परिवार, समाज र राजनीतिक दललाई हिंसामुक्त बनाउन निरन्तर अभियान आवश्यक : उपाध्यक्ष शाक्य

​​​​​​​​​​​​​​ललितपुर । नेकपा एमालेका उपाध्यक्ष एवम् बाग्मती प्रदेशका पूर्व मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हिंसामुक्त समाज, हिंसामुक्त परिवार र हिंसामुक्त राजनीतिक दल बनाउनका लागि निरन्तर वैचारिक अभियान सञ्चालन गरिरहन आवश्यक रहेको बताउनुभएको छ ।  

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा आज तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा अखिल नेपाल महिला सङ्घले बिहीबार आयोजना गरेको महिला हिंसा अन्त्यका लागि अनेमसंघको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै प्रमुख अतिथि शाक्यले अनेमसंघको निरन्तर पहलका कारण अहिले सरकारले नै निर्णय गरेर महिला हिंसा विरुद्धको १६ दिने अभियान स्थानीय तहसम्मै लैजान सम्भव भएको बताउनुभयो । 

उहाँले महिला दिदीबहिनीहरूमा हाम्रो साथमा अनेमसंघ छ, महिलाको उत्थान र न्यायको लागि आवाज उठाउँछ भन्ने मान्यता स्थापित भएको भन्दै सङ्घले यस्ता अभियान निरन्तर जारी राख्नुपर्ने बताउनुभयो । 

अखिल नेपाल महिला सङ्घका संयोजक एवं पूर्व मन्त्री थममाया थापाको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरूले समाजमा अहिले कुनै न कुनै रूपमा महिला हिंसा जारी रहेको भन्दै हिंसा विरुद्धको अभियान गाउँ–समाज र घर घरमा पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । 

उहाँले हाम्रो समाज परापूर्वकालदेखि नै सामन्ती सोचबाट अगाडि बढ्दै आएको भन्नुहुँदै अझै पनि त्यो सोच कतै न कतै कायमै रहेको बताउनुभयो । 

अहिले पनि महिलालाई दोस्रो दर्जाको रूपमा हेर्ने, महिलाहरूले गरेको कामलाई विश्वास नगर्ने र महिलाहरूले केही गर्न सक्दैनन् भन्ने, महिलाहरूलाई खेलौनाजस्तो सोच अझै पनि समाजमा व्याप्त रहेको भन्नुहुँदै उहाँले त्यही कारण महिलाहरू कुनै न कुनै रूपमा हिंसामा परिरहेको बताउनुभयो । 

उहाँले समाज सचेत नभएसम्म हिंसा अन्त्य नहुने भन्दै त्यसका लागि अभियान जारी राख्नुपर्ने बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा अनेमसंघका संयोजक थापाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा अनेमसंघ इन्चार्ज गोमा देवकोटा, पूर्व इन्चार्ज, राधा ज्ञवाली, निवर्तमान संयोजक सीता पौडेल, एमाले पार्टी स्कुल विभागका सदस्य घनश्याम कोइराला, नेपाल महिला सङ्गठनका प्रतिनिधि सिर्जना रानी वर्मालगायतको  सहभागिता रहेको थियो । 

 

 

 

​​​​​​​

प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार  ७ : ५० बजे