संसारमा सत्य कति प्रकारका होलान् ? यो आफैमा अमूर्त प्रश्न हो । धेरैले भन्छन्, समय र सन्दर्भ अनुसार सत्य धेरै हुन्छन् । तर, बुद्धले जम्मा चार वटा सत्य साक्षात्कार गर्नुभयो । के हुन् ती चार सत्य ? ती हुन्– दुःख, दुःखसमुदय, दुःख निरोध र दुःख निरोधको मार्ग । हो, यिनै चार सत्यलाई चतुरार्य सत्य भनिन्छ । पालि भाषामा चत्तारि अरिय सच्चानि भनेको पनि त्यही हो । सबैका लागि अविपरीत एवं अकाट्य भएकाले यिनलाई सत्य भनिएको हो । मुक्त हुन क्लेशलाई जित्नुपर्छ । दर्शन मार्गमा प्रवेश गरी दुर्गतिको बाटो सधैँका लागि बन्द गरेको व्यक्ति आर्य हो । त्यस्तो आर्यले यथार्थ रूपमा अनुभव गर्ने सत्य नै आर्य सत्य हुन्छ । बुद्धको उपदेशको केन्द्रीय विषय नै चार आर्य सत्य हो ।
१. दुःख सत्य
बुद्धका अनुसार जन्मनु, वृढो हुनु र मर्नु दुःख हो । रोग र शोकले पीडित भई उदास र हैरान हुनु पनि दुःख नै हो । अप्रिय कुरा भेटिनु र प्रिय कुरा छुट्नु दुःख हो । समग्रमा पञ्चस्कन्ध नै दुःख हो । बुद्धले दुःखलाई तीन किसिमबाट विभाजन गर्नुभएको छ । ती हुन्– दुःखदुःख, वि परिणाम दुःख र संस्कार धर्म दुःख ।
दुःखदुःख
जन्मदेखि मृत्युसम्म प्राणीले अनेकौँ दुःख भोग्दछ । शारीरिक एवं मानसिक दुःखका कारण मान्छे विक्षिप्त बन्छ । कहिले रोगले ग्रस्त हुन्छ । र, दुख्छ । कहिले वृद्धावस्थाका स्वाभाविक समस्या भोग्न विवश हुन्छ । कहिले चाहेको पाइन्न भने कहिले पाएको चाहिन्न । र, दुखी हुन्छ । कहिले आफन्त छुट्छन् त कहिले वरिपरि शत्रुहरू जुट्छन् । त्यसैले झन् दुःखि हुन्छ । एउटा दुःख हटायो अर्को दुःख आइहाल्छ । दुःखको यो निरन्तर शृङ्खला अविरल चलिरहेको हुन्छ । सबैले सहजै बुझ्ने यस्ता दुःख नै दुःखदुःख हुन् ।
विपरिणाम दुःख
दुःखबाट मुक्त हुने चाहना सबैको हुन्छ । यो स्वाभाविक पनि छ । एउटा दुःखलाई हटाउने प्रक्रियाको परिणामस्वरूप अर्को दुःख आउनु वि परिणाम दुःख हो । रोग लाग्छ, औषधि खान्छौँ । त्यसको प्रतिप्रभाव (साइड इफेक्ट) देखिन्छ । गर्मी हुन्छ, विभिन्न उपकरणले बनाएको चिसो खान्छौँ । त्यसले फेरि स्वास्थ्यमा समस्या ल्याउँछ । यी र यस्तै कुरा वि परिणाम दुःखका उदाहरण हुन् ।
संस्कार धर्म दुःख
कारणहरूको सहकार्यले बनेका कुरालाई संस्कार भनिन्छ । संस्कारको वास्तविक स्वभाव नै त्यसको धर्म हो । हामीले सधैँ सुख चाहन्छौँ । दुःख हाम्रा लागि अस्वाभाविक लाग्छ । यो स्विकार्न सक्दैनौँ कि दुःख हरेक वस्तुको स्वभाव हो । सृष्टिका हरेक वस्तु परिवर्तनशील छन् । तिनको गर्भमा दुःख लुकेको हुन्छ । र, तिनले समस्याको स्थायी समाधान दिन पनि सक्दैनन् । तर हामी हरेक कुरा वस्तुको स्वभाव विपरीत अपेक्षा गर्दछौँ । सधैँ नयाँपन, सधैँ सुख र सधैँ एकनास हाम्रा आशाका सिमाना हुन् । तर, त्यसो हुन सर्वथा असम्भव छ । अतः वस्तुको स्वभाव विपरीत अपेक्षा गर्दा पाइने दुःख नै वि परिणाम दुःख हो ।
समस्याबाट डराएर भाग्नुभन्दा समाधानको खोजी गर्नु बुद्धिमानी हो । फलतः बुद्धको यो शिक्षा हाम्रो दैनिक जीवनमा अत्यन्त सान्दर्भिक छ ।
२. दुःखसमुदय सत्य
दुःखसमुदय भनेको दुःखको कारण हो । यति धेरै दुःख के कारणले भइरहेको छ त ? बुद्धको उत्तर छ– तृष्णा । हामीलाई प्रिय कुरा पाउन र जोगाउन मन लाग्छ । जो पनि अप्रिय कुराबाट अलग हुन चाहन्छ । यही तृष्णा हो । नेपालीमा यसलाई तिर्सना भनिन्छ भने पालि भाषामा तण्हा । एकै जन्ममा सबै चाहना पूरा हुँदैनन् । पूरा भएका चाहनाबाट नयाँ तृष्णा पैदा हुन्छ । त्यही तृष्णाको कारणले नै प्राणी बारम्बार जन्म र मरणको चक्रमा पर्छ । यही नै दुःखको कारण हो ।
तृष्णालाई बुद्धले तीन किसिमले विभाजन गर्नुभएको छ । ती हुन्– कामतृष्णा, भवतृष्णा र विभवतृष्णा ।
कामतृष्णा
इन्द्रियद्वारा ग्रहण गरिने वस्तुप्रतिको तिर्सना कामतृष्णा हो । प्रिय लाग्ने रूप, शब्द, स्वाद, गन्ध र स्पर्शको खोजीमा नै प्राणी भौँतारिइरहेको हुन्छ । त्यस्ता विषयको उपभोग गरिसकेपछि बारम्बार तिनलाई पाउने चाहना बढ्छ । हाम्रो सम्पूर्ण जीवन तिनै विषयको खोजी र पूर्ति गर्दागर्दै सकिन्छ । कति भोगिएका हुन्छन्, कति भर्खरै थालिएका हुन्छन् त कति योजनामा हुन्छन् । यही दौडधुपको बीचमा मृत्यु आउँछ ।
भवतृष्णा
भवको सामान्य अर्थ हो— संसार । यही संसारमा रमाइरहने चाहना धेरैको हुन्छ । सामान्य अवस्थामा त यो जायज पनि हो । तर अवश्यम्भावी मृत्युलाई स्वीकार गर्न नसक्नु चाहिँ तिर्सना हो । सन्निकट मृत्युको ज्ञान हुँदाहुँदै पनि व्यक्ति त्यसलाई स्वीकार गर्न चाहन्न । आफू बाँचेको परिवेशप्रति मनमा आसक्ति भइरहनु नै भवतृष्णा हो । यो पनि दुःखको कारण मानिएको छ ।
विभवतृष्णा
भव तृष्णाको उल्टो विभवतृष्णा हो । जीवन र संसारप्रति वितृष्णा पैदा हुनु पनि एक किसिमको तृष्णा हो । केही कुरामा अरूचि वा घृणा भएपछि त्यसलाई निमिट्यान्न पार्ने सोच आउँछ । जब त्यसो गर्न व्यक्ति असमर्थ हुन्छ, त्यतिबेला आत्महत्याको बाटो समेत रोज्न पुग्दछ । विभव भन्नाले सम्पत्ति पनि बुझिन्छ । भौतिक सुखको मात्र रहर हुनु पनि विभवतृष्णा हो । यसैका लागि मानिसले अनेक कर्म गर्दछ । त्यही क्रममा बढ्दै गएको आकाङ्क्षाका कारण व्यक्तिले दुःख प्राप्त गर्दछ ।
काम, भव र विभवतृष्णाको कारणले नै दुःखको उत्पत्ति हुन्छ । लक्षणका आधारमा पनि तृष्णा तीन किसिमको हुन्छ– मोह, राग र द्वेष । मोह भन्नाले अज्ञान बुझिन्छ । अज्ञानका कारण प्रिय लाग्ने कुराप्रति हुने आसक्ति राग हो । अप्रिय कुराप्रति टाढा रहने चाहना द्वेष हो ।
३. दुःख निरोध सत्य
निरोधको अर्थ हो— रोक्नु । दुःखलाई रोक्नु नै दुःख निरोध हो । दुःखलाई रोक्न यसको कारणलाई नरोकी हुँदैन । तृष्णा दुःखको कारण हो । अतः तृष्णालाई निर्मूल गरेपछि दुःखबाट मुक्ति मिल्छ । मकैको बोट उम्रिन बिउसहित हावा, पानी, प्रकाश, माटो सबै चाहिन्छ । मुख्य कारण भएकोले बिउ हेतु हो भने अरू सबै प्रत्यय हुन् । सृष्टिका सबै कुरा हेतु–प्रत्ययद्वारा उत्पन्न हुन्छन् । दुःखका हेतु–प्रत्यय क्लेश र कर्म हुन् । तिनको बन्धन तोडिएमा दुःख स्वतः हराउँछ । यही नै वास्तविक सुखको अवस्था हो । यो अवस्थालाई निर्वाण भनिन्छ । निर्वाणको अवस्था नै पूर्णतः दुःख निरोध भएको अवस्था हो ।
४. दुःख निरोधको मार्ग
निर्वाणसम्म पुर्याउने बाटो दुःख निरोधको मार्ग हो । यसका आठ अङ्गहरू हुन्छन् । सम्यक् दृष्टि, सम्यक् सङ्कल्प, सम्यक् वचन, सम्यक् कर्मान्त, सम्यक् आजीव, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि । यिनै आठ अङ्गहरू भएको हुनाले यो मार्गलाई अष्टाङ्गिक मार्ग भनिएको हो । यसलाई मध्यम प्रतिपद् पनि भनिन्छ । यही नै आर्य अष्टाङ्गिक मार्ग पनि हो ।
जीवनमा हामीलाई विभिन्न समस्याहरू आइपर्छन् । समस्याको पछाडि कुनै खास कारण पनि हुन्छ । कारण पत्ता लगाएर समस्याको समाधान पनि गर्न सकिन्छ । समाधानका लागि सही उपाय अपनाउन सकियो भने समस्या सहजै सुल्झिन्छ । त्यसैले, समस्याबाट डराएर भाग्नुभन्दा समाधानको खोजी गर्नु बुद्धिमानी हो । फलतः बुद्धको यो शिक्षा हाम्रो दैनिक जीवनमा अत्यन्त सान्दर्भिक छ ।
(लेखक अध्येता तथा अभियन्ता हुनुहुन्छ, पत्रकारिता गर्नुहुन्छ ।)
प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार १० : १२ बजे
प्रतिक्रिया