छठको पहिलो दिन आज नहाय खाय

माओवादी पालिका अधिवेशन : झापा र काभ्रेका पालिकामा नेतृत्व सर्वसम्मत

काठमाडौं । झापाको तीनवटा पालिका मेचीनगर, कनकाई र झापामा नेकपा (माओवादी केन्द्र)को नेतृत्व चयन भएको छ । मेचीनगर र कनकाई नगर कमिटीको अध्यक्षमा राजन चिमरिया र यामनाथ सेढाईँ सर्वसम्मत चयन हुनुभएको छ भने झापा गाउँपालिकाको अध्यक्षमा रुद्र बजगाईँ चयन भएका हुन् ।

पार्टीले शनिबार देशैभर नगर तथा गाउँपालिकास्तरीय अधिवेशन आयोजना गरेको थियो । जिल्लाका १५ पालिकामध्ये दुई नगर र एक गाउँपालिकामा नयाँ नेतृत्व चयन भइसकेको र अरु पालिकामा अधिवेशन उद्घाटन भएता पनि नेतृत्व चयन हुन बाँकी रहेको पार्टीका जिल्ला सचिवालय सदस्य माधव अर्यालले जानकारी दिए ।

त्यस्तै काभ्रेको अधिकांश पालिकामा नेतृत्व सर्वसम्मत भएको छ । शनिबार सम्पन्न पालिका सम्मेलनअन्तर्गत काभ्रेपलाञ्चोकका १३ वटै पालिकाअन्तर्गत केहीमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएका छन् । केही पालिकाको भने नेतृत्व चयनका क्रममा बन्दसत्र जारी छ । 

महाभारत गाउँपालिकामा कान्छालाल जिम्बाका अध्यक्षतामा ५५, खानखोला गाउँपालिकामा अविरल जिम्बाको नेतृत्वमा ५१ ,कोसीपारिस्थित भुम्लु गाउँपालिकामा प्रेम बहादुर भुजेल (बृहत)को अध्यक्षतामा ५०, रोशी गाउँपालिका डिल्लीप्रसाद रेग्मीको अध्यक्षतामा ५५ सदस्यीय र बेथानचोक गाउँपालिकामा तारा राना तिमल्सिनाको अध्यक्षमा ५० सदस्यीय नयाँ कमिटी चयन गरिएको छ ।  

 यसैगरी मण्डनदेउपुर नगरपालिकामा निरञ्जन विष्ट (दीप)को अध्यक्षतामा ६५ ,पाँचखाल नगरपालिका कमिटीमा चेतप्रसाद गौतम (मणि)को अध्यक्षतामा ६१ ,नमोबुद्ध नगरपालिका  मिन्टु लामाको अध्यक्षतामा ६५ सदस्यीय कमिटी पनि चयन गरिएको छ ।  यसैगरी तेमाल गाउँपालिकामा कमिटी चयन गर्न बाँकी छ । आज बस्ने छलफलले पदाधिकारी टुङ्ग्याउने जनाइएको छ ।  धुलिखेल नगर कमिटीले पनि सम्मेलनको बन्दसत्रबाट ६५ जनाको कमिटी चयन गर्न बाँकी  छ ।

कोसीपारिस्थित चौरीदेउराली गाउँपालिकाको आज बन्दसत्र सुरु हुने जनाइएको छ । बनेपा नगर कमिटीको शनिबार उद्घाटन सत्र सम्पन्न गरी बन्दसत्र स्थगन भएको पार्टीले जनाएको छ भने पनौती नगर कमिटीको उद्घाटन सम्पन्न भएपछि आज बन्द सत्र सुरु भएको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ९ : ५९ बजे