काठमाडौँ – मनाङ मस्याङ्दी क्लबले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै सहिद स्मारक लिग ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा मनाङले फ्रेन्डस क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लेको हो । यस खेलसँगै चार खेल खेलेको मनाङले १० अङ्क जोडेको छ । पराजित फ्रेन्ड्स भने समान ४ खेलबाट २ अङ्क जोडेर लिगको १२ औँ स्थानमा झरेको छ ।
मनाङको जीतमा नाइजेरियन फरवार्ड ओलावाले ओलाडिपो अफिज र दिनेश राजवंशीले एक÷एक गोल गरे । अफिजले खेलको पहिलो हाफमा गोल गरे भने दिनेशले खेलको दोस्रो हाफमा गोल गरे ।
खेलको ४१औँ मिनेटमा आफिजले गोल गर्दै मनाङलाई पहिलो अग्रता दिलाए । उनले कप्तान अञ्जन विष्टले दिएको क्रस बललाई हेडरमार्फत गोल गरेका थिए । त्यस्तै खेलको ७३ औँ मिनेटमा दिनेशले गोल गर्दै मनाङको अग्रता दोब्बर पारे । पुजन उपरकोटीको फ्रिकिकलाई उनले हेडरमार्फत सदुपयोग गर्दै गोल गरे ।
रासस
प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार ४ : २५ बजे
प्रतिक्रिया