साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

पत्रकार पराजुलीको ‘मोम्चो कथासङ्ग्रह’ सार्वजनिक

चितवन । कथाकार एवं पत्रकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ सार्वजनिक भएको छ । 

भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ समसामयिक कथा समावेश गरिएको छ ।

अक्षर समूह चितवनको संयोजनमा भूँडीपुराण प्रकाशनद्वारा आज यहाँ आयोजित कार्यक्रममा किशोरी रमिता चेपाङले कृति सार्वजनिक गर्नुभयो । 

विशेष गरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका विविध समस्यालाई जीवन्त र सजीव रूपमा उतारिएको छ । 

साथै  पितृसत्तात्मक समाजका कारण नारीले भोग्नुपरेका समस्या र सङ्घर्ष मार्मिक रूपमा सरल भाषामा प्रस्तुत गरिएका छन् । 

वरिष्ठ पत्रकार पराजुलीले यसअघि ‘कुमाता’ कथा सङ्ग्रह प्रकाशित गरिसक्नुभएको छ  । सो कृति अहिले तेस्रो संस्करणमा प्रकाशित हुने क्रममा रहेको बताइएको छ । 

कार्यक्रममा कृतिमाथि वरिष्ठ साहित्यकार  श्रीओम श्रेष्ठ ‘रोदन’ले समीक्षा गर्नुहुँदै ‘मोम्चो’ कथा सङ्ग्रहभित्रका कथाले समाजमा विद्यमान नारीले भोग्नुपरेका समस्या, गर्नुपरेका सङ्घर्ष र पितृसत्तात्मक समाजको परिणामस्वरूप सिर्जित नारी समस्यालाई सशक्त रूपमा उठान गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “कथाको दम कथाकारितासँगै कथा शक्तिमा पनि उत्तिकै जोडिएको छ ।” आख्यानकार अश्विनी कोइरालाले सरल भाषामा नारी वेदनालाई कथाले जीवन्त रूपमा प्रस्तुत गरेको बताउनुभयो । पुस्तकका लेखक पराजुलीले मोम्चो शीर्ष कथाबाट कृतिको नामकरण गरिएको बताउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले सञ्चारकर्मी पराजुली साहित्य विधामा पनि सशक्त रूपमा कलम चलाउन थाल्नुभएको टिप्पणी गर्नुभयो । 

भूँडीपुराण प्रकाशन प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले भन्नुभयो, “कथाकार वसन्तका कथा नारीवादी हुन्छन् । नारीका व्यथा र चित्कारलाई यथार्थ प्रस्तुत गरिएका हुन्छन् ।” अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितले पत्रकारितासँगै साहित्य क्षेत्रमा कथाकार पराजुलीको कलम सशक्त रूपमा चलेको उल्लेख गर्नुभयो । 

कार्यक्रममा महिला अभियानकर्मी मीना खरेल, अक्षर समूहका कोषाध्यक्ष माया गुरुङ र लेखराम सापकोटालगायतले कथासङ्ग्रहका बारेमा चर्चा गर्नुभएको थियो । 

वरिष्ठ सञ्चारकर्मी पराजुली  लामो समयदेखि ‘गोरखापत्र दैनिक’का चितवन जिल्ला समाचारदातामा कार्यरत हुनुहुन्छ । उहाँ तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ । 

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  १० : ४३ बजे