नेकपा (एमाले) ले आयोजना गरेको दशौँ राष्ट्रिय महाधिवेशनको ध्यान अन्यत्र डाइभर्ट गर्न थुप्रै उपायहरू रचिएका थिए । एकातिर नेकपा (माओवादी केन्द्र) का आजीवन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मेरो क्षेत्रमा एमालले आफ्नो महाधिवेशन गर्दै एमालेबाहेकको शक्तिलाई चुनौति थोपरिरहेको त्रास–संत्रासमय हल्ला फिजाइरहेका थिए भने अर्कोतिर जुनकुनै हिसावले पनि एमाले नेता डा. भीमबहादुर रावल दशौँ राष्ट्रिय महाधिवेशनपछि एमालेको अध्यक्ष हुनेछन्, कार्यकर्ताले चुन्नेछन् र फराकिलो मतान्तर लिएर नेता रावल अध्यक्ष पदको जिम्मेवारीमा चुनिनेछन् भनेर परस्पर सहकार्य र सहमतिमा हुने महाधिवेशनको मर्ममाथि जबरजस्ती प्रहार गरिरहेका थिए । वास्तवमा यी दुबै ध्रुबबाट पटकपटक अभिव्यक्त कर्कसका स्वरहरू, रोदन र चित्कार मिश्रित गीतगायनका लयहरू र स्यालहुँइयाँहरू आफैमा स्वभाविक अभिव्यक्ति मात्र होइन, निकै प्रायोजित थिए, रहस्यअनुसार अनुबन्धित थिए, नियोजित थिए र पर्यवेक्षकीय रिमोर्टबाट नियन्त्रित थिए ।
महाधिवेशनको विशाल उद्घाट समारोह ऐतिहासिक पवित्र नारायणी नदिको किनारमा भएको थियो । सलहझैँ उपस्थित अभूतपूर्व नागरिकले एमालेसँग यहाँ साटेको उत्साहबाट अत्यन्तै उत्साहित महाधिवेशनको महत्त्वपूर्ण कार्यक्रम– बन्द–प्रतिनिधिसत्र चितवनको पर्यटकीय क्षेत्र सौराहामा भएको थियो । महाधिवेशनको हर्षोल्लास लिएर एमालेको घुइँचो त्यहाँ पुग्दा मिठो आतिथ्यता पस्कन आतुर चितवनको सौराहा क्षेत्र– माओवादी अध्यक्ष प्रचण्डले भनेजस्तो प्रतिनिधिसभा निर्वाचन क्षेत्रका दृष्टिकोणले उसको क्षेत्र होइन रहेछ, जुन कुरा उनी पटकपटक भन्दै आएका थिए । एउटा बालहठ भएको दम्भी स्वभावका नेता रावलको उम्मेदवारी पनि एउटा स्वभाविक घटनाको रूपमा विकास भयो । अध्यक्ष पदका आकांक्षी नेता रावल मात्र भएका कारणले यसलाई बहुसंख्यक कार्यकर्ता पंक्तिले सामान्य ढंगले लिए, अन्यथा लिएनन् । निवर्तमान अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक–बैचारिक नेतृत्व, यसभित्र अटाउन सक्नेसम्मको सदाशयता, राजनीतिक समायोजनको प्रश्नभित्र नेतृत्वको व्यवस्थापन र विद्यमान चुनौतिहरू चिन्न र चिर्न सक्ने नेतृत्व निर्माणको प्रयासलाई प्रभावहिन बनाउन खोजियो । परस्पर सहकार्य र सहमतिको अनवरत् प्रयास तुहिएसँगै महाधिवेशनको माहौल निर्वाचनतर्फ अघि बढ्यो । कार्यकर्ताले अनाहकमा केहीबेर दुःख पाए, अनिँदो अवस्थामा सास्ती काटे र आँखा मिच्दैमिच्दै मतदान गरे । परिणामतः नेता रावल अध्यक्ष पदका उपविजेताका रूपमा छानिए र चिनिए ।
मूल नेतृत्वविरुद्धको प्रहारसँग जोडिएको महाधिवेशनविरोधी जे प्रायोजित हल्ला थियो, नियोजित गतिविधिहरू थिए र परिचालित रिमोर्ट नियन्त्रित अभिव्यक्तिहरू जसरी–जसरी आइरहेका थिए, क्षणभरमै पानीका फोकासरह भए, फोका पल्टिएका सतहमा पोखिएसँगै विलय भए । न आफ्नो क्षेत्र दावी गरेका प्रचण्डको रुञ्चे अभिव्यक्तिले महाधिवेशनको माहौललाई कजमोर बनाउन सक्यो, न अध्यक्ष पदका शसक्त दावेदार नेता रावलले निर्वाचनको परिणामलाई आफ्नो पोल्टा पार्न सके ! राजनीतिक मुद्दा र संगठनात्मक जिम्मेवारीबोध सहितको राजनीतिक जीवनयात्रामा अब क्रमशः घर न घाटका भएका दुई पात्रहरू देखिँदा फरकफरक अनुहार र बान्कीका देखिने भए पनि पात्रवत् प्रवृत्ति विशेष गुणका हिसावले एउटै अस्थिर अभिव्यक्तिको कित्तामा उभिन, जोडिन र टाँसिन पुगे ।
भनिन्छ– फल लागेकै वृक्षमा झट्टि बढी हानिन्छ । दल विभाजन भए पनि, अदालतको बुइँ चढेर सरकारबाट बाहिरिएको भए पनि यो देशको सर्वाधिक ठूलो दल एमाले भएका कारणले यतिबेला सर्वत्रबाट एमालेमाथि झट्टि हानिएको छ । यो दूरासयपूर्ण छ । यति हुँदाहुँदै पनि नारायणघाटको नारायणी नदी किनारमा आयोजित मंसीर १० गतेको त्यो भव्य उद्घाटन समारोहमा उपस्थित विशाल जनसागरले महाधिवेशनप्रति गरेको अपेक्षालाई सदाशयतापूर्वक लिन सकिन्छ । यस्तो भव्य र सभ्य महाविधेशनबाट निर्वाचित नेतृत्वलाई खोट लगाउन अहिले फेरि ओलीवेशन र अलोकतान्त्रिक नाउँका अनुचित् र अवाञ्छित शब्द–उच्चारण र अभिव्यक्तिहरू मौलाएको कतिपय छापाहरूमा देख्न पाइन्छ ।
अदालतको प्रवेशपछि ध्रुवीकृत हुने खतरामा रहेको नेपाली राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थिति, प्रभाव र भूमिकालाई सामाजिक जागरण, प्रगतिशील परिवर्तन र रुपान्तरणका पक्षमा मैदानमै डटेका सम्पूर्ण लोकतान्त्रिक र राष्ट्रवादी शक्तिले समेत मियोको रूपमा ग्रहण गर्दैै आएका छन् भने गैरराजनीतिक अभ्यासमा अग्रसरता लिएको गठबन्धन शक्तिलाई एउटा ध्रुवमा उभ्याउने तयारी भइरहेको छ ।
यस्तो बेलामा एमालेको नवीकृत नेतृत्वलाई विकृत तुल्याउनु, खोट लगाउनु, दोष थोपर्नु, एमालेलाई फुटाउनु र एमालेको राजनीतिक–बैचारिक पूंजी जनताको बहुदलीय जनवादलाई छिन्नभिन्न पार्नु एकमात्र अभिष्टता देखिन्छ । कहिल्यै सम्मेलन अधिवेशन गर्नु नै नपर्ने पार्टीका आजीवन अध्यक्षदेखि लिएर आन्तरिक जीवनको व्यवस्थापनमा गोलीबारुद्ध खर्चन सक्नेहरू समेत एमाले नेतृत्वलाई अलोकतान्त्रिक अभ्यासको उपज हो यो अहिलेको एमाले नेतृत्व भन्दै आएको छ । परस्पर संवाद, सहकार्य र सहमतिय अभ्यास लोकतान्त्रिक आचरणका चरणबद्ध प्रक्रियाहरू हुन् भन्नलाई समेत हिचकिचाहट मानिरहेको छ । परस्पर सर्वसम्मति लोकतान्त्रिक मूल्यमान्यताभित्र पर्दैैन र ? सहमति नभएका पद र मर्यादाक्रमअनुसारका ठाउँम चुनाव पनि भएको छ । यो आफैमा लोकतान्त्रिक अभ्यास होइन र ? यो उन्नत स्तरको लोकतान्त्रिक अभ्यास र आचरण हो त, होइन र ? हो भने एमालेभित्र कहाँ हावी भयो अधिनायकवाद ? कसरी भयो ओलीवेशन ? कसरी भयो अलोकतान्त्रिक अभ्यास ? कसरी देखियो दम्भ र अहंकार ? कहाँबाट गिरेको छ साख ? भन्नका लागि भन्ने र तर्कका लागि कुतर्क अघि सार्नाले अभ्यासमा र आचरणमा लोकतन्त्र समृद्ध र समुन्नत हुन सक्दैन ।
मुख्यतः कम्युनिष्ट पार्टीमा बिचारको बहसको किनारा लगाउन वा बिचारअनुरुप सो बिचारको नेतृत्व गर्न आन्तरिक निर्वाचन हुने सामान्य र स्थापित विधि हो । यसपटक महाधिवेशनमा कुनै बिचारको बहस थिएन । घोषित रूपमा बिचारबाट बिचलित थिएन, कसैमा बिचलन थिएन । बिचार प्रतिस्थापन थिएन । बरु यसको थप बढी व्यवस्थापन गर्नु थियो । खोजविन र अध्ययनअनुन्धान गर्नु थियो । बिचारको निरुपण सिद्धान्ततः विधान महाधिवेशनबाट नै नेतृत्व निर्वाचनको महाधिवेशन राजनीतिक बैचारिक हिसावले निर्देशित थियो, गाइडेड थियो । जनताको बहुदलीय जनवादको आलोकमा नेपाली समाजको काँचुली फेर्ने र समाजवादको आधार निर्माण गर्ने संकल्प पास भएको थियो ।
यो संकल्पलाई बोकेर हिड्ने नेतृत्व चाहिएको थियो । महाधिवेशनले यसका लागि परस्पर सहकार्य र सहमति खोज्यो । शतप्रतिशत प्रतिनिधिको मनोविज्ञान चुनाव नभइदिए हुन्थ्यो भन्ने थियो । तथापि, चुनाव भयो । प्रतिनिधिले चाहेअनुसार परिणाम आयो । दोस्रोपटक राजनेता केपी शर्मा ओली अध्यक्षमा आउनुभयो । एमालेविरोधी शक्तिहरू तिल्मिलाए । वैरीको वैरित्वभावमा आवाजहरू गुञ्जन थाले, यत्रतत्र पोखिन र कानकानमा ठोकिन थाले । भएको यतिमात्र हो । भन्न कसैलाई गाह्रो होला तर पनि साँचो के हो भने नेपालमा आन्तरिक लोकतन्त्रलाई अवलम्ब गर्ने, प्रयोगबाटै यसलाई बलियो बनाउने र पूर्णतः लोकतान्त्रिक अभ्यास गर्ने पहिलो पार्टी भनेको नेकपा (एमाले) नै हो । निर्वाचित अध्यक्ष कमरेड केपी शर्मा ओलीकै नेतृत्वमा अन्तरपार्टी लोकतान्त्रिक अभ्यास अनिवार्य अवलम्बन भयो । पार्टीभित्रको केन्द्रीकृत सत्तालाई बहुपदमा लैजाने र आम कार्यकर्तालाई कुनै न कुनै कमिटी प्रणालीअन्तर्गत पूर्णतः जिम्मेवार बनाउने कामको अगुवाइ उहाँले नै गर्नुभयो । कसैले ओलीबेशन भने पनि, कसैले ओली नेतृत्व अलोकतान्त्रिक भने पनि मूलतः यो उहाँप्रतिको पूर्वाग्रहबाहेक केही हुन सक्दैन । जहाँ नेपाली, त्यहाँ एमाले उद्घोष सहित संगठनात्मक सञ्जाल निर्माण र व्यवस्थापनका दृष्टिकोणले पनि सदृढ र समृद्ध एमाले सक्ने धृष्टताबाहेक केही हुन सक्दैन ।
प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार ४ : ०८ बजे
प्रतिक्रिया