अमेरिकामा कोभिड–१९ खोपका मोबाइल केन्द्रहरू सञ्चालन गरिँदै 

वासिङ्टन अमेरिका । संयुक्त राज्य अमेरिकाले एकै ठाउँमा परिवारले कोभिड–१९ को खोप र बुस्टर डोजहरू प्राप्त गर्न सक्ने ठाउँहरू उपलब्ध गराउन देशभर सयौँ पारिवारिक खोप क्लिनिकहरू सुरु गर्न लागेको छ ।

यसबारे राष्ट्रपति जो बाइडेनले बिहीबार जानकारी दिँदै भन्नुभएको छ – “आज म घोषणा गर्दैछु कि हामी देशभर सयौँ नयाँ पारिवारिक खोप क्लिनिकहरू सुरु गर्दैछौ । यी केन्द्रहरूले सम्पूर्ण परिवारलाई एकै ठाउँमा खोपहरू प्रदान गर्नेछन्।  जहाँ बच्चाहरूले खोप लिन सक्नेछन्, अभिभावकहरूले खोप लिन सक्नेछन् र उनीहरूले पहिलो वा दोस्रो मात्रा वा बुस्टर शटहरू पनि लिन सक्नेछन् ।”

राष्ट्रपति बाइडेनले राष्ट्रिय स्वास्थ्य संस्थानमा टिप्पणीको क्रममा भन्नुभयो- ''क्लिनिकहरू सामुदायिक स्वास्थ्य केन्द्रहरू र अन्य विश्वसनीय स्थानहरूमा अवस्थित हुनेछन् । यसैगरी केही ठाउँमा मोबाइल क्लिनिक पनि सञ्चालन गरिनेछन् ।''

राष्ट्रपति बाइडेनद्वारा कोभिड-१९ विरुद्ध लड्न र जाडो महिनाहरूमा नयाँ ओमिक्रोन भेरियन्ट बढ्ने सम्भावनालाई मध्यनजर गर्दै त्यो विरुद्ध लड्न सङ्घीय सरकारको विशेष योजनाको रूपमा यो घोषणा गरिएको हो । रासस–एएनआई–स्पुतनिक

 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ९ : ५७ बजे