साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

जलवायु परिवर्तनमा केन्द्रित ‘काठमाडौँ फिल्म फेष्टिवल’

काठमाडौं – ‘काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल’ (किम्फ) को १९औँ संस्करण आजदेखि यहाँ शुरु भएको छ । 

‘जलवायु कर्म’ मुख्य विषयलाई आधार मानेर शुरु फेष्टिवलमा प्रतियोगितात्मकसहित विभिन्न ६३ वटा चलचित्र प्रदर्शन गरिने आयोजक हिमाल एसोसिएसनले जनाएको छ । चलचित्र विकास बोर्डमा आजदेखि शुरु महोत्सव यही २७ गतेसम्म चल्ने छ ।

महोत्सव अन्तरगत नेपाल पानारोमामा १३ वटा फिल्म समावेश गरिएको छ भने अन्तरराष्ट्रिय प्रतिस्पर्धामा ४० वटा चलचित्र समावेश छ । ‘ग्रीन ग्रोथ–ग्रीन रिकभरी’ विषयमा लघु फिल्म तथा ‘कल टु एक्सन’मा टिकटक च्यालेन्ज पनि हुने कार्यक्रममा जानकारी दिइएको थियो । अन्तरराष्ट्रिय प्रतियोगिताबाट उत्कृष्ट तीन र नेपाल पानोरमाबाट उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गरिने जनाइएको छ । 

महोत्सवमा समावेश चलचित्रले जलवायु परिवर्तन र यसबाट मानव जीवनमा परेको असर तथा हिमाली जनजीवनमा परेको असरका विषयमा घच्घच्याउन सहयोग पुग्ने दावी आयोजकको छ । 

    महोत्सवमा फिक्शन, डकुमेन्ट्री, प्रयोगात्मक, छोटा तथा एनिमेशन गरिएका चलचित्र प्रदर्शन हुने कार्यक्रम संयोजक निसिता थापा मगरले जानकारी दिनुभयो । यसपाली प्रत्यक्षरुपमा र अनलाइनसमेतबाट महोत्सवमा समावेश चलचित्र हेर्न सकिने छ ।

अमेरिकी चलचित्रकर्मी काइल रुडिकद्वारा निर्देशित चलचित्र ’ड्रिम माउन्टेन’ प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिएको थियो । प्रमुख वक्ता भारतका पर्यायवरणविद सोनम वाङचुकले मानव जातिका कारण पर्यावरणमा परेको प्रभावप्रति गम्भिरतापूर्वक सोच्ने बेला आएको बताउनुभयो । उहाँले महोत्सवले त्यसलाई उजागर गर्ने आशा व्यक्त गर्नुभयो । 

महोत्सवअनतरगत ‘क्लाइमेट कर्म’को विषयमा छलफलसमेत गराउने तथा फोटोसम्बन्धी प्रशिक्षणसमेत हुने छ । यस्तै महिनावारीसम्बन्धीसमेत छलफल कार्यक्रम राखिएको लिम्बुले जानकारी दिनुभयो । 

फेष्टिवलका एकजना निर्णयक चलचित्रकर्मी अनुप बरालले कतिपय कलाकार यस्तै महोत्सवमार्फत बाहिर आएको उल्लेख गर्दै काठमाडौँ माउन्टेन चलचित्र महोत्सवको छुट्टै महत्व रहेको बताउनुहुन्छ । “यहाँ सामान्य सिनेमा मात्रै छैन, अदभूत सिनेमा हेर्न पाइन्छ”, उद्घाटनसत्रमा बरालले भन्नुभयो, “यसले आफूभित्र फर्किएर जीवनलाई गहिरोरुपमा हेर्न सिकाउने छ ।”  

    नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले विकसित देशको कार्वन उत्सर्जनले हिमाली क्षेत्रमा असर गरिरहेको सन्दर्भ जोड्दै यसले नयाँ सन्देश दिने विश्वास व्यक्त गर्नुभयो । उहाँले बोर्डसमेतले जलवायु, संस्कृति र जीवनलाई जोडेर विषय पस्किने प्रयास गरेको जानकारी दिनुभयो ।

    अन्तरराष्ट्रिय प्रतिस्पर्धातर्फको विजेताले रु दुई लाख, दोस्रो, तेस्रोले क्रमशः रु एक लाख ५० र रु एक लाख पुरस्कार पाउनेछन् । नेपाली पनारोमा अन्तरगतको उत्कृष्ट वृत्तचित्रका लागि रु ७५ हजार र उत्कृष्ट फिक्सनका लागि रु एक लाख पुरस्कार दिइने छ । एक हजार डलरको उत्कृष्ट माउन्टेन फिल्म अवार्ड पनि वितरण गरिनेछ । 

रासस

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ९ : ०१ बजे