नागुङगाउँ सडक सञ्जालले जोडियो

रसुवा । जिल्ला सदरमुकाम नजिकै रहे पनि भौगोलिक विकट रहेको नागुङगाउँ सडक सञ्जाल जोडिएको छ । 

लामो समयको प्रयासपछि यस वर्ष उपभोक्ता समितिमार्फत गोसाईंकुण्ड गाउँपालिकाले कृषि सडक निर्माण गरी नागुङवासीको सपना पूरा गरेको हो ।

शनिवार गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङलगायत स्थानीय तहका नेता तथा कार्यकर्ता चढेको सरकारी सवारी साधन नागुङगाउँमा पुग्दा स्थानीयवासीले स्वागत गरेका थिए । 

सो अवसरमा गाउँपालिका प्रमुख तामाङले जनताको चाहना र आवश्यकतालाई दृष्टिगत गरी कृषि सडकको ट्र्याक खोल्ने काम सम्पन्न भएको र सडकका बीच भागमा पर्ने खोलाको पुल एवं नाली निर्माणलगायत कालोपत्रे गर्ने काम बाँकी भएकाले थप व्यवस्थापनका लागि आफूले सहयोग गर्दै जाने बताउनुभयो ।

सदरमुकामबाट तीन घण्टा पैदल यात्रा गर्नुपर्ने नागुङगाउँमा मोटर बाटो निर्माणपश्चात्  अब २० मिनेटमा पुगिने जनाइएको छ । स्थानीयवासी   छिरिङसाङ्वो तामाङनले नागुङगाउँ सडक सञ्जालसँग जोडिएकामा खुसी व्यक्त गर्नुभयो । 

धुञ्चेबाट चार किलोमिटरको छोटो दूरी रहे पनि उकाली, ओराली र भिरपहरा भएका कारण पैदल यात्रासमेत निकै कठिन थियो । 

गोसाईंकुण्ड गाउँपालिकाको रु ५० लाख अनुदान र स्थानीय बासिन्दाको रु चार लाख बराबर जनश्रमदानबाट निर्माण भएको सो कृषि सडकबाट ५० घर परिवारलाई यातायातको सुविधा पुगेको बताइन्छ । लक्षित कार्य योजना अनुरूप सो सडकमा गाउँपालिकाले गत वर्षबाटै केही लगानी गरी यस वर्ष पूरा गराएको हो ।

दश वर्ष अगाडिबाट निर्माण सुरु भएको प्रयास बल्ल पूरा भएको नागुङवासीले जनाएका छन् ।  सडक निर्माणबाट कृषि उपज बजारमा पुर्‍याउन, विकास निर्माण एवं खाद्यान्न सामग्री ढुवानी गराउन र बिरामी पर्दा एम्बुलेन्स झिकाउन अत्यन्तै सहज समेत भएको उनीहरूले बताएका छन् । 

अगामी दिनमा सडक मर्मत सम्भारलाई विशेष ध्यान दिइने स्थानीयवासी  ग्यालदोर्जे तामाङले बताउनुभयो । रासस

प्रकाशित मिति : १९ मंसिर २०७८, आइतबार  ७ : १८ बजे