नेकपा एमालेमा एक–सेएक नेता तथा कार्यकर्ताहरूमा पार्टीको नेतृत्व गर्ने क्षमता नभएको होइन, यसो भनेर सबैले उनीहरूले चाहेको भूमिका नै पाउन सक्छन्, त्यो सम्भव पनि थिएन । जसका कारणले कैयौँ नेता तथा कार्यकर्ताहरू क्षमता भएर पनि नेतृत्वमा पुग्न सकेनन् ।
यसलाई कारण बनाएर अपेक्षित अवसर नपाएकाहरूले पार्टीका विरुद्ध हुने गरी कुनै पनि गतिविधि गर्नु हुँदैन । किनभने पार्टीमा सानो भूमिका पाएर पनि ठुलो योगदान गर्न सक्छु भन्ने चेत र विवेक नेता तथा कार्यकर्ताहरूमा हुनुपर्छ । मलाई त्यही पद र भूमिका नै चाहिन्छ भनेर विरोधीहरूको मनोबल बढाउने काम गर्नु हुँदैन । जिल्ला र प्रदेशको महाधिवेशनमा राष्ट्रिय महाधिवेशनको तुष बोकेर समस्या सिर्जना गर्ने काम कसैले पनि गर्ने छैनन् भन्ने अपेक्षा कार्यकर्ताहरूले गरेका छन् ।
नेकपा एमालेको दशौं महाधिवेशनको उद्घाटन समारोहमा जनता तथा कार्यकर्ताहरूले नेतृत्वको अनुरोध स्विकारेर आफ्नो बलियो उपस्थितिमार्फत पार्टीको शक्ति देखाउन मद्दत पुर्याए भने महाधिवेशन प्रतिनिधिहरूले उच्चस्तरको समझदारी र सहमतिलाई आत्मसाथ गरेर नेतृत्व चयन गर्न सघाए ।
अब निर्वाचित नेतृत्वले उच्चस्तरको समझदारी र विवेक देखाएर पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर अघि बढाउनु पर्छ । कार्यकर्ता तथा जनताका अपेक्षालाई पूरा गर्ने गरी नयाँ नेतृत्व क्रियाशील हुनुपर्छ अनि कार्यकर्ता र जनतालाई आगामी निर्वाचनहरू जित्ने गरी परिचालन गर्नुपर्छ । यसका लागि कार्यकर्ताहरूलाई वैचारिक प्रशिक्षणमार्फत असल र सबल बनाउनु पर्छ ।
नेकपा एमालेलाई एक ढिक्का बनाएर देशको सबभन्दा ठुलो पार्टी बनाउन र राज्य सत्ताको नेतृत्वमा पुर्याउने हो भने नेता तथा कार्यकर्ताहरूमा त्याग गर्ने साहस र किङ मेकरको भावना हुनैपर्छ । पद पाए पनि वा नपाए पनि पार्टीप्रति गर्ने योगदान कम गर्नु हुँदैन । त्यागको भावना देखाउन सक्नुपर्छ । अनिमात्र पार्टी बलियो हुन्छ । ईष्या र कुण्ठा बोकेर न नेता हुन सकिन्छ न त पार्टीलाई नै अब्बल बनाउन । नेता तथा कार्यकर्ताहरूको त्याग र समर्पणले मात्र सम्वृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्नका लागि नेकपा एमालेले जनताबाट अनुमोदित भएर शक्ति आर्जित गर्न सक्छ।
जिल्ला र प्रदेशको महाधिवेशनलाई निर्वाचनको तयारीको रूपमा अघि बढाउनु पर्छ । जित्न सक्ने, जनता र पार्टीप्रति वफादार सक्षम नेतालाई सम्भावित उम्मेदवार बनाएर घरदैलो अभियान व्यापक रूपमा चलाउनु पर्छ । जनतासँगको सम्बन्ध सुमधुर र सहकार्यलाई प्रभावकारी बनाउनु पर्छ । गुट उपगुट सबै छोड्नु पर्छ। अन्यथा आगामी निर्वाचनहरूमा सफलता हासिल गर्न सकिन्न । अब विगतको मनमुटाब छोडेर आफ्नो औकातअनुसारको जिम्मेवार लिन तयार हुनुपर्छ । जनादेशबाट परमादेशलाई विस्थापित गर्ने हो भने लोकप्रिय जनमतबाट जित्न सक्नेले उम्मेदवार र कार्यकर्ताहरूबाट चुनिन सक्नेले पार्टीको नेता बन्न तयार हुनुपर्छ । यतिखेर अर्को विकल्पमा रमाउन खोज्नु आत्मघाती कदम हुनेछ ।
अझै पनि नेकपा एमालेमा अर्को विभाजन ल्याउन सकिन्छ कि भने दशौं महाधिवेशनमा देखिएका केही असन्तुष्टहरूलाई प्रयोग गर्ने प्रयासहरू भइरहेका छन् । ती प्रयासहरूका मुख्य लक्ष्य अब आउने निर्वाचनहरूमा नेकपा एमालेको बलियो उपस्थिति हुन नदिने नै हो ।
यसका लागि माधव कुमार नेपालले नेतृत्व गरेको पार्टीलाई बलियो बनाउनु पर्छ भन्ने रणनीतिका साथ सत्ता पक्षले माहौल तयार गर्न खोज्दै छ। ‘संसद् अवरोधको कुनै औचित्य छैन।’ भन्ने भीमबहादुर रावलको पछिल्लो अभिव्यक्तिले कतै माधव नेपालको पार्टी जोगाएर कम्फर्टेबल सरकार बलियो बनाउने चाल त होइन भनेर प्रश्न गर्नुपर्ने स्थिति बनेको छ । त्यसैले पार्टी चलायमान र जनतासँगको सम्बन्ध मजबुत बनाउन जबजवादी नेता, कार्यकर्ता र शुभचिन्तकहरूको सक्रिय क्रियाशीलता अनिवार्य भएको छ ।
नयाँ मतदाताको नाम नामावलीमा समावेश गर्ने अवसरलाई सदुपयोग गरेर नयाँ पुस्तालाई पार्टीको विचारसँग जोड्नु पर्छ । यसका लागि स्थानीय कमिटीका सदस्यहरूलाई प्रशिक्षित गरेर परिचालित गरिनुपर्छ । यो जनतासँग जोडिने शुभ अवसर हो । यसर्थ विभिन्न माध्यमहरूबाट विचार र कार्यक्रम केन्द्रित बहस र छलफल चलाएर कम्फर्टेबलवादीहरूले छरेका भ्रमहरूलाई हटाएर पार्टीप्रति जनआकर्षण बढाउनुपर्छ ।
प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार १२ : ०२ बजे
प्रतिक्रिया