगरपालिका र डुङ्गा सञ्चालकबीच केही समस्या उत्पन्न भएपछि अन्तु पोखरीमा डुङ्गा सञ्चालन हुन् छोडेको थियो । 

आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न पोखरीमा पहिलो पटक नगरपालिका आफैँले डुङ्गा सञ्चालनमा ल्याएको हो । श्रीअन्तु पुगेपछि सूर्योदय र सूर्यास्तको दृश्यसँगै आन्तरिक तथा बाह्य पर्यटकको अर्को रोजाइ डुङ्गा सयर हुने गरेको छ ।

हाल पोखरीमा तीन वटा डुङ्गा सञ्चालन थालिएको नगर प्रमुख रणबहादुर राईले बताउनुभयो । बाहिरबाट आउने पर्यटकको मनोरञ्जनका लागि डुङ्गा सञ्चालन गरिएको बताउँदै नगरप्रमुख राईले भन्नुभयो, “अन्य पर्यटकीय स्थलसँगै अन्तुपोखरीमा डुङ्गा पनि थप गरिएको छ ।”

प्रमुख राईका अनुसार पर्यटनका विभिन्न क्षेत्रको पूर्वाधार विकास गर्ने क्रममा नगरपालिकाले पोखरीमा डुङ्गा सञ्चालनमा रकम विनियोजन गरिसकिएको छ । 

पर्यटकबाट एक पटक डुङ्गामा चढेर पोखरी फन्को लगाएको रु ५० शुल्क लिइने छ । डुङ्गा चढ्नलाई १५ थान लाइफ ज्याकेट पनि व्यवस्था गरिएको छ । रासस

प्रकाशित मिति : २५ मंसिर २०७८, शनिबार  ७ : २५ बजे