कर्णाली शब्द सुन्ने बित्तिकै सबैको दिमागमा आउने केही कुराहरू हुन — सङ्घीय राजधानीबाट, देशका मुख्य सहरहरूबाट, सरकारको नजरबाट विकट अर्थात् धेरै पर छ, पिछडिएको छ, गरिबीले थिचिएको छ, भोकमरीले आक्रान्त छ, महामारीले सधैँ सताइएको छ, भौगोलिक रूपमा दुर्गम छ, अशिक्षाले बेरिएको छ, बेरोजगारीले व्याप्त छ आदि, आदि !
हामी सबैले सुनेको, पढेको, पढाइएको कर्णालीको परिचय यस्तै हो । यस लेख मार्फत कर्णालीको परिचयलाई राज्यको तर्फबाट, राजनैतिक पार्टीहरूको तर्फबाट, नेता—कार्यकर्ताहरूको तर्फबाट शिक्षित भनिएका लेखक—बुद्धिजीवीहरूको तर्फबाट, एनजीओ र आइएनजीओहरूबाट गलत व्याख्या गरिएको हो । यसो गर्नु कर्णालीप्रति धोका हो । जब परिचय नै गलत दिइन्छ भने उसको सकारात्मक पक्षमा बहस कसरी हुन्छ ? त्यस क्षेत्रको विकाश कसरी हुन्छ ? विकासका प्रयासहरू सकारात्मक कसरी हुन्छन् ? कर्णाली अहिले आम मान्छेले भन्ने गरेको जस्तै साँच्चै गरिब छ त ? साँच्चै बिकट मात्रै छ त ? साँच्चै बेरोजगारी र पीडाहरूले भरिएको मात्रै छ त ? साँच्चै कर्णाली महामारीको केन्द्रबिन्दु नै हो त ? साँच्चै कर्णालीमा सधैँ भोकमरी मात्रै हुन्छ त ?इतिहासमा कर्णाली कहिल्यै पनि सबल थिएन त ? कर्णालीको इतिहास नै भिखारी हो त ? यस लेखमा यिनै प्रश्नहरूको उत्तर केलाउने प्रयास गरेको छु ।
कर्णाली परिचय गलत प्रचार कोबाट कसरी भयो ?
पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुभन्दा पहिले नेपालका बाइसे—चौबिसे राज्यहरू मध्यको एक शक्तिशाली राज्य हो— कर्णाली । कर्णाली नेपाली भाषाको जननी हो । कर्णाली नेपाल एकीकरण हुनुभन्दा पहिला तत्कालीन टुक्रे राज्यहरूमध्ये अन्तर्राष्ट्रिय सम्बन्ध र व्यापार सुरुवात गर्ने राज्य हो । नेपालका इतिहासविद्हरू, लेखक—प्राध्यापकहरू सबैले स्वीकार गरेको एउटा तथ्य के हो भने नेपाल एकीकरण हुनुभन्दा पहिले तिब्बतसँग वस्तु विनिमय सुरुवात गरेर अन्तर्राष्ट्रिय सम्बन्धको पाइला चाल्ने एक शक्तिशाली राज्य कर्णाली हो ।
खस साम्राज्यका नामले परिचित त्यति बेलाको कर्णाली कस्तो थियो ? एउटै लेख मार्फत सबै कुरा प्रस्तुत गर्न सम्भव छैन । छोटकरीमा यति मात्र भनौँ— कर्णाली अर्थात् तत्कालीन खस साम्राज्य कमजोर थिएन, भिखारी थिएन, अहिलेको जस्तो गरिबीको अर्को नाम थिएन । पक्कै पनि बेरोजगारीले व्याप्त थिएन, किनभने कर्णालीमा अहिले पनि कपास खेती लगायत थुप्रै परम्परागत खेती र हाते औजार चलन चल्तीमा छन् । यद्यपि यी थोरै मात्रा र थोरै स्थानहरूमा खुम्चिएका होलान् । कर्णालीको विगत गौरव गर्न लायक थियो । वर्तमान धमिलो छ, तर भविष्य पक्कै पनि उज्यालो हुनेछ । प्रश्न उठ्छ— कर्णाली किन बिकट हुँदै गयो ? किन गरिबीले घेरिँदै आयो ? कसरी अनेक बाधा—व्यवधानको दुष्चक्रमा फस्यो ?
कर्णालीमा जे जति छ, जोगाउनु पर्ने छ । विस्तार गर्नुपर्ने छ । अनि भन्नुपर्ने छ, ‘कर्णाली गरिब होइन, धनी छ । आउनुहोस्, कर्णालीसँग सहकार्य गरेर अरू पनि धनी बन्नुहोस् ।’
धरै अगाडि जानै पर्दैन । मुलुकमा जनयुद्ध नामको द्वन्द्व सुरु हुनुभन्दा पहिला कर्णालीमा एनजीओ—आइएनजीओको यति बढी विस्तार भएको पाइँदैन थियो । खाद्यान्नमा आत्मनिर्भर थियो । जनता कृषि कर्ममा सन्तुष्ट नै थिए । जब युद्ध सुरु भयो, कर्णालीका सोझासाझा नवजवानहरूलाई सशस्त्र हिंसात्मक द्वन्द्वमा सहभागी हुन बाध्य पारियो । यसले कृषि उत्पादन घट्दै गयो ।
युद्धमा जानबाट बालकदेखि युवासम्म कसैले रोक्न सकेन । त्यति बेला कर्णाली राज्यको पहुँचमा थिएन भन्ने अवस्था थियो । जब हिंसात्मक द्वन्द्व समाप्त भयो, कर्णालीमा एनजीओ—आइएनजीओको बाढी नै आयो । जनतालाई घर—घर, दैलो—दैलोमा चामलका बोरा पनि बाँडियो । शान्ति र विकासका नाममा अनेकौँ तालिम, गोष्ठी आदि अनेकौँ कार्यक्रमहरू भए । जनतालाई कृषि कर्ममा लाग्नभन्दा राजनैतिक नारा, एनजीओको अनुदानले आकर्षित गर्यो ।
कर्णाली विकट, दुर्गम भएको देखाएर अन्तर्राष्ट्रिय निकायहरूबाट डलर भित्र्याउने अनि सीमित व्यक्तिहरू धनी हुने जनतालाई परजीवी बनाउने क्रमले तीव्रता पायो त्यसैले भन्छु कर्णालीको अहिलेको परिचयलाई प्रचार गर्ने र वास्तविक परिचयलाई गुमराहमा पार्ने मूलतः एनजीओ—आइएनजीओरू नै हुन् ।
कर्णालीलाई भिखारीको उपमा दिलाउनेमा त्यहाँका राजनीतिकर्मी र नेता—कार्यकर्ता हुन् । काठमाडौँमा र अन्य विकसित जिल्लाहरूमा एउटा मान्यता नै बनिसकेको रहेछ, दुर्गम ठाउँमा, गाडी नपुगेको ठाउँमा पुग्ने बित्तिकै ‘यो त काठमाडौँको कर्णाली पो रहेछ, काभ्रेको कर्णाली पो रहेछ, दोलखाको कर्णाली पो रहेछ यस्तै यस्तै ।’ केही समय अगाडि काभ्रेको महाभारत गाउँपालिका पुगेको पुग्दा यस्तै भएको थियो । गाडी चढ्न लाई पाँच घण्टाको पैदल यात्रा गर्नुपर्ने भयो । साथीहरू भन्दै थिए, ‘यो त काभ्रेको कर्णाली पो हो त ।’ यस्ता भनाइ धेरै सुनिन्छ, सुनिएको छ ।
कर्णालीका अगुवाहरू जहाँ जान्छन्, राजधानीमा नेता, कर्मचारीलाई या अन्यलाई जो कोहीलाई भेट्दा भन्ने पहिलो कुरा हुने रहेछ, ‘दुर्गम छ आउन—जान गाह्रो छ, भोकमरी छ’ आदि आदि !
एउटा लेख लेख्न, अध्ययन गर्न, गोष्ठीमा भाग लिन, तालिम दिन या घुम्न कर्णालीको कुनै जिल्लाको सदरमुकामसम्म पुग्ने, कर्णाली सम्बन्धी पछिल्लो समयमा लेखिएका पुस्तकहरू पढ्ने, समाचार पढ्ने अनि आफ्ना लेखहरू मार्फत या बहस मार्फत या सजिलै कर्णालीका बारेमा नकारात्मक चित्र उकेरिदिने गरिन्छ । वास्तवमा हाम्रा लेखक बुद्धिजीवीहरू घुमेको कुनै जिल्लाको सदरमुकामभन्दा कयौँ गुणा फरक छ कर्णाली । त्यसैले, कर्णालीको सकारात्मक र उज्यालो विषय लेखौँ, बोलौँ । यहाँको मौलिकता देशको सम्पदा हो भन्ने बुझौँ र बुझाऔँ ।
के कर्णाली साँच्चै अहिले प्रचार भए जस्तै छ त ?
पक्कै पनि छैन । कर्णाली अहिले पनि कला, गला, इतिहास, प्राकृतिक स्रोत—साधनले सम्पन्न छ । त्यहाँ अधिकांश जनता कृषि कर्ममा अहिले पनि छन् । साँचो अर्थमा भन्नुपर्दा पुरै नेपालले आफ्नो परिचय फेरेको छ, परम्परागत अनेकौँ चलन हराउँदै गएको छ तर कर्णालीले आफ्नोपन जोगाइराखेको छ । कर्णालीमा अहिले पनि पानी घट्ट चल्छन् । बन्चरोले काठ फोरिन्छ । मुसलले ओखलमा धान कुटिन्छ । हातले बुनेका लुगा लगाइन्छ । ऊनबाट बनेका त्यहाँका लुगा परम्परागत मात्रै हैन प्रख्यात पनि छन् । भुओ, भैलो, मागल, चम्फालगायत अनेकौँ चाडपर्व मनाइन्छ । मुख्य कुरो कर्णाली अनेकौँ जडीबुटीको खानी हो ।
कर्णालीका अगुवाहरू जहाँ जान्छन्, राजधानीमा नेता, कर्मचारीलाई या अन्यलाई जो कोहीलाई भेट्दा भन्ने पहिलो कुरा हुने रहेछ, ‘दुर्गम छ आउन—जान गाह्रो छ, भोकमरी छ’ आदि आदि !
सिङ्गो नेपाललाई पुगेर पुरै एसियाभरिका मान्छेलाई पिउन पुग्ने पानी छ । सिङ्गो नेपाललाई पुग्नुभन्दा पनि विश्वलाई नै उज्यालो गर्न पुग्ने गरी विद्युत् उत्पादन गर्ने मिल्ने खोला—नाला छन् । संसारमै लोप भइसक्यो भनिएका वनचौरी छन् । एक तोलाको लाखौँमा बिक्ने ‘बीना’ पेटमा बोकेर कुद्ने कस्तुरी छन् । नाउर, झारल, डाँफे, मुनाल, मृग छन् । बाह्रै महिना हिउँको घुम्टो ओढेर हाँसिरहने हिमालहरू छन् । झरनाहरू छन् । नेपालबाटै लोप हुनै लागेका रैथाने अन्नहरू फापर, चिनु, कागुनु, उवा, लाँफल, लगायतका बालीनालीहरू अहिले पनि फल्छन् ।
एक हातले ‘जय नेपाल’, ‘लाल सलाम’ या ‘हेलो—हाई’ भन्न सिकाइँदैन । कर्णालीमा अहिले पनि दर्जा अनुसारका ढोगबेट गरिन्छ । जदौ भनिन्छ, झौद्य, पाइलागौँ आदि शब्द हराएका छैनन् ।
कर्णालीका मान्छे खानका लागि खेती गर्छन् । लुगा लाउनका लागि भेडाको ऊन प्रयोग गर्छन् । बालबच्चालाई पढाउन—लेखाउन खर्च जुटाउन कोही काला पहाड (भारत) जान्छन् त कोही गलैँचा व्यापार गर्न सिङ्गो नेपाल धाउँछन् । पशु पाल्छन्, पोर्सो(मल) गर्छन् । आधुनिक (विकासे) मल हाल्दैनन् । जे फलाउँछन्, अर्ग्यानिक(प्राङ्गारिक) फलाउँछन् । मात्राको हिसाबले कमी पक्कै भएको छ, आत्मनिर्भर हुने जुक्ती कर्णालीमा अहिले पनि जिउँदो छ । रहन—सहनमा पुरै आत्मनिर्भर नहोला, तर आफ्नो इतिहास जोगाएको छ । आफ्नोपनको झुल्को समेत बाँकी नरहेको नेपालमा मौलिक ढंगको आत्मनिर्भरताको उदाहरण मात्रै भए पनि जोगाइराखेको कर्णालीले मात्रै हो । अनि यही कर्णाली गरिब ? के आफ्नोपन गुमाउनु नै समृद्धि हो ?
अहिले पनि कर्णालीमा जडीबुटीले उपचार गरिन्छ । महामारीलाई जडीबुटीको उपचार ले जितिन्छ । यद्यपि, त्यो सबै ठाउँमा नहोला तर कर्णालीमा परम्परागत आयुर्वेदिक उपचार पद्धति जिउँदो छ । दुनियाँ आधुनिक चिकित्सा पद्धतिलाई जोखिमयुक्त भन्दै आयुर्वेदतिर लम्किरहेको छ, छिमेकी चीन र भारतले आयुर्वेदलाई आधुनिक चिकित्सा पद्धतिलाई भन्दा बढी महत्त्व दिन थालिसकेका छन् । अनि हामी त्यही आयुर्वेद उपचार पद्धति जोगाउने कर्णालीलाई भिखारी भन्दैछौँ ।
सिङ्गो नेपाललाई अङ्ग्रेजी शिक्षाले निल्नै थालेको छ, तर कर्णालीमा नेपाली माध्यम शिक्षाको एक मात्रै पठन—पाठनको माध्यम छ । विकसित ठाउँका सरकारी स्कुलमा विद्यार्थी रित्तिँदै छन्, निजी स्कुलहरूमा प्रतिस्पर्धा विद्यमान छ । तर अङ्ग्रेजी शिक्षा दिने नाउँमा खोलिएका कर्णालीका निजी स्कुलले विद्यार्थी नपाएर लगानी डुबाएका छन्, सरकारी विद्यार्थीहरूमा विद्यार्थी भरिभराउ छन् ।
अन्यत्र कतै नभएका अनेकौँ परम्परागत प्रथाहरू कर्णालीमा छन् । यी सबै कर्णालीका सम्पदा हुन् । काठमाडौँमा प्रतिकिलो ३०० देखि ५०० सम्म र अमेरिका युरोपमा २००० देखि २५०० सम्ममा बिक्ने मार्सी कर्णालीमा फल्छ । कर्णालीमा खिचिएको ‘क्याराभान’ फिल्म ओस्कर अवार्डको फाइनल नामाङ्कनमा पुगेको छ । ‘कालो पोथी’लाई दुनियाँले हेर्छ । मात्रै कर्णालीप्रतिको नजरिया फेर्न जरुरी छ । कर्णालीमा जे जति छ, जोगाउनु पर्ने छ । विस्तार गर्नुपर्ने छ । अनि भन्नुपर्ने छ, ‘कर्णाली गरिब होइन, धनी छ । आउनुहोस्, कर्णालीसँग सहकार्य गरेर अरू पनि धनी बन्नुहोस् ।’ कर्णालीमा केही यस्ता वस्तु छन्, जो कहिल्यै सकिने छैनन् । कर्णालीमा केही यस्ता परम्परागत शैली छन्, जो अन्यत्र कहीँ पनि छैनन् ।
कर्णालीको विगत साँच्चै गर्व गर्न लायक छ, अध्ययन गर्न लायक छ, जो अन्त छैन । हामीले बोल्ने नेपाली भाषा पहिलो पटक बोलिएको ठाउँ हो— कर्णाली । सबैभन्दा अग्लो यारी भञ्ज्याङ् भएको ठाउँ हो कर्णाली । स्वर्गको टुक्रा भनेर चिनिएको रारा कर्णालीमा छ । से फोक्सुण्डो यहीँ छ । संसारमै अग्लो दाबी गरिएको मानव बस्ती छ कर्णालीमा छ । कर्णालीसँग युद्धमा भोगेका पीडाहरू पनि धेरै नै छन् । युद्धका घाउहरू पनि बाक्लै छन् । कर्णालीमा नेपालीपन छ । गाउँमा जानुहोस् खानाको पैसा लिनु पाप मान्छन् कर्णालीवासीहरू । पाहुनालाई देउता समान मानिन्छ । सहयोग त कर्णालीका जनताको रगतमा छ, नसा—नसामा छ । फलफूल लटरम्म छन्, किन्न पर्दैन ।
कर्णालीको परिचय गरिब हैन । कर्णालीको परिचयको अँध्यारो पाटो देखाइएको छ । उज्यालो पाटो लुकाइराखिएको छ । अब कर्णालीको परिचय जोगाउनु उठाउनु छ । कर्णालीको आफ्नोपनलाई बिग्रन नदिई विकास गर्नुपर्ने छ । कर्णालीलाई चिनौँ र भनौँ—कर्णाली गरिब हैन, धनी रहेछ । कर्णालीमा बेरोजगारी हैन, स्वरोजगारी रहेछ ।कर्णाली विकट हैन, निकट रहेछ ।
प्रकाशित मिति : २२ मंसिर २०७८, बुधबार ९ : ०९ बजे
प्रतिक्रिया