सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

राप्रपाको नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदै, थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्व चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।  

मतदाताको विवाद टुङ्ग्याएको राप्रपाले आज मतदाता नामावलीमाथि दाबी विरोध पश्चात् उम्मेदवारी दर्ता हुनेछ । 

निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार बिहान साढे ११ देखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय सीमा तोकिएको छ। मनोनयनको नाममाथि दाबी विरोध, अन्तिम नामावली प्रकाशन पनि आज नै हुने र शनिवार मतदान हुने उहाँले बताउनुभयो  ।

महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् । 

आगामी कार्यकालका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा हुनुहुन्छ । उपाध्यक्षका उम्मेदवार विक्रम पाण्डेको नाम दुवै प्यानलमा छ ।

थापाको प्यानलबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान र रोशन कार्की उम्मेदवार हुनुहुन्छ । महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तीकुमारी शाही चुनाव लड्दै हुनुहुन्छ ।

लिङ्देन प्यानलको उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठ उम्मेदवार बन्नुहुने भएको छ । महामन्त्रीमा धवलशम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापा उम्मेदवार बन्दै हुनुहुन्छ ।

अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ । 

उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मेसिनमा उम्मेदवारको नाम सेटिङ गर्न कम्तीमा २० घण्टा समय लाग्ने बताइएको छ ।

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ८ : ३९ बजे