सरकारले सहमति कार्यान्वयन नगर्दा समस्या : विप्लव

किमाथाङ्का – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले सरकारले तीन बुँदे सहमति कार्यान्वयन नगर्दा समस्या भएको बताउनुभएको छ ।

बिहीबार बन्दी कार्यकर्ता भेटघाट गर्न सङ्खुवासभाको खाँदबारी कारागार आइपुग्नु भएका महासचिव चन्दले सरकार सहमति कार्यान्यवनमा उदासिन रहेको आरोप लगाउनुभयो । तीनबुँदे सहमतिप्रति आफू पूर्ण प्रतिबद्ध रहेको बताउँदै उहाँले सरकारले सहमति कार्यान्वयन गर्नेमा आपूm आशावादी रहेको बताउनुभयो । बन्दीगृहका नेता कार्यकर्ता रिहा गर्न सत्तारुढ दलका प्रमुख सकारात्मक भएपनि पहल गर्न कोही अग्रसर नभएको उहाँको भनाइ थियो । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच गत फागुन २० गते तीन बुँदे सहमति भएको थियो ।

बन्दीको रिहाइ र मुद्दा खारेजीका लागि सत्तारुढ दलका प्रमुखसँग पुनःछलफल गर्ने उहाँले बताउनुभयो । नेपाली कांग्रेसमासमेत समाजवादको बहस सुरु भएकाले समाजवाद पक्षका कम्यूनिष्ट पार्टी एक हुनुको विकल्प नभएको उहाँले बताउनुभयो ।

रासस

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ९ : ४० बजे