कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा विश्वकर्माको उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गर्नुभएको छ । नेता विश्वकर्माले आज पत्रकार सम्मेलन गरी समावेशी (दलिततर्फ) सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । 

नेता विश्वकर्माले कांग्रेसले स्थापनाकालदेखि नै समावेशितालाई जोड दिएको उल्लेख गर्दै दलित समुदायको हकहित र अधिकारका लागि पार्टीमा आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो । “सबै उम्मेदवारको टुङ्गो लाग्न अझै समय लाग्न सक्छ, मैले अहिले आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ”, उहाँले भन्नुभयो । 

विश्वकर्मा कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीसमेत हुनुहुन्छ । कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  २ : ५७ बजे