‘एउटै नाउरको सिकार गर्न २३ लाख’

एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिँदै

गोदावरी । एशियाली विकास बैंकको ऋण अनुदान सहयोगमा कैलाली र कञ्चनपुरका गरी चारवटा स्थानीय तहमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण गरिने भएको छ । 

क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत कैलालीको धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका, कञ्चनपुरको भीमदत्त र शुक्लाफाँटा नगरपालिका गरी चारवटा नगरपालिकामा उक्त केन्द्र निर्माणको काम अघि बढेको हो । सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीले ती स्थानीय तहमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्थान छनोट गरेर डिपिआर तयार गरी वातावरण प्रभाव मूल्याङ्कन स्वीकृतका लागि विभागमा पठाएको छ । वातावरण मन्त्रालयले सो प्रतिवेदन स्वीकृत गरेर आएपछि निर्माणको प्रक्रिया सुरु गरिने सङ्घीय आयोजना कार्यान्वयन एकाइ धनगढीका प्रमख प्रविन शाहले जानकारी दिनुुभयो ।

धनगढी उपमहानगरपालिका–७ मा निर्माण हुने एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रको डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृत भएर बोलपत्र आह्वान भइसकेको छ । सोको लागत अनुमान रु एक अर्बको रहेको जनाइएको छ । कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडा सामुदायिक वनभित्र एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि डिपिआर र वातावरणीय प्रभाव मूल्याङ्कनको काम सम्पन्न भइसकेको छ । मन्त्रालयले सो स्थानमा केन्द्र निर्माणका लागि पुनःवातावरणीय प्रभाव मूल्याङ्कन गर्न भनेपछि सो काम पनि सम्पन्न गरी मन्त्रालयमा पठाइएकोे आयोजना प्रमुख शाहले बताउनुभयो । गोदावरीमा बन्ने सो केन्द्रको लागत अनुमान रु ६० करोड रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ३ : ४४ बजे