सुनको मूल्यमा नयाँ कीर्तिमान

रामनगरमा व्यावसायिक माछा पालन सुरु 

धरान । बेलका नगरपालिकालाई माछामा आत्मनिर्भर बनाउने उद्देश्यले उदयपुरको बेलका नगरपालिका–२ स्थित रामनगरमा व्यावसायिक माछा पालन सुरु गरिएको छ । 

बेलका माछा सहकारी संस्था दर्ता गरेर नगरपालिकाको साझेदारीमा व्यावसायिक रूपले माछा पालन गर्न थालिएको  हो । 

कोशी नदीको किनारमा खाली रहेको १४६ बिघा  जमिन नगरपालिकासँग भाडामा लिएर गत वैशाखदेखि माछा पालन सुरु गरिएको संस्थाका अध्यक्ष अशोक कार्कीले जानकारी दिनुभयो ।

हाल ३३ वटा पोखरी बनाई ३ लाख २८ हजार माछाका भुरा छाडिएको उहाँले बताउनुभयो । अहिले दुई केजीसम्मका माछा भइसकेको र विक्री गर्न पनि थालिएको छ । 

प्रदेश सरकारको रू ४५ लाख र सहकारीको रू ५५ लाखको लगानीमा फार्म सुरु गरिएको हो । 

उदयपुरमा माछा जोनको कार्यक्रम परेकाले यस अघिदेखि व्यावसायिक रूपले माछा पालन गर्दै आउनु भएका कार्कीको सक्रियतामा बेलका नगरमा माछा फार्म खोलिएको सहकारी संस्थाका सदस्य शरद कोइरालाले बताउनुभयो । 

कृषि पर्यटनको केन्द्र बनाइने
बेलका नगरको सदरमुकाम रामपुरबाट करिब चार किमी दक्षिणपूर्वमा रहेको कोशी टप्पु क्षेत्रलाई कृषि पर्यटकीय गन्तव्य बनाउने गरी काम थालिएको छ । 

निकट भविष्यमा ७००बिघा जमिनमा ५० वटा पोखरी बनाउने तयारी गरिएको छ । उक्त पोखरी वरपर फन पार्क, कर्टेज निर्माण, र बोटिङसमेत गर्न मिल्ने गरी डिपिआर गर्न लागिएको अध्यक्ष कार्कीले जानकारी दिनुभयो । 

“कोशीको किनारलाई प्रदेश कै आकर्षक गन्तव्य बनाउन हामी लागेका छौँ । यसमा प्रदेश सरकार र स्थानीय सरकारको सहयोग रहेको छ,” उहाँले भन्नुभयो, “यहाँ पाइने बँदेल, हरिण, मृग, अर्नालगायत अन्य जङ्गली जन्तु अवलोकन गर्न सकिने छ । पर्यटकहरूलाई यही उत्पादन भएको माछा, अन्य सागसब्जी खुवाएर बिदा गर्छौ ।” 

पर्यटकहरूलाई धेरै दिनसम्म राख्न प्राङ्गारिक खानेकुरा मात्र पाउने घर बास, होटल र स्विमिङ पुल निर्माणको तयारी थालिएको छ । विशेष गरी माछाका परिकारहरू बनाउने र माछाका सुकुटी विदेश निर्यात गर्ने गरी व्यवसाय थालिएको अध्यक्ष कार्कीले बताउनुभयो ।  

यहाँ कोशी किनारबाट सूर्योदय हेर्न, कोशी टप्पु वन्यजन्तु आरक्ष वरपर रहेका हरिण, मृग, बँदेल, अर्नाजस्ता जनावर देख्न सकिन्छ ।  यस क्षेत्रमा ठुलो मात्रामा ऐलानी जमिन छ । 

कोशी कटानबाट बनेको समथल भूभागमा विभिन्न जिल्लाबाट आएका कृषकहरूले भैँसी पालन र कृषि पेसा गर्दै आएका छन् । यहाँ उत्पादन भएका तरकारी उदयपुर, र सुनसरीका बजारमा बिक्री हुँदै आएको छ । रासस

प्रकाशित मिति : १८ मंसिर २०७८, शनिबार  १२ : ३१ बजे