घटनालाई ३ सय ६० डिग्री घुमाउरो तवरले अनुसन्धान गर्न युवा संघका अध्यक्ष किरण पौडेलकाे माग
भक्तपुर । युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले भक्तपुर जिल्लाका युवा संघ सदस्य राजु श्रेष्ठको हत्या प्रकरणको सत्य तथ्य छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्नु भएको छ । राजु श्रेष्ठ (आर पी ) को हत्या काण्डको सत्य तथ्य पत्ता लगाउन र दोषीलाई कडा कारबाहीको माग गर्न आज आयोजित दबाब मूलक कार्यक्रममा पौडेलले प्रहरीले औपचारिक रूपमा प्रहरीले घटना थामथुम पार्न खोजेको आंशका गर्नुहुँदै त्यसो नगर्न चेतावनी दिनुभयो । उहाँले घटनामा २ जना भन्दा बढीको सम्लग्नता रहेको भन्दै घटनालाई ३ सय ६० डिग्री घुमाउरो तवरले अनुसन्धान गर्न आग्रह गर्नुभयो ।
युवा संघका जिल्ला कमिटी सदस्य श्रेष्ठको मंसिर २१ गते राती सुर्यविनायक नगरपालिका बालकोट स्थित हनुमन्ते पुल नजिकै विभत्स हत्या गरि फ्यालिएको अवस्थामा शब भेटिएको थियो ।
यसैबीच युवां संघ भक्तपुर जिल्ला कमिटिले अपराधिक ढंगबाट आफ्नो कार्यकता हत्या भएको भन्दै घटनाको घोर निन्दा र भत्सर्ना गरेको छ।
भक्तपुर युवा संघका जिल्ला अध्यक्ष पुष्पराज बस्नेतद्वारा हस्ताक्षरित एक विज्ञप्तीमा युवा संघले हत्या जे र जुनसुकै बहानामा गरिएको भएता पनि तत्काल दोषीलाई कडा भन्दा कडा कारबाहीको जोडदार माग गरेको छ ।
देशमा राजनीतिक संकट गहिरिदै जाँदा समाजमा हत्या र बलात्कार जस्ता घटना बढदै जान थालेको भन्दै युवासंघले देशमा शान्तिसुरक्षा र नागरिकको जनधनको सुरक्षाप्रति सरकारको उदासीनता नांगिएको बताएको छ । राजधानीको मुटुमै घटाईएको यस घटनाले नेपाल सरकारको शान्ति, सु–व्यवस्था तथा सम्मान र शान्तिपूर्ण तवरले बाँच्न पाउनुपर्ने नागरिकहरुको मौलिक हकप्रतिको निरीहता र उदासिनता उदागिएको युवा संघले जनाएको छ। युवा संघले समाजका एक असल युवा र राष्ट्रिय संघ नेपालका होनहार योद्धा गुमाउनु परेकोभन्दै दुःख व्यक्त गरेको छ ।
प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार २ : ०४ बजे
प्रतिक्रिया