ओमिक्रोन संक्रमितको सम्पर्कमा आएका ६६ जनाको रिपोर्ट नेगेटिभ

काठमाडौं । नेपालमा पहिलो पटक दुईजनामा कोरोनाको नयाँ भेरियन्ट ‌ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको जानकारी दिएको हो।

संक्रमित व्यक्ति दुवै विदेशी नागरिक हुन्। जसमा ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्ति रहेका छन्। ६६ वर्षीया विदेशी नागरिक गत मंसिर ३ गते अफ्रिकी मुलुकबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार परीक्षणमा पोजेटिभ रिपोर्ट आएकाहरुको एस जीन परीक्षण गर्नुपर्ने सरकारको रणनीतिअनुसार परीक्षण गर्दा दुवै जनाको नमूनामा एस जीन फेला परेको थिएन।

लगत्तै केन्द्रीय प्रयोगशाला टेकुमा जीन सिक्विन्सिङ गर्दा रिपोर्ट पोजेटिभ आएको हो। उनीहरुको सम्पर्कमा आएका ६६ जनाको पीसीआर परीक्षणका क्रममा सबैको नतिजा नेगेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार  ३ : २१ बजे