सुनको मूल्यमा नयाँ कीर्तिमान

रोहिंग्याद्वारा सञ्चालित करीब एक हजार पसल हटाइयो

कोक्स बजार, बङ्गलादेश – बङ्गलादेश प्रशासनले शिविरहरूमा रोहिंग्या समुदायले चलाएका करिब एक हजार पसलहरू भत्काएको एक अधिकारीले शुक्रबार बताएका छन् । सरकारको यो कदमले शरणार्थीको जीविकामा ‘ठूलो प्रभाव’ पार्ने कुरा अधिकारकर्मीले बताएका छन् । 

प्रशासनले रोहिंग्या परिवारद्वारा चलाइएका ती पसलहरू अनाधिकृतरूपमा सञ्चालन गरिएकोले हटाउनु परेको बताएको छ ।

बङ्गलादेशमा करिब आठ लाख रोहिंग्या शरणार्थीलाई आश्रय दिइएको भए पनि उनीहरूले त्यहाँ रहँदा स्थानीय कानूनलाई मान्नु अनिबार्य हुने प्रशासनले जनाएको छ । 

देशभरिका ३४ शिविरहरूमा म्यानमारबाट विस्थापित रोहिंग्या शरणार्थीलाई राखिएको छ । उनीहरू अधिकांश छिमेकी म्यानमारमा सन् २०१७ को सैन्य दमनपछि विस्थापित हुन् । 

बङ्गलादेशले शरणार्थीहरूलाई लिएकोमा प्रशंसा गरिए पनि अधिकार समूहहरूले शिविरहरूमा प्रतिबन्ध लगाएको र हजारौं रोहिंग्यालाई बाढीले ग्रस्त द्वीपमा स्थानान्तरण गरेकोमा सरकार आलोचना हुने गरेको छ ।

बङ्गलादेशी शिविरका अधिकारीहरूले बिहीबार र शुक्रबार कोक्सको बजार क्षेत्रका विभिन्न शिविरहरूमा रहेका पसलहरूलाई डोजर लगाएर भत्काएको अधिकारकर्मीको दावी छ । यद्यपि सबै शिविरहरूमा रहेका ‘अवैध’ पसलहरू भत्काइएको स्वीकार गर्दै अधिकारीले भने, “पसल भएका स्थानमा थप रोहिंग्या शरणार्थीलाई व्यवस्थापन गरिने बताए ।

“हामीले करिब एक हजार अवैध पसल हटाएका छौँ । रोहिंग्याका लागि थप व्यवस्थित आश्रय स्थल निर्माण गर्न हामी अवैध पसलहरू निकाल्दैछौं ।” पसलहरू भत्काउन लगाएपछि त्यसमा आश्रित सयौँ परिवारले आफ्नो आम्दानीको स्रोत गुमेको भन्दै बिलौना गरेका भिडियोहरू सामाजिक सञलहरूमा आएका छन् । आफ्नो पसल भत्काइएपछि कतिपय परिवारले पेट पाल्न समस्या हुने बताउँदै रोएको भिडियोमा देख्न र सुन्न सकिन्छ । 

“तिनीहरूले मेरो पसल तोडफोड गरे । मेरो जीविका चलाउने एक मात्र माध्यम यही थियो । यसको आयस्रोतले गर्दा मैले सात जनाको परिवारको पालनपोषण गर्न सक्थेँ । अब म के गरूँ,” शिबिरमा पसल गर्दै आएका जना अल अमीनले भने । 

“अब के गर्ने मलाई थाहा छैन । मैले के भन्न सक्छु ? म्यानमार सेनाले हाम्रो भाग्य नष्ट गरेको छ । फेरि एकपटक हामीले आफ्नो भाग्य गुमायौं ।” 

“मेरो परिवार मेरो पसलको कमाइमा अश्रित थियो अब यो गुम्यो,” २४ बर्षीया कस्मेटिक व्यापारी अब्दुर रशीदले भने ।उनले थपे, “मेरी श्रीमती गर्भवती छिन् । यस पसलबाट प्राप्त आम्दानीमा मेरा आमाबाबु निर्भर हुनुहुन्छ । अहिले मैले सबै कुरा गुमाएकी छु ।”

शिविरहरूको स्थितिको निगरानी गर्ने एक अन्तरराष्ट्रिय अधिकार समूहका शोधकर्ताले बताएअनुसार अधिकारीहरूले रोहिंग्यालाई बंगालको खाडीको विवादास्पद भशान चार द्वीपमा स्थानान्तरण गर्न सहमत हुन दबाब दिन पसलहरू भत्काइरहेका दावी गर्नुभयो ।

“हजारौं शरणार्थीहरूले यस्ता पसलहरूलिएर जीविका चलाउन खोजिरहेका थिए । नाम नबताउने शर्तमा उनले भने, “यसले उनीहरूको जीवनमा ठूलो प्रभाव पार्नेछ ।”

बंगलादेशले हालसम्म करिब १९ हजार रोहिंग्यालाई भशान चारमा स्थानान्तरण गरिसकेको छ । भशान चार सामुद्रिक सतहमा रहेको गहिरो भूभाग भएकोले यहाँ बस्ती सार्नु जोखिमपूर्ण भएको अधिकारकर्मीहरूको भनाइ रहँदै आएको छ भने बङ्गलादेशका सरकारी अधिकारीले अहिले शिबिरमा रहेको चाप व्यवस्थापनका लागी उक्त स्थान उचित भएको दावी गर्दै आएका छन् ।

रासस÷एएफपी

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  १० : ०८ बजे