सुनको मूल्यमा नयाँ कीर्तिमान

पर्यटन प्रर्वद्धनका लागि शैलुङमा मिनी ग्रेटवाल

दोलखा । दोलखाको प्रशिद्ध पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवद्र्धनका लागि मिनि ग्रेटवाल निर्माण सुरु भएको छ । दोलखाको शैलुङ गाउँपालिका–९ मा पर्ने शैलुङ डाँडासम्म जान शैलुङ् वेसक्याम्प मानिने कालापानीदेखि शैलुङडाँडासम्म मिनि ग्रेटवाल निर्माण गर्न थालिएको हो । 

 महत्वपूर्ण पर्यटकीय क्षेत्र शैलुङ डाँडामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सङ्घीय सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा शैलुङडाँडासम्म करिब ५०० मिटर लामो मिनि ग्रेटवालको निर्माण गर्न लागिएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले बताउनुभयो । 

 दोलखाको शैलुङ गाउँपालिकाको शैलुङ क्षेत्रमा मिनि ग्रेटवाल निर्माण गर्न रु पाँच करोड लागत व्यवस्था गरिएको छ । कूल लागतमा सङ्घीय सरकार अन्तर्गत संस्कृित पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको रु तीन करोड ५० लाख छ भने शैलुङ गाउँपालिकाले रु एक करोड ५० लाख रकम लगानी गरेको छ । पाँच सय मिटर कालापानी मिनी ग्रेटवालको गत सोमबार गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले शिलान्यस गर्नुभयो । यो वालको निर्माण एक वर्षभित्र गरिने छ । 

 दोलखा र रामेछापको सिमानामापर्ने शैलुङडाँडा पहाडको टाकुरामा साना ठूला सय ओटा थुम्का मिलेर बनेको छ । हरेक समय पर्यटकको मन लोभ्याउने शैलुङडाँडा समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा छ । गाउँपालिकाले त्यस क्षेत्रको विकासका लागि गुरुयोजना निर्माण गरी धमाधम पर्यटन पूर्वाधार निर्माण गरिरहेको छ । गाउँपालिकाले हाल कालापानीसम्म सडक निर्माण गरिसकेको छ भने कालापनीदेखि शैलुङडाँडासम्म पुग्न प्रदेश सरकारको सहयोगमा पदमार्ग निर्माण गरिसकेको छ ।

 पर्यटनको प्रचुर सम्भावना बोकेको शैलुङ क्षेत्र प्रचारप्रसारको अभावमा ओझेलमा रहेकामा पछिल्लो समय आन्तरिक पर्यटकको केन्द्रको रुपमा विकास हुँदै गएको छ । यातयातका माध्यमबाट शैलुङको वेसक्याम्प कालापानीसम्म पुगी दुई घण्टाको पैदलयात्राबाट शैलुङडाँडाको भ्रमण गर्न सकिन्छ । 

प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार  ४ : ११ बजे