युवा पुस्ताको उदासिनताका कारण छन्त्याल भाषा लोप हुँदै

म्याग्दी । म्याग्दीमा बसोबास गर्ने अल्पसङ्ख्यक छन्त्याल समुदायको पुख्र्यौली छन्त्याल भाषा सङ्कटमा परेको छ । छन्त्याल समुदायका युवा पुस्ताले आफ्नो मौलिक भाषा सिक्न र संरक्षण गर्न नसक्दा नासिने खतरा बढेको हो ।

 बोलीचालीमा अत्यन्त कम प्रयोग गरिए पनि लिपि नपाइएको हुँदा छन्त्याल खाम भाषा पुस्तान्तरण हुन नसकेपछि लोप हुने अवस्थामा पुगेको रघुगङ्गा गाउँपालिका– ६ ठाडाखानीका ८३ वर्षीय युवबहादुर छन्त्यालले बताउनुभयो । उहाँका अनुसार बूढापाकाले बोले पनि नयाँ पुस्ताका बालबालिका र युवायुवतीले आफ्नो भाषा बोल्न छाडेका छन् ।

लिपि र शब्दकोश प्राप्त गर्न नसक्नु र आधुनिकताको प्रभावका कारण नयाँ पुस्ताले आफ्नो मातृभाषा प्रयोग गर्न सङ्कोच मान्नु तथा बसाइँसराइ जस्ता कारणले भाषा लोप भएको उहाँको भनाइ छ ।

“भाषा जानेका र बोल्न रुचि राख्ने बूढापाका मेटिँदै गए, युवापुस्ता आफ्नो पुख्र्यौली पेसा छाडेर विदेश वा सहरमा बसाइँ सरे, उनीहरुले आफ्नो भाषा बोल्न छाडे”, छन्त्यालको बाहुल्यता रहेका गुर्जाका अगुवा कमल छन्त्यालले भन्नुभयो, “लिपि र शब्दकोशसमेत नभएकाले पुराना पुस्तासँगै छन्त्याल भाषा पनि नासिने खतरा छ ।”

 नेपाल छन्त्याल सङ्घ म्याग्दीका अनुसार २०६८ को जनगणनाअनुसार नेपालका १९ जिल्लामा ११ हजार ८१० छन्त्याल समुदायको जनसङ्ख्या छ । छन्त्याल समुदाय सबैभन्दा बढी म्याग्दी र बागलुङमा छन् । कुल छन्त्याल समुदायको सङ्ख्या मध्यम्याग्दीमा ७०।२ र बागलुङमा ३५।४१ प्रतिशत छ । 

 नेपाल छन्त्याल सङ्घ म्याग्दीका सचिव मन छन्त्यालका अनुसार विभिन्न जातजातिको मिश्रित बसोबास, सहर तथा विदेशप्रतिको मोह, विदेशी भाषा सिक्ने आकर्षण र विद्यालयमा अङ्ग्रेजी तथा नेपाली भाषामा मात्र पठनपाठन हुने जस्ता कारणले छन्त्याल भाषा लोप हुन लागेको हो ।

 म्याग्दीको धवलागिरि गाउँपालिकाको गुर्जा, मल्कवाङ, मच्छिम, रघुगङ्गाको ठाडाखानी र कुइनेमङ्गलेमा छन्त्याल समुदायको बसोबास रहेको छ । जनगणनाको पछिल्लो प्रतिवेदनअनुसार कूल जनसङ्ख्यामध्ये ३६।२७ प्रतिशतले आफ्नो मातृभाषा बोल्ने गर्छन् । छन्त्याल समुदायको बसोबास भएको बस्तीका विद्यालयमा मातृभाषामा पठनपाठन गर्ने तयारी गरेको रघुगङ्गाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  २ : ०९ बजे