अपाङ्गता भएका व्यक्तिको सहज पहुँचका लागि सरकार क्रियाशील छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले अवरोधरहित वातावरणमा अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगार, सहभागिता, सामाजिक सुरक्षा र पुनः स्थापना सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ ।

अपाङ्गता भएका व्यक्तिहरूको ३०औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले कोभिड–१९ को महामारीका कारण अपाङ्गता भएका व्यक्तिहरूको रोजगार तथा जीवनयापन अझ धेरै प्रभावित भएको उल्लेख गर्नुभएको छ । 

उहाँले अपाङ्गता भएका व्यक्तिलगायत सबै सीमान्तकृत समुदायका आवश्यकता र समस्यालाई विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले अपाङ्गता भएका व्यक्तिहरूले भोगिरहेका भौतिक दृष्टिकोणजन्य, कानुनी र सञ्चारमा रहेका अवरोध न्यूनीकरण गरेर सम्मानपूर्वक, स्वावलम्बी, आत्मनिर्भर जीवनयापन गर्न पहुँचयुक्त वातावरण निर्माण गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ । 

अपाङ्गता भएकै कारण स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिलाई डाइफर क्याथेटर जस्ता सामानको लागि यो सरकारले मासिक रु पाँच हजार सुविधा निर्णय गरेको छ भने अपाङ्गताको गाम्भिर्यताको आधारमा अन्य अपाङ्गता भएका व्यक्तिहरूलाई पनि सुविधा वृद्धि गरेको छ ।

उहाँले दिवसले यस क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था र सम्बन्धित सबै सरोकारवालालाई अपाङ्गता भएका व्यक्तिको हित र अधिकारको प्रवर्द्धनमा एकीकृत रूपमा प्रभावकारी कार्यक्रम लिई अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । 

प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार  ७ : ३३ बजे