देशमा निरङ्कुश निर्दलीय पञ्चायती शासन थियो । समाज घनघोर सामन्ती व्यवस्थाको जकडमा थियो । राजनीतिक दलहरू प्रतिबन्धित थिए र भूमिगत रूपमा भने गतिशील थिए । कम्युनिस्टहरू अझ कडा रूपमा भूमिगत रहेको अवस्था थियो । राजनीतिक र मानवअधिकारको कुरा गर्नु अपराध जस्तै थियो । शीर्ष नेताहरू जनता र कार्यकर्ताका घरमै लुकेर बस्दाको अवस्थामा परिवारको भूमिका महत्त्वपूर्ण थियो । सेवा—सत्कार र सुरक्षाका दृष्टिले महिलाहरूको भूमिका अहम् हुन्थ्यो । थाहा राज्यका प्रहरी र जासुसहरूले थाहा पाए लुक्ने र लुकाउनेलाई राज्यविरुद्धको आरोपमा जेलको सजाय हुन सक्थ्यो । तर पनि भूमिगत रूपमा त्यतिखेरका पञ्चायत विरोधी राजनीतिक नेता—कार्यकर्ताहरू आफ्ना गतिविधिमा व्यापक रूपमा लागेकै थिए ।
पञ्चायती शासन विरुद्धको जागरण भित्रभित्रै भुसको आगो जस्तै आगो बलिरहेको थियो । बैठक, प्रशिक्षण, अध्ययन, राजनीतिक दलका खुला र वैधानिक भ्रातृ सङ्गठनहरूबाट पञ्चायती शासन विरुद्धको प्रतिरोध भइरहन्थे । त्यतिखेर सञ्चार, यातायात र व्यापार आजको जस्तो सघन र जोडिएको जोडिएको थिएन । आफ्नै ढङ्गले स्वतन्त्र भएर संसार बुझ्ने, विदेश गएर देख्ने, बुझ्ने र विश्लेषण गर्ने परिस्थिति पनि न्यून थियो ।सञ्चार प्रविधि र चेतना पनि अहिले जस्तो विकसित भइसकेको थिएन ।
दलका नेताले जे भन्यो, त्यही नै सत्य लाग्ने लाग्थ्यो । देशका प्रमुख राजनीतिक शक्ति नेपाली काँग्रेस र कम्युनिस्ट नै थिए । कम्युनिस्टहरू समाजवाद र साम्यवादको व्याख्या गर्दथे भने नेपाली काँग्रेस प्रजातान्त्रिक समाजवादको कुरा गर्दथ्यो । कम्युनिस्टहरूले समाजवाद कस्तो हुन्छ भन्ने प्रश्नको जवाफ तत्कालीन सोभियत सङ्घ र चीन लगायतका कम्युनिस्ट व्यवस्था भएका मुलुकको चित्रण गरी सम्झाउँथे र नेपालमा पनि त्यस्तै व्यवस्था ल्याउने कुरा गर्दथे । समाजवादमा महिलाहरूको स्वतन्त्रताको कुरा गर्दा महिलाहरूको अनुहारमा आशाको किरण चम्किन्थ्यो । तर, त्यसभन्दा पहिला निरङ्कुश पञ्चायती व्यवस्था अन्त्य गर्नु तत्कालीन प्रमुख कार्यभार रहेकोले सम्पूर्ण रूपमा सङ्घर्षलाई त्यसैमा केन्द्रित गर्नुपर्ने प्रशिक्षण दिइन्थ्यो ।
संसारको अन्य भागमा आएको परिवर्तनको आँखाले हेर्दा नेपाली जनता, त्यस समयमा अधिकार विहीन नै थिए । त्यसमा पनि महिलाहरू सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक र शैक्षिक हिसाबले पुरुषको तुलनामा अधिकारविहीन र ज्यादै पछि पारिएका थिए । तथापि, नयाँ पुस्ताका महिलाहरूको शिक्षामा फाट्टफुट्ट प्रवेश भएको थियो र त्यो बढ्दो क्रममा थियो । त्यो समयले ल्याएको क्रमिक विकास थियो ।
म किशोर अवस्थाको हुँदा समाजमा महिला प्रतिको व्यवहार मैले जे देखेँ, सुनेँ; अहिलेको अवस्थामा ती मध्येका धेरैजसो सामाजिक, पारिवारिक, सांस्कृतिक विभेद र हिंसाको परिभाषाभित्र पर्दछन् र कानुन विपरीत पनि ।
आमाहरूका पालाको कुरा गर्ने हो भने मेरो ८४ वर्षीय सासुआमा भन्नुहुन्छ, ‘म ८ वर्षकी हुँदा मेरो विवाह भएको थियो । आँगनमा तयार पारिएको मण्डपमा पूजामा बस्दा मलाई मेरो बिहे हुने भो भनेर थाहा पाएपछि म रुन थालेकी थिएँ ।’ रूढीवादी चलन भएकाले रजस्वला नहुँदै बिहे गरी छोरीको कन्यादान दिनु पुण्य काम मानिन्थ्यो । बालविवाहको अवस्था त्यो हदसम्मको थियो । राति पुरुषहरू सुत्न जाँदा महिलाहरू कि त जाँतो पिस्दै हुन्थे, कि ढिकीमा कुट्दै हुन्थे या दुना—टपरी गाँसिरहेका हुन्थे । हिउँदमा परालको गुन्द्री बुन्न डोरी बाट्दै हुन्थे । बिहान पुरुषहरू उठ्दा उनीहरू उठेर काममा लागिसकेका हुन्थे । बुहारीहरूको स्थिति ज्यादै कष्टकर र अपहेलित थियो । गाउँ—बेसी जाँदा घरको वा गाउँ घरको दाजुभाइ मध्येबाट आफूले मान्नुपर्नेहरूसँग सँगै हिँडेमा २–४ जनाको खालि डोको छ भने सबैको खापेर बोकिदिएर ‘सम्मान’ समेत गर्नुपर्दथ्यो । यस्ता अनेक उदाहरण हामीले जान्दाखेरि नै थिए । एक जना पुरुषले बिहे गरेकी पत्नीबाहेक धेरै पत्नी राख्ने अर्थात् बहुविवाह गर्ने चलन थियो । तर, सबै पुरुषले भने होइन । पुरुषको महिलामाथि र महिलाको पनि महिलामाथि विभेद र हिंसा थियो । बुहारी हुँदा आफूmले भोगेको भोगाइ उही बुहारी सासू बनेपछि आफ्नो बुहारीले भोग्नै पर्छ भन्ने मनोविज्ञान थियो । यस्तो गलत संस्कार थियो । म सानो हुँदा बुढापाकाबाट सुन्थेँ, मधेस तराईतिर गोरु म¥यो भने खाल्डोमा पुर्दा भन्थे रे ‘अर्को जुनीमा मधेसको गोरु नभएस्, पहाडको आइमाई नभएस् ।’ यो वाक्यबाट अनुमान लगाउन सकिन्छ पहाडका महिलाको जीवन कति कष्टकर थियो ।
मेरो किशोर अवस्थाको मष्तिकमा यी सबै कुरा छापिएका थिए र अझै पनि पूरा मेटिएका छैनन् । तर, त्यस जमानामा भएका यस्ता विभेदहरू मेरो कलिलो मस्तिष्कमा कता–कता अपाच्य भएको महसुस हुन्थ्यो । पछि जब म, कम्युनिस्ट भएँ, त्यस समय म भारत प्रवासमा थिएँ । भारतका कतिपय सहरहरूमा सोभियत पुस्तकालयहरू थिए । आफू कम्युनिस्ट भएकोले कम्युनिस्ट समाजवादका बारेमा जान्ने रुचि तीव्र थियो । त्यस समयमा भारत सोभियत समाजवादबाट केही हदसम्म प्रभावित थियो र दुवै देशबीच गहिरो मित्रता थियो । म पुस्तकालयमा गएर आफूले बुझ्न सक्ने सरल खालका सोभियत किताब र भारतीय कम्युनिस्ट पार्टीका प्रकाशनहरू किनेर पढ्थेँ । सोभियत सङ्घमा ६५ प्रतिशत महिलाहरू इन्जिनियर, डाक्टर, वैज्ञानिक, पाइलट छन् भन्ने पढ्दा बुझ्दा निकै आनन्द आउँथ्यो र मस्तिष्क सुनौलो सपनाले भरिन्थ्यो । नेपालमा पनि समाजवाद आउने छ भन्ने चर्चा, प्रशिक्षण, अध्ययन र त्यसका लागि साङ्गठनिक गतिविधि त छँदै थिए । तर पनि माथि भनेझैँ पहिला निरङ्कुश पञ्चायती व्यवस्था ढाल्नु थियो । म पनि त्यही आन्दोलनमा लागेको थिएँ । देशभित्रको आन्दोलनलाई भरपुर रूपमा सघाउन भारत प्रवासको भूमिका त्यतिखेर अहम् थियो । २०४६ सालमा निरङ्कुश पञ्चायती व्यवस्था विरुद्ध देशभित्र आन्दोलन चर्कँदै गयो र पञ्चायत ढल्यो, बहुदलीय प्रजातन्त्र आयो । पीडा र अपमान, विभेद र लैङ्गिक हिंसा भोगेका महिला संसार जुर्मुराएर उठ्यो । हुन त महिला जगतको ठुलै हिस्सा पञ्चायत विरोधी सङ्घर्षमा पहिलादेखि नै सक्रिय थियो । बहुदलीय प्रजातन्त्र आएपछि महिलाहरूको ठुलो सङ्ख्या जुलुस, सभा, सङ्गठन, प्रशिक्षण र महिला अधिकार, मानव अधिकार बारेको अध्ययन जस्ता गतिविधिमा निकै सक्रिय हुन थाल्यो। त्यसले बहुदलीय प्रजातन्त्रलाई संस्थागत गर्न ठुलो सहयोग मिल्यो र चेतना पनि माथि उठ्यो ।
क्रमशः धेरै क्षेत्रमा महिला सहभागिता बढ्न थाल्यो । पुरुष प्रधान समाजमा महिलाहरू प्रतिको बोली वचन र व्यवहारमा पनि तुलनात्मक रूपमा सुधार हुँदै सकारात्मक परिवर्तन आउन सुरु भयो । फेरि पनि व्यवस्थामा आमूल परिवर्तन गर्ने माग लिएर माओवादी हिंसात्मक आन्दोलनमा गयो । यसबीचमा र राजाको प्रतिगमन पनि भयो । फलस्वरूप पुराना संसद्वादी दलहरू र माओवादी बीचको कार्यगत एकताले २०६२–०६३ को जनक्रान्ति भयो । त्यसले महिला सङ्घर्षलाई थप अघि बढायो, महिलाहरूलाई अझ सशक्त बनाउँदै लग्यो । यी सबै आन्दोलनको फलस्वरूप महिलाहरू ठुलै सङ्ख्यामा संविधान बनाउने थलो संविधान सभामा पुगे । राज्यका अनेक निकायहरू निजी क्षेत्रमा पनि महिला उपस्थिति पुरुषसरह नभए पनि उल्लेखनीय रूपमा बढेको छ । देशको राष्ट्रपति, सभामुख, सर्वोच्च न्यायालयको प्रधान न्यायाधीश, प्रदेशको मुख्यमन्त्री बनिसकेको चित्र हाम्रासामु छ । आजको गन्तव्यमा खडा भएर अतीतको प्रस्थान बिन्दुलाई हेर्ने हो भने असाधारण रूपमा महिला आन्दोलनले उपलब्धि हासिल गरेको छ । यद्यपि, नयाँ रूप र ढङ्गले लैङ्गिक हिंसा आज पनि कायम छ र त्यस विरुद्धको सङ्घर्षको निरन्तरताको खाँचो छँदै छ । तर पनि सङ्घर्षकै बलमा प्राप्त हाल सम्मको उपलब्धिले महिला आन्दोलनलाई थप ऊर्जा दिइरहेको हुनुपर्छ ।
यी उपलब्धिहरू हुँदाहुँदै पनि नेपाली महिला संसारमा नयाँ पीडाहरू पनि थपिएका छन् । यसतर्फ पनि ध्यान जानु आवश्यक छ । २०४६ सालको परिवर्तनपछि तेस्रो मुलुक जाने ढोका निकै ठुलो बनाइयो । आज ४० लाखभन्दा बढी सङ्ख्यामा युवाहरू विदेश छन् । परिवारसँग छैनन् । उमेर युवा अवस्था छ, परिवारसँग पति—पत्नी सँगै बस्न पाउने अधिकारबाट वञ्चित छन् । विदेशिनुको पीडा असाध्यै गहिरो हुन्छ । यो पीडा भोगेकालाई नै थाहा हुन्छ । विदेश बसाइका कारण परिवारमा पर्ने अनेक समस्याहरू हुन्छन् । जवान सम्पत्तिहरू लामो समयसम्म अपराकृतिक जीवन बाँच्नु पर्दा त्यसको नकारात्मक प्रभाव मानसिक र शारीरिक दुवैमा परेको हुन्छ ।
अर्को समस्या हो— पुराना महिलाहरूको, जसले पुराना जमानामा भनिने बुहार्तन र विभेद भोगे, राजनीतिक परिवर्तनका लागि भूमिका निर्वाह गरे । आज उनीहरू नयाँ पुस्ताका महिलाहरूद्वारा गरिने हेलाहोचोमा परेको देखिन्छ । अर्थात्, स्पष्ट भन्नु पर्दा हिजो बुहारी हुँदा भोगे र आज सासू हुँदा भोगिरहेका छन् ।
अबको महिला आन्दोलन लैङ्गिक हिंसा विरुद्धको आन्दोलनका साथै महिलाहरूलाई उद्यमशीलता, आर्थिक आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ । उपभोगवादी संस्कृतिबाट माथि उठेर आत्मनिर्भर समृद्ध सांस्कृतिक रूपान्तरणको दिशातर्फ उन्मुख हुनु आवश्यक छ ।
(लेखक सामाजिक अभियन्ता हुनुहुन्छ)
प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार १० : ११ बजे
प्रतिक्रिया