चितवन । चितवनको इच्छाकामना गाउँपालिका–१ का बासिन्दालाई अन्तरघर प्रतिस्पर्धा गराएर पुरस्कार वितरण गरिएको छ । स्थानीयवासीको घर, स्वास्थ्य, शिक्षा, सरसफाइलगायतका विषयमा प्रतिस्पर्धा गराएर पुरस्कार वितरण गरिएको हो ।
‘सबै यात्राको सुरुआत एउटा सपनाबाट हुन्छ’ परिकल्पनाका आधारमा इच्छाकामना गाउँपालिका–१ का ५७० परिवारबीच आन्तरिक प्रतिस्पर्धा गराइएको थियो । पैँतीसदेखि ६५ परिवारलाई एउटा कलस्टर मान्दै वडा नं १ मा ११ क्लस्टर निर्माण गरी ‘सपना भिलेज सोसियल इम्प्याक्ट’ले प्रतिस्पर्धाका आधारमा पुरस्कार वितरण गरेको हो । प्रति कलस्टर पाँच जनाका दरले ११ कलस्टरबाट ५५ परिवारलाई पुरस्कृत गरिएको संस्थाका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो ।
पहिलो हुनेलाई रु १६ हजार, दोस्रोलाई रु १२ हजार, तेस्रोलाई रु १० हजार, चौथोेलाई रु सात हजार र पाँचौंलाई रु पाँच हजार प्रदान गरिएकोे थियो । फलफूलखेती र बाख्रापालन गर्ने उत्कृष्ट किसानलाई रु १६ हजारका दरले पुरस्कार प्रदान गरिएको छ । स्थानीयवासीलाई हरेक ६ महिनामा आन्तरिक मूल्याङ्कनका आधारमा पुरस्कार प्रदान गरिँदै आएको गिरीले बताउनुभयो ।
एघारवटै कलस्टरमा सहजकर्ता राखिएको छ । उनीहरुले गाउँमा पुगेर सहजीकरणका साथै मूल्याङ्कन गर्छन् । सपना भिलेजका परियोजना अधिकृत अनिल अर्यालले स्थानीयवासीको आयआर्जनलाई प्राथमिकता दिँदै उनीहरुमा उत्प्रेरणा जगाउने काम गर्नुका साथै उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्ने गरिएको बताउनुभयो । इच्छाकामना–१ मा ९५ प्रतिशतभन्दा बढी चेपाङ समुदायको बसोबास छ । संस्थाले बोयर जातको ब्याडे बोका, सुन्तला, कागतिलगायत फलफूलका बिरुवासमेत वितरण गर्दै आएको छ ।
प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार २ : २१ बजे
प्रतिक्रिया