(तत्कालीन समयमा बहुदलीय जनवाद भनिएको यस दस्तावेजलाई पाँचौँ राष्ट्रिय महाधिवेशनले जनताको भन्ने शब्द थपेर जनताको बहुदलीय जनवाद बनाई कार्यक्रमका रूपमा पारित गरेको थियो । बितेका २६ वर्षमा कम्युनिष्ट आन्दोलन मात्र नभई नेपाली राजनीतिमा यसको बेस्सरी प्रयोग भएको छ । यसलाई नेकपा (एमाले)को मार्गदर्शक सिद्धान्तका रूपमा ग्रहण गरिएको अवस्था छ नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन सुरु भएको छ । यद्यपि, यस महाधिवेशनमा पहिलेझैँ यी दस्तावेजहरूमाथि छलफल हुनेछैन, किनभने पार्टीले यसअघि नै नीति तथा विधिमाथि केन्द्रित विधान महाधिवेशन आयोजना गरी सम्पन्न गरिसकेको छ । तथापि, यो मार्गदर्शक सिद्धान्त नै भएको र नेतृत्व निर्माणका सन्दर्भमा समेत उपयोगी हुन सक्ने भएको हुँदा यहाँ प्रकाशन गरिएको हो ।)
१. विषय प्रवेश ने.क.पा. (एमाले) को राजनीतिक कार्यक्रम बहुदलीय जनवाद हो । यसको तात्पर्य बहुदलीय प्रतिस्पर्धा भएको राजनीतिक शासन प्रणालीसहितको जनवादी राज्यसत्ता हो । बहुदलीयता र जनवाद दुईवटा शब्द यसमा संयोजित छन् । बहुदलीयता शासन प्रणालीलाई व्यक्त गर्नको निम्ति राखिएको शब्द हो । प्रजातान्त्रिक शासन व्यवस्थालाई अभिव्यक्त गर्नको निमित्त यी दुवै शव्द अपरिहार्य छन् । तिनलाई समन्वित, संयोजित गरेर एउटा एकीकृत व्यवस्थाको रूपमा प्रस्तुत गर्न हामीले बहुदलीय जनवाद भनेका छौँ । पार्टीले अघि सारेको यो दृष्टिकोण माक्र्सवाद–लेनिनवाद विपरीत छ, नयाँ जनवादी कार्यक्रमको विरुद्ध छ भनेर यसबेला व्यापक प्रचार हुन थालेको छ । कम्युनिष्ट–आन्दो लनभित्रका जडसूत्रपन्थीहरू मात्र होइन, पार्टी पंक्तिभित्रै संगठित भएका तर क्रान्तिकारी पार्टीको पद्धति र अनुशासन पालन गर्न नचाहने तत्वहरू पनि, बहुदलीय जनवादको विरोध गर्ने बुर्जुवा तथा प्रतिगामी शक्तिहरू पनि एमाले नयाँ जनवाद विरोधी भयो, यसले माक्र्सवाद छाड्यो भनेर स्वरमा स्वर मिलाउँदै छन् । यस्ता बेग्लाबेग्लै विचार, दृष्टिकोण र रङ्ग भएका तत्वहरू एमालेको विरोध गर्न हाल एकजुट भएका छन् । यस्तो राजनीतिक वातावरणमा पार्टीका केही इमानदार कार्यकर्ता, सदस्य, सहयोगी र समर्थकहरू बहुदलीय जनवादको सवालमा भ्रम, अन्यौल तथा द्विविधाको मनस्थितिमा अलमलिएका छन् । के साँच्चै बहुदलीय जनवाद नयाँ जनवाद विरोधी कार्यक्रम हो ? के साँच्चै बहुदलीय जनवाद माक्र्सवाद–लेनिनवाद विरोधी विचार, दृष्टिकोण हो ? यी सवालहरूलाई मध्यनजरमा राखेर बहुदलीय जनवादको बारेमा छलफल चलाउनु यसबेला अत्यन्त समसामयिक भएको छ ।
२. बहुदलीय जनवाद र नयँ जनवादमा तात्विक भिन्नता छैन बहुदलीय जनवाद, नयाँ जनवाद विरोधी हो कि होइन भन्ने सवालको छिनोफानो गर्नुभन्दा पहिला नयाँ जनवाद भनेको के हो भन्नेबारे प्रस्ट विचार बनाउनु जरुरी छ । जनवादमा नयाँ शब्द थपेर नयाँ जनवाद भन्नुको तात्पर्य नयाँ जनवादभन्दा भिन्न पुरानो जनवाद भन्ने पनि कुनै अवधारणा हुनुपर्दछ भन्ने बोध गराउँदछ । पुरानो जनवाद पूँजीवादको उदय र विकासकालमा सामन्तवादको विरुद्ध क्रान्ति गरी स्थापित भएको पूँजीवादी जनवाद हो । यो क्रान्तिले सामन्तवादको उन्मूलन गरेको थियो वा त्यसलाई परास्त गरेको थियो । सामन्तवादको ठाउँमा पूँजीवादको स्थापना गरेको थियो । त्यसबेला उक्त क्रान्तिको नेतृत्व गर्नेमा पूँजीपति वर्ग थियो । पूँजीपतिवर्गको नेतृत्वमा सम्पन्न क्रान्तिले पूँजीवादी अधिनायकत्वको स्थापना ग¥यो । यसरी पुरानो जनवादको पृष्ठभूमिबाट साम्राज्यवादको उदय भएको छ । हामी एकाधिकारवादी पूँजीवाद तथा साम्राज्यवादको घृणापूर्वक विरोध गर्दछौं । पूँजीवादी अधिनायकत्वको निन्दा, भत्र्सना र विरोध गर्दछौं । हामी त्यस्तो पुरानो जनवादको स्थापना गर्न चाहँदैनौं, जहाँ मुट्ठीभर तत्वहरूको हितमा व्यापक जनतामाथि उत्पीडन गरिन्छ । सामन्ती शोषणको ठाउँमा पूँजीवादी शोषणको स्थापना गरी केवल शोषणका रूप र तरिकाहरू मात्र फेरेर सामाजिक मुक्ति सम्भव हुँदैन भन्ने मान्यतामा आधारित भएर हामी पुरानो पूँजीवादी जनवादको स्थापना गर्न चाहँदैनौ । हाम्रो सामु अहिले पनि सामन्तवादको उन्मूलन गर्ने कार्यभार ज्वलन्त रूपमा उपस्थित छ । तर आधुनिक जमानामा कुनै पनि देशमा सामन्तवाद एक्लो छैन । साम्राज्यवादले पनि सामन्तवादलाई सघाइरहेको छ । सामन्तवाद र साम्राज्यवादले मिलोमतो गरेर देशमा शोषण उत्पीडन गरिरहेका छन् । यसकारण साम्राज्यवादको शोषण उत्पीडनको उम्मूलन गर्नु पनि हाम्रो अनिवार्य कार्यभार बन्न पुगेको छ । सामन्तवाद र साम्राज्यवादको संगतबाट देशमा एउटा दलाल तथा नोकरशाही पूँजीपति वर्गको समेत उदय भएको छ । यसकारण यसको शोषणलाई समाप्त पार्नु पनि हाम्रो अनिवार्य कार्यभार बनेको छ । तर पनि अहिले हामी कुनै समाजवादी क्रान्ति गरिरहेका छैनौं । उत्पादनका साधनमा रहेको निजी स्वामित्वलाई समाप्त पारिरहेका छैनौं । हामी सामन्तवाद र अराष्ट्रिय पूँजीवादलाई मात्र समाप्त पार्न खोज्दैछौं । यस अर्थमा अहिलेको हाम्रो क्रान्ति पनि राष्ट्रिय पूँजीवादी जनवादी क्रान्ति नै हो । तर यो पुरानो खालको छैन, नयाँ खालको छ । पुरानो पूँजीवादी जनवादी क्रान्तिभन्दा यस पूँजीवादी जनवादी क्रान्तिमा निर्णायक महत्व राख्ने केही नयाँ कुरा र नयाँ विषय वस्तुहरू छन् । ती हुन् :
एक – साम्राज्यवाद तथा दलाल नोकरशाही पूँजीवाद नयाँ पूँजीवादी जनवादी क्रान्तिका शत्रुको रूपमा उपस्थित छन् । यो एउटा महत्वपूर्ण नयाँ विषय हो ।
दुई – साम्राज्यवाद तथा दलाल नोकरशाही पूँजीवाद पूँजीवादकै एउटा विशिष्ट रूप भएको हुनाले तिनीहरूका विरुद्ध क्रान्तिको नेतृत्व पुरानो पूँजीवादी जनवाद क्रान्तिमा जसरी नै पूँजीपति वर्गले गर्न सक्दैन । सामन्तवाद–दलाल–नोकरशाही पूँजीवाद र साम्राज्यवाद विरोधी यो क्रान्तिको नेतृत्व सर्वहारा श्रमजीवी वर्गले मात्र गर्न सक्छ । यो पनि अझै एउटा अर्को महत्वपूर्ण नयाँ विषय हो ।
तीन – यस क्रान्तिले पुरानो जनवादी क्रान्ति जस्तो पूँजीपति वर्गको अधिनायकत्वको स्थापना गर्दैन, बरु सामन्तवाद–साम्राज्यवाद विरोधी सम्पूर्ण वर्ग, तहका जनताको संयुक्त जनवादी अधिनायकत्वको स्थापना गर्छ । यो अझै अर्को महत्वपूर्ण नयाँ विषयवस्तु हो ।
चार – यसबाहेक क्रान्तिपछि स्थापित नयाँ समाज व्यवस्थाले एकाधिकारवादी पूँजीवाद तथा साम्राज्यवादतर्फ होइन यसको विरुद्ध समाजवादतर्फ संक्रमण गर्ने विकासको कार्यदिशा अपनाउँछ । यो पनि अर्को नयाँ विषयवस्तु हो । यसरी पुरानो पूँजीवादी जनवादमा भन्दा नयाँ जनवादमा क्रान्तिको शत्रु, क्रान्तिको नेतृत्व, क्रान्तिपछि स्थापित हुने अधिनायकत्व वा राज्यव्यवस्था र समाजको विकासको दिशा जस्ता निर्णायक महत्व राख्ने चारवटा मूल कुराहरू छन्, जुन नयाँ छन् । त्यसकारण यो नयाँ खालको पूँजीवादी जनवादी क्रान्ति हो । नयाँ जनवादलाई, नयाँ जनवाद बनाउने आधारभूत तत्वहरू यिनै हुन् । यी सबै कुराहरू नयाँ जनवादी क्रान्तिका अनिवार्य विषय वस्तुहरू हुन् । यिनीहरूमध्ये नेतृत्वको पक्ष कागजमा घोषणा गरेर प्राप्त हुने कुरा होइन । क्रान्तिको व्यवहारमा अन्य शक्तिहरूसँग प्रतिद्वन्दिता गर्दै सक्रिय पहलकदमी र जनताको मन जित्नसक्ने निष्ठापूर्ण अविरल सेवाबाट मात्र सम्भव हुन्छ । अन्य विषयहरू सुस्पष्ट र सार्वजनिक घोषणाका साथ तिनीहरूलाई पूरा गर्नको निम्ति लागिपर्नु पर्ने विषयहरू हुन् । आधुनिक जमानामा यी उपर्युक्त कुराहरूलाई छोडेर न त सामाजिक क्रान्ति हुन्छ, न त्यसलाई नयाँ जनवाद नै भन्न मिल्छ । नेपाली कांग्रेस उक्त चारवटै विषयमा नकारात्मक दृष्टिकोण राख्दछ । त्यसकारण कांग्रेस सामाजिक परिवर्तन ल्याउन सक्ने क्रान्तिकारी पार्टी होइन । साम्राज्यवादप्रति मित्रताभाव राखेर कोही पनि वर्तमान नेपालमा वास्तविक रूपमा सामन्तवाद विरोधीसमेत हुन सक्दैन । सामन्तवाद– साम्राज्यवाद पछौटे मुलुकमा पारस्परिक मित्रता र निर्भरतामा छन् । नेपाली कांग्रेसले कहीँ पनि र कहिल्यै पनि साम्राज्यवाद, एकाधिकारवादी पूँजीवादको विरोध गरेको छैन । यसबाट नेपाली कांग्रेस साँचो अर्थमा सामन्तवाद विरोधी पनि हुन सक्दैन भन्ने कुरा प्रस्ट हुन्छ । हाम्रो पार्टीले आफ्नो कार्यक्रममा उक्त चार वटा विषयलाई सुस्पष्ट रूपमा, सकारात्मक ढंगले सामेल गरेको छ । यस्ता तथ्यहरूले हाम्रो पार्टी क्रान्तिकारी पार्टी हो र यसको कार्यक्रम नयाँ खाले पूँजीवादी जनवादी कार्यक्रम हो भन्ने स्पष्ट हुन्छ । राजनीतिक शासन प्रणालीको क्षेत्रमा बहुदलीय वा एकदलीय हुने कुराले नयाँ जनवाद हो कि होइन भन्ने कुराको फैसला हुँदैन । एकदलीय राजनीतिक एकाधिकार वादलाई माओविचारधारा तथा नयाँ जनवाद हो भन्नु माक्र्सवादी सिद्धान्तबारे आफ्नो अज्ञानता प्रदर्शन गर्नुमात्र हो । कुनै पनि देशमा सामन्तवाद–साम्राज्यवाद विरोधी क्रान्ति सम्पन्न गरी स्थापित गरिएको नयाँ व्यवस्थाको शासन प्रणाली एकदलीय हुन्छ कि द्विदलीय वा बहुदलीय हुन्छ भन्ने कुरा त्यहाँको क्रान्तिकालीन र त्यसपछिको पनि विशिष्ट राष्ट्रिय स्थितिले निर्धारण गर्ने विषय हो । यो सिद्धान्तको सवाल होइन । यो सम्बन्धित देश विशेषको विशेष परिस्थितिमा आधारित विशेष नीतिको विषय हो । हामी, निरंकुशता तथा निर्दलीयताको विरुद्ध दीर्घकालीन संघर्षको इतिहास भएको हाम्रो देशको विद्यमान द्ध विशेषतालाई विश्लेषण गरेर बहुदलीय प्रणालीको स्थापना गर्ने कुरामा दृढतापूर्वक उभिएका छौं । यस्ता तथ्यहरूले बहुदलीय प्रणालीको पक्षपोषण गरेको कारणले एमालेले नयाँ जनवादी कार्यक्रम छोड्यो भन्ने प्रचार गर्नु स्वयंमा हास्यास्पद बन्नुमात्र हो भन्ने कुरालाई पुष्टि गर्दछन् । निचोडमा उल्लेख गर्दा बहुदलीय जनवाद नयाँ नजवादको विरोधी नभएको मात्र होइन यो आफँै नै नेपालको विशिष्ट स्थिति अनुरुप लागू गरिने नयाँ जनवाद नै हो ।
३. राज्यसत्ताको सारतत्व वर्गीय चरित्रको सवाल हो र शासनतन्त्र रूपको सवाल हो हाम्रो पार्टीले बहुदलीय प्रणालीको पक्षपोषण गरेयता, खासगरी विश्वको कम्युनिष्ट तथा समाजवादी आन्दोलनमा सुधार अभियान सञ्चालित भएयता पूँजीवादपन्थी तत्वहरू एक वा अर्को ढंगले कम्युनिष्टका विरुद्ध खनिँदै आएका छन् । पूँजीवादी देशहरूले आमरुपमा शुरुदेखि नै बहुदलीय संसदीय शासन प्रणाली अपनाएका थिए । तर समाजवादी देशहरूमा भने या त एकदलीय प्रणाली रह्यो या बहुदलीय राजनीति नै भए पनि शासन सञ्चालन गर्ने मामिलामा केवल सहयोगको प्रणाली रह्यो, प्रतिस्पर्धा गर्न दिइएन । यस्तो प्रयोग र व्यवहारबाट बहुदलीय प्रतिस्पर्धाको प्रणाली पूँजीवादपन्थीहरूको निजी सम्पत्ति हो र समाजवादी प्रणाली भनेको या त एक दलीयता या बहुदलीय भए पनि त्यो केवल सहयोगात्मक प्रणालीमात्र हो भन्ने भान दुनियाँलाई प¥यो । यस खालको विचार, प्रवृत्ति तथा चिन्तन एउटा गम्भीर गल्तीको द्योतक थियो । बहुदलीय प्रणाली समाजको राजनीतिक जीवनको एउटा लोकप्रिय पद्धति तथा सरकार संगठित गर्ने एउटा बहुप्रचलित तरिका हो । यो पूँजीवादपन्थीहरूको मात्र निजी सम्पत्ति कुनै पनि हिसाबले होइन । हरेक वस्तुका रूपपक्ष र सारपक्ष हुन्छन् । राजनीतिक सत्ताका पनि रूपपक्ष र सार पक्ष हुन्छन् । सत्ताको सारपक्ष राज्ययन्त्रसँग सम्बन्धित कुरा हो भने त्यसको रुपपक्ष शासनतन्त्रसँग सम्बन्धित कुरा हो । बहुदलीय प्रणाली सार होइन, केवल रूप पक्षमात्र हो । कुनै पनि राजनीतिक सत्ताले कुनकुन वर्गको हितसाधन गर्छ र कुन वर्गमाथि अधिनायकत्व लागू गर्छ भन्ने कुरा सत्ताको सारतत्वसँग सम्बन्धित विषय हुन्छ । विद्यमान समाजमा वर्ग वा वर्गस्तरहरू कसको के हैसियत हो र राज्यले कुन वर्गप्रति कस्तो नीति अपनाउँछ भन्ने कुराको व्याख्या गरिन्छ । त्यसकारण यो राज्यको सारतत्वसँग सम्बन्धित विषय हो । तर शासनतन्त्र भने सरकारको गठन कसरी गर्ने तथा दैनिक शासन–प्रशासन कसरी सञ्चालन गर्ने भन्ने विषयसँग सम्बन्धित हुन्छ । त्यसकारण यो राज्यको रूपपक्षसँग सम्बन्धित विषय हो । बहुदलीय प्रतिस्पर्धा भएको शासन प्रणाली कुनै निश्चित एक खालको सारतत्व भएको राज्यसत्ताको रूपमात्र होइन । अनेक सारतत्व भएका राज्यहरूको छ स्वरुप बन्नसक्छ । यसबेला दुनियाँमा बहुदलीय शासन प्रणाली अन्तर्गत अनेक खालका राज्यहरूले काम गरिरहेका छन् । अर्धसामन्ती, अर्ध–उपनिवेशी राज्यहरू पनि बहुदलीय प्रणाली अपनाइरहेका छन् । समाजवादी राज्यहरूले पनि प्रारम्भिक अवस्थामा त्यो प्रणाली अपनाउन सक्छन् भन्ने निष्कर्ष लिएर आफ्नो राजनीतिक कार्यक्रम निर्धारण गरी अघि बढिरहेका छौं । त्यसकारण केवल रूप पक्षलाईमात्र हेरेर कुनै पनि राज्यसत्ताको वर्गचरित्र टुंगो लाउन सकिन्न । हामी केवल बहुदलीय प्रणाली अपनाउने वचनबद्धताको कारणले माक्र्सवाद–लेनिनवाद तथा नयाँ जनवाद विपरीत गैरहेका छौं भन्ने कुरा सावित हुन सक्दैन । सामन्तवाद, दलाल नोकरशाही पूँजीवादी वर्गबाहेक अन्य वर्ग, तहका जनताले नयाँ जनवादमा प्रजातान्त्रिक अधिकारहरूको पूर्णतः उपयोग गर्दै आफ्नो स्वतन्त्र राजनीतिक गतिविधि सञ्चालन गर्न पाउने छन् । आफ्ना विचार, राजनीतिक कार्यक्रम र दृष्टिकोणको आधारमा आम निर्वाचनमार्फत प्रतिस्पर्धा गरी बहुमत जनताको समर्थन प्राप्त राजनीतिक पार्टीले सरकार गठन गर्न र शासन सञ्चालन गर्न पाउने छ । यसरी बहुदलीयता शासन प्रणालीको कुरा र जनवाद राज्यसत्ताको कुरा हो । यिनै विषयहरूलाई सम्बन्धित गरेर हाम्रो बहुदलीय जनवादी कार्यक्रम निर्धारित भएको छ ।
४. बुर्जुवा संसदको सारतत्वको विरोध गर्नुपर्दछ, रूपपक्षलाई उपयोग गर्न सकिन्छ बहुदलीय प्रतिस्पर्धाको शासन प्रणाली आमरूपमा संसदीय शासन प्रणाली हो । अर्थात प्रत्येक चार वा पाँच वर्षमा आमनिर्वाचन गर्ने, त्यसबाट बहुमत प्राप्त पार्टीको सरकार गठन गर्ने तथा अल्पमतले सरकारको विरुद्ध विपक्षको भूमिका निर्वाह गर्ने । अर्को शब्दमा भन्दा जनवादी केन्द्रीयताको शासन प्रणाली बहुमतले शासन चलाउने, अल्पमतले त्यसको निरीक्षण गर्ने शासन प्रणाली हो । “बुर्जुवा संसद बुर्जुवा वर्गको गफ गर्ने अखडा हो र बोकाको टाउको झुण्ड्याएर कुकुरको मासु बेच्ने थलो हो” भनेर यसको आलोचना गरिएको छ । माक्र्स तथा लेनिनले यसरी बुर्जुवा संसदको आलोचना गरिरहेको बेला उहाँहरूले निर्वाचन एवं निर्वाचित सत्ताको विरोध गरिरहनु भएको थिएन । न त आम निर्वाचनलाई एउटा नाटकमा बदल्ने चाहना नै व्यक्त गर्नुभएको थियो । उहाँहरूको विरोधको तात्पर्य बुर्जुवा व्यवस्थामा सबै महत्वपूर्ण राजकीय मामिलाहरूको फैसला सैनिक मुख्यालय वा नोकर शाहीतन्त्रका मुख्यालयहरूले गरिसकेका हुन्छन् । संसद केवल गफ गर्ने ठाँउको रूपमा मात्र बाँकी रहन्छ । त्यसले कुनै पनि वास्तविक समस्याको समाधान गर्दैन । माक्र्सले पेरिस कम्युनको प्रशंसा गर्दा त्यो कार्यकारी र विधायिकी दुवै भएकाले प्रशंसा गर्नुभएको थियो । हामी पनि जनप्रतिनिधि संस्था साँचो अर्थमा अधिकार सम्पन्न हुनुपर्छ र त्यसले नै वास्तविक समस्याको वास्तविक समाधान गर्नुपर्छ भन्ने कुराको पक्षमा छौं । तर त्यसको साथसाथै हामी शक्ति पृथकीकरणको पक्षमा पनि छौं । कुनै एउटा संस्थाले कार्यकारी पनि, विधायिकी पनि तथा न्यायिक कार्य पनि गर्नुपर्छ भन्ने कुरा हाम्रो होइन । शासन सञ्चालन गर्ने क्षेत्रमा हालसम्म भएका अनुभवहरूको आधारमा न्यायपालिका, कार्यपालिका र विधायिकाको सापेक्ष स्वतन्त्रता हुनुपर्छ र त्यस अनुसार नै सम्बन्धित निकायले निष्पक्ष रूपमा काम गर्न पाउनुपर्छ । तिनीहरूको काममा कुनै पनि एउटाले अर्कोमाथि वा कुनै पनि शक्तिले तिनीहरूमाथि हस्तक्षेप गर्नु हुँदैन भन्ने मान्यताको पक्षमा हामी छौं । माक्र्स वा लेनिनले बुर्जुवा संसदको विरोध गर्दा त्यसको रूप र सारलाई एकीकृत गरेर गर्नुभएको थियो । सरकार संगठित गर्ने रूप, विधि र तरिका भन्दा उहाँहरूको विरोध पूँजीवादी राज्यको विरुद्ध केन्द्रित थियो । हामी अहिले रूप र सारलाई अलग–अलग गरेर रूप पक्षलाई समर्थन गर्ने तर सारलाई संघर्षमार्फत परिवर्तन गर्ने कुराको पक्षपोषण गरिरहेका छौं । अर्ध–सामन्ती, अर्ध–उपनिवेशी सारलाई विस्थापित गरी नयाँ जनवादी सारलाई स्थापित गर्ने पक्षमा छौं । हाम्रो देशको सन्दर्भमा एकदलीय स्वरुप उचित हुँदैन भनेर बहुदलीय स्वरुपको पाक्षमा छौं । यसरी माक्र्स र लेनिनको कार्यकालभन्दा पछि विकसित भएको विश्व परिस्थितिका विभिन्न पक्षलाई ख्याल गर्दै हामी बहुदलीय रूपबाट क्रान्तिकारी सारवस्तुको रक्षा र विकास गर्ने पक्षमा छौं । यिनै विश्लेषणको आधारमा संसदद्वारा पनि रचनात्मक काम गर्न सकिन्छ र गर्नुपर्छ भन्ने नीति पार्टीले लिएको हो । संसदले रचनात्मक काम गर्छ कि गर्दैन भन्ने कुरा मूलरूपमा त्यसको वनावटमाथि निर्भर गर्दछ । यसबाहेक सत्ताधारी पार्टी कसरी चल्न चाहन्छ, त्यसमाथि पनि भर पर्दछ । कुनै पनि विषयवस्तुमा के उचित र के अनुचित हो भनी छुट्याउनुको साटो कसले प्रस्तुत गरेको हो भन्ने आधारमा बहुमतले फैसला गर्ने तरिका अपनाइन्छ भने त्यस्तो संसदले रचनात्मक काम गर्ने आशा कममात्र गर्न सकिन्छ । ५. कम्युनिष्ट पार्टीले जनताका मौलिक अधिकारहरू खोस्दैन
हामीहरूले जनताले मौलिक अधिकारहरूको निर्वाध रूपमा उपभोग गर्न पाउनुपर्छ भन्ने कुराको पक्षपोषण गर्दै आएका छौं । जनताका मौलिक अधिकारहरू भन्नाले लेख्ने, छाप्ने, बोल्ने, सभा संगठनहरू गर्ने, आफ्नो आस्था अनुरुप राजनीतिक पार्टीहरू सञ्चालन गर्ने आदि कुराहरू हुन् । जनताको यस्तो मौलिक अधिकार क्रान्तिपछि पनि तथा कम्युनिष्ट पार्टीले राज्यसत्ता हातमा लिइसकेपछि पनि खोसिनु हुँदैन । जनताले जनताकै अधिकार प्राप्तिको निम्ति संघर्ष गर्छन् । क्रान्तिपछि सम्पूर्ण राजनीतिक अधिकारहरू जति कम्युनिष्ट पार्टी वा अर्को कुनै पनि एउटा पार्टीले आफ्ना हातमा केन्द्रित गरी बाँकी जनतालाई किनारा लगाउन खोज्ने प्रवृत्ति प्रजातान्त्रिक मान्न सकिन्न । जनताका उक्त मौलिक अधिकारहरू चालू रहन दिने हो भने राजनीतिक पार्टीहरू बन्न वा कायम रहन सक्छन् । त्यस्ता राजनीतिक पार्टीहरू छन् भने तिनीहरूले जनताको बीचमा तथा शासनसत्ताको सवालमा कम्युनिष्ट पार्टीसँग प्रतिस्पर्धा गर्न पाउनुपर्छ । त्यो अधिकारमाथि बन्देज लगाएर एकदलीयता स्थापित गर्नु हुँदैन । आर्थिक र सामाजिक ठ शोषणलाई समाप्त पार्ने र जनताको जीविकाको ग्यारेन्टी गर्ने कम्युनिष्ट पार्टीको वचनबद्धता जनताको निम्ति एउटा मुख्य आकर्षण हो, तर पूर्ण प्रजातान्त्रिक अधिकार उपभोग गर्नबाट वंञ्चित गर्ने कुनै पनि कुरा भयो भने त्यसले जनतालाई विकर्षित गर्नेछ भन्ने कुरा पनि उत्तिकै साँचो हो । त्यसकारण हाम्रो पार्टी जनतालाई क्रान्तिपछि पनि प्रजातानित्तक अधिकारको उपभोग गर्ने व्यवस्थाको पूर्णतया ग्यारेन्टी गर्न चाहन्छ । बहुदलीय प्रतिस्पर्धाको प्रणाली त्यसकै एउटा प्रमाण हो ।
६. क्रान्तिकारी व्यवस्थामा पनि “संविधान अनुरुपको राज्य र कानून अनुरुपको शासन” हुनुपर्दछ यसबेला विश्वमा संविधान अनुरुपको राज्य र कानून अनुरुपको शासन भन्ने नारा निकै लोकप्रिय बनेको छ। संविधानविहीन राज्य वा कानूनविहीन शासन एक प्रकारको अराजकता वा निरंकुशताको द्योतक हुनसक्छ । संविधानले मुलुकमा वर्गहरूको स्थिति, हैसियत, तिनीहरूबीचको अन्तर्सम्बन्धलाई परिभाषित तथा व्यवस्थित गर्नुपर्छ । कानूनले देशको दैनिक शासन प्रशासनलाई नियमित र व्यवस्थित बनाउनुपर्छ । जुन संविधान र कानूनहरू बन्छन्, तिनीहरू सबैको निम्ति उत्तिकै मान्य तथा सक्रिय हुनुपर्छ । सर्वोच्च जनप्रतिनिधि संस्थाहरूमा तिनीहरूलाई हेरफेर, परिवर्तन र संशोधन गर्नसक्ने अधिकार सुरक्षित रहनुपर्छ । यसरी गतिशील संविधान एवं परिवर्तनशील ऐन कानूनहरू हुनुपर्छ । क्रान्ति वा प्रतिक्रान्तिले शक्ति सन्तुलन निर्णायक रूपमा आफ्नो पक्षमा बनाएर संविधान वा ऐन कानूनहरूको कुनै पर्वाह नगरी शक्तिको आधारमा फैसला गर्ने कुरा हो । तर मात्रात्मक परिवर्तनको निम्ति काम गर्नुपर्ने परिस्थिति बाँकी रहुञ्जेल स्वाभाविक रूपमा ऐन कानून अनुरुप पनि कामहरू गर्नुपर्छ । क्रान्ति वा प्रतिक्रान्ति भैसकेपछि पनि मुलुकलाई अधिशासित गर्न संविधान र ऐन कानूनहरू बन्नैपर्छ । हामी संविधान र ऐन कानूनविहीन स्वेच्छाचारी सत्ताको विपक्षमा छौं । क्रान्तिलाई पनि संविधानले र संविधानको आधारमा शक्तिले रक्षा गर्ने तरिका अपनाउनुपर्छ ।
७. वर्गहरू रहेसम्म वर्गीय राजनीति पनि भिन्नाभिन्नै हुनु स्वाभाविकै हो : राज्यसम्बन्धी माक्र्सवादको शिक्षाअनुसार राज्य वर्गीय शासनको उपकरण हो । एउटा वर्गले अर्को वर्गलाई अधीनमा राख्ने साधन हो । एक वर्गको रुपमा राज्यको उत्पत्ति भयो र एक वर्गकै रुपमा राज्यको अन्त पनि हुनेछ । तर बीचमा अनेक वर्गहरूको संयुक्त राज्य पनि बन्न सक्छ । जबसम्म वर्गहरू रहन्छन्, तबसम्म प्रत्येक वर्गका अलगअलग स्वार्थ, सिद्धान्त र दृष्टिकोणहरू हुनु पनि स्वाभाविक हो । नयाँ जनवाद समाजमा मजदुर वर्गदेखि लिएर राष्ट्रिय पूँजीपतिसम्म, कृषि मजदुरदेखि लिएर धनी किसानसम्म र शोषक वर्गभित्रका पनि देशको माया गर्ने व्यक्ति वा तह रहन्छन् । त्यसकाराण नयाँ जनवादी समाज स्वयं एउटा वर्गीय समाज हो । जनताको पंक्तिभित्र ड अनेक वर्गहरू रहन्छन् भने राजनीतिक पार्टीहरूमा चाहिँ कम्युनिष्ट पार्टीमात्र रहनेछ भनी ठान्नु मिल्ने कुरा होइन । कम्युनिष्ट पार्टी नै सबै वर्गको राजनीतिक पार्टीको रूपमा परिवर्तित हुन सक्दैन । यो सर्वहारा श्रमजीवी जनताको राजनीतिक पार्टी हो । यस्तो स्थितिमा अन्य वर्गहरूले आ–आफ्ना राजनीतिक पार्टीहरू निर्माण गर्नु वा स्वयं सर्वहारा श्रमजीजी वर्गभित्रै पनि कम्युनिष्ट पार्टीबाहेक अरू पार्टी पनि बने भने स्वाभाविक रूपमा तिनीहरूसँग कम्युनिष्ट पार्टीले स्वस्थ प्रजातान्त्रिक प्रतिस्पर्धा गर्न तयार रहनु पर्छ । यसरी मात्र कम्युनिष्ट पार्टी पनि प्रजातान्त्रिक ढंगले अघि बढ्नसक्छ ।
८. माक्र्सवाद गतिशील दर्शन हो माक्र्सवादी सिद्धान्तमा शाश्वत महत्वका महत्वपूर्ण विषयहरू छन् ।पहिलो हो, माक्र्सवादी सिद्धान्त र व्यवहारको बीचमा एकरुपता वा एकता । माक्र्सवाद कोरा सिद्धान्त होइन । यसले व्यवहारलाई ठोस रूपमा मार्गदर्शन गर्न सक्नुपर्छ । व्यवहार निरन्तर गतिशील भैरहने विषय हो । व्यवहारको गति र विकासका प्रत्येक अवस्थामा सिद्धान्तले त्यसलाई मार्गदर्शन गरिरहनु पर्छ । त्यसको निम्ति आवश्यकता अनुरुप सिद्धान्त पनि गतिशील, विकासशील हुन सक्नुपर्छ । माक्र्सवादी सिद्धान्त कुनै जडसूत्र होइन । ठोस परिस्थितिको ठोस विश्लेषण गर्नुनै माक्र्सवादको आत्मा हो भनेर भनिरहेको बेला लेनिन माक्र्सवादको यही रचनात्मक तथा गतिशील सिद्धान्तको व्याख्या गरिरहनु भएको थियो । माक्र्सवादी आन्दोलनको प्रारम्भिक बेलामा गरिएको व्याख्या र प्रयोगभन्दा अहिले कतिपय मानेमा परिस्थिति भिन्न भएको छ । त्यसकारण भिन्न र नयाँ कुराहरूबारे माक्र्सवादी दृष्टिकोण प्रस्ट पार्न अहिले नै ठोस व्याख्याहरू अघि सार्नुपर्छ । पुरानै सूत्रहरूमा टाँसिइरहेर आजका समस्या समाधान हुन सक्दैनन् । माक्र्सवादी सिद्धान्तको एउटा शास्वत पक्ष यही हो । दोस्रो, माक्र्सवादी सिद्धान्तको वर्गस्वरुप । माक्र्सवाद सर्वहारा श्रमजीवी उत्पादक शक्तिको मुक्ति र समृद्धिको सिद्धान्त हो । माक्र्सवादले हरेक समाजमा हरेक बेला उत्पादक शक्तिको पक्षपोषण गरिरहेको हुन्छ । परिस्थिति नयाँ हुनसक्छ, समय भिन्न हुनसक्छ तथा ठाउँ बेग्लै हुनसक्छ । परिस्थिति, बेला र ठाउँको भिन्नताले माक्र्सवादलाई लागू गर्ने नीति एवं तरिकामा भिन्नता हुनसक्छ । तर जहाँसुकै, जहिले पनि र जुनसुकै परिस्थिति भएपनि माक्र्सवादको वर्गस्वरुप फेरिन सक्दैन । माक्र्सवादको कहिल्यै पनि यस्तो व्याख्या हुन सक्दैन कि त्यस व्याख्याले सामन्त र पूँजीपतिलाई खुशी तुल्याओस् र उत्पादक शक्तिको स्वार्थमा ठेस लगाओस् । त्यसकारण माक्र्सवादको नयाँ व्याख्या सही छ कि छैन भनेर जाँच्ने कसी केवल त्यसको वर्गस्वरुपसम्बन्धी वर्ग दृष्टिकोण सही छ कि छैन भन्ने नै हो र हुनुपर्छ । यसबेला हामो पार्टीले आफ्नो ठाउँमा बहुदलीय राजनीतिक प्रणालीअन्तर्गत सर्वहारा ढ श्रमजीवी जनताको इच्छा–आकांक्षाको रक्षा र विकास गर्ने दृष्टिकोण लिएको छ । बहुदलीय प्रणालीअन्तर्गत श्रमजीवी जनताको सेवा हुन सक्दैन भन्ने कुनै मान्यता छैन । बरु एकदलीय एकाधिकारवादले सर्वहारा वर्गको दीर्घकालीन हित गर्न नसकेको अनुभव प्राप्त भइरहेको छ । विश्वको कम्युनिष्ट एवं समाजवादी आन्दोलनको अनुभवको समीक्षा गर्दै बहुदलीय प्रतिस्पर्धाको प्रणालीमार्फत अरूसँग प्रतिद्वन्दिता गर्दै अघि बढेर नै सर्वहारा श्रमजीवी जनताको भविष्य उज्यालो बनाउन सकिने छ ।
९. बहुदलीय जनवाद आमजनताको संयुक्त जनवादी अधिनायकत्व हो “नयाँ जनवादमा बहुदलीय शासन प्रणाली कायम गर्ने हो भने त्यहाँ प्रतिक्रान्ति हुनसक्छ, त्यसकारण बलिदानपूर्ण क्रान्ति गरेर स्थापित गरेको नयाँ प्रगतिशील समाजको रक्षाको निम्ति कम्युनिष्ट पार्टीले मुलुकको शासनसत्ता अर्को पार्टीको हातमा जान दिन हुँदैन, प्रतिस्पर्धाको प्रणाली अपनाउन उचित हुँदैन” भन्ने जस्ता तर्कहरूको आधारमा पनि बहुदलीय जनवादको विरोध भएको पाइएको छ । माक्र्सवादी दर्शनको आधारमा क्रान्ति एउटा अनिवार्य वस्तुगत प्रक्रिया हो । मनोगत आग्रहले मात्र क्रान्ति हुन सक्दैन । वस्तुगत विकासका नियमहरू हुन सक्छन् । यसको आधारमा विद्यमान समाजको गर्भभित्र नै नयाँ समाजका तत्वहरूको उदय र विकास नभै क्रान्ति हुन सक्दैन । क्रान्तिले पुरानो समाजको आधारलाई तोड्छ र नयाँ समाजको संरचनालाई सुदृढ बनाउँछ । यद्यपि कुनै पनि समाजमा क्रान्तिले भर्खर परास्त गरेका प्रतिगामी तत्वहरूले फेरि आफ्नो अनुकूलको पुरानो समाज व्यवस्था फर्काउने कोशिश गर्न सक्छन् । तिनीहरूमाथि क्रान्तिद्वारा स्थापित नयाँ व्यवस्थाले राज्यको बल प्रयोग गरी नियन्त्रित गर्नुपर्छ । क्रान्तिको अधिनायकत्व लागू गर्नुपर्छ । प्रतिगामी तत्वहरूले जुन आर्थिक–सामाजिक आधारमाथि उभिएर आफ्नो अधिनायकत्व लागू गरेका हुन्छन्, सर्वप्रथम क्रान्तिले त्यो आधारलाई चकनाचूर पार्छ । आधार खत्तम भएका तत्वहरू व्यक्तिगत रूपमा संगठित भएर प्रतिक्रान्तिकारी उपद्रव मच्चाउने कोशिश गर्छन् भने तिनीहरूको कार्यक्रम, शक्ति, प्रभाव र स्थिति हेरी उनीहरूको मताधिकार, मौलिक अधिकारमाथि आशंका गर्न वा त्यसमाथि पूर्ण बन्देज लगाउने हो वा नलगाउने हो भन्ने कुराको फैसला गर्न सकिन्छ । त्यसकारण यो आमसैद्धान्तिक विषय होइन, तत्कालीन परिस्थितिजन्य कुरा हो । आमरूपमा जनताको इच्छाअनुरुप एवं वस्तुगत परिस्थितिको विकासको परिपक्व अवस्थामा नयाँ समाजको जन्म हुन्छ भने फेरि पुरानो समाज फर्केला कि भनी सधैँ पहरेदारी गरिरहनु पर्ने स्थिति हुँदैन । यसबेला नेपाली समाजमा पुरानो दासप्रथा वा मध्ययुगीन सामन्तीप्रथा फेरि फर्केला कि भनी कसैले पहरेदारी गरिरहेको छैन । त्यो विगत इतिहास हो – जस्ताको त्यस्तै फेरि फर्किएर आउने कुनै गुन्जाइस छैन । यसबाहेक कुनै पनि व्यवस्थामा कुनै निश्चित एउटा पार्टीको शासन हुँदा त्यो व्यवस्था टिक्ने र अर्को पार्टी हुँदा व्यवस्था समाप्त हुने कुरा उचित होइन । कुनै पनि व्यवस्थालाई संविधानले परिभाषि गर्नुपर्छ र त्यो ज्ञण् परिभाषाभित्र शासकको रूपमा राजनीतिक पार्टीहरू जतिसुकै फेरिए पनि त्यसले निर्णायक असर पार्दैन । नयाँ जनवादी व्यवस्थालाई सामन्तवाद–साम्राज्यवाद विरोधी व्यवस्थाको रूपमा संवैधानिक सुरक्षाको व्यवस्था गरिनुपर्दछ । कम्युनिष्ट पार्टीले अथक र अविरल रूपमा जनताको बीचमा काम गरिरहनु पर्छ । जनताको विश्वासपूर्ण समर्थन तथा जनादेश पाएरमात्र शासन सञ्चालन गर्नुपर्छ । यसको उल्टो कुनै पनि बहानामा राज्यशक्ति हातमा लिएपछि दमनको विधि वा अप्रजातान्त्रिक विधिले शासनमा टिकिर हने कोशिश गर्नु उचित हुँदैन । राज्य व्यवस्था वा शासन प्रणाली दुवै क्षेत्रमा निर्णायक तत्व जनता हुन् । जनताको चेतना र निर्णायक पहलकदमीबाट नै क्रान्ति सम्पन्न हुन्छ भने त्यसको रक्षा पनि जनताकै पहलकदमी, चेतना र सक्रियताबाट मात्र सम्भव हुन्छ । त्यसकारण कम्युनिष्ट पार्टीले राजकीय बल प्रयोग गरेर होइन, जनताको बीचमा राजनीतिक संगठनात्मक काम गरेर नै जुनसुकै समस्यालाई समाधान गर्ने विधि अपनाउनु पर्दछ । यदि बहुमत जनता कुनै राज्यव्यवस्था वा शासन प्रणालीको पक्षमा छैनन् भने अन्तिम निष्कर्षमा कुनै पनि शक्तिले तिनीहरूलाई टिकाइरहन सक्दैन । त्यसकारण निचोडमा के भन्न सकिन्छ भने सामन्तवाद–साम्राज्यवादका पक्षधर शक्तिहरूलाई परास्त वा ध्वस्त नपारी नयाँ जनवादी क्रान्ति सम्पन्न हुन सक्दैन । क्रान्ति सम्पन्न हुनासाथ तिनीहरूको आधारलाई समाप्त पार्ने काम गरिन्छ र फेरि पनि प्रतिगमनको निम्ति उठ्ने कोशिश गर्छन् भने त्यस्तालाई दमन, नियन्त्रण गरिन्छ । तर त्यसबाहेक सामन्तवाद–साम्राज्यवाद विरोधी नयाँ जनवादी क्रान्तिका सहयोगी पक्षधर शक्तिहरूका बीचमा प्रतिस्पर्धा गर्ने प्रणाली अपनाएर जनवादलाई कुनै खतरा हुँदैन । संविधानको मातहत, नयाँ जनवादको मातहत हुने प्रतिस्पर्धामा कम्युनिष्ट पार्टीले राजकीय बल प्रयोग गरेर होइन जनताको बहुमतको समर्थन जितेर नै शासनसत्ता सञ्चालन गर्नुपर्छ । कम्युनिष्टहरूले निश्चित रूपमा निस्वार्थ र त्यागको भावनाका साथ जनता र राष्ट्रको सेवा गर्नुपर्छ । यसबाट मुक्त हुनको निम्ति राजकीय बलको सहारा लिएर चल्न खोज्नु उचित होइन । बहुदलीय प्रणालीमा अरूसँगको प्रतिस्पर्धाबाट आफूलाई योग्य साबित गरेर नै कम्युनिष्टले पनि शासन चलाउनुपर्छ ।
१०. वर्तमान व्यवस्था बहुदलीय जनवादी व्यवस्था होइन देशमा अहिले निर्दलीय पञ्चायत व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्थाको स्थापना भएको छ । यसै व्यवस्थालाई नै बहुदलीय जनवाद हो भन्ने, ठान्ने भ्रम पनि कतिपय व्यक्तिहरूमा देखापरेको छ । यसबेला देशमा राजनीतिक पार्टीहरू खोल्न पाउने, आफ्ना विचार र कार्यक्रमको आधारमा निर्वाचनमा भाग लिन पाउने, बहुमत पाएर विजयी पार्टीले सरकार गठन गर्ने र अल्पमतमा रहनेले विपक्षको भूमिका खेल्ने अधिकार र व्यवस्था वर्तमान संविधानले गरेको छ । यो निश्चय पनि बहुदलीय व्यवस्था हो ज्ञज्ञ तर प्रतिगामी व्यवस्था हो । हाम्रो पार्टी बहुदलीयतालाई समर्थन गर्छ, त्यसलाई प्रयोग र उपयोग गर्दैं जनवाद स्थापित गर्ने संघर्ष अघि बढाउन चाहन्छ । तर प्रतिगामी अर्ध–सामन्ती एवं अर्ध–उपनिवेशी व्यवस्थालाई समर्थन गर्दैन । वर्तमान बहुदलीय व्यवस्था र बहुदलीय जनवादी व्यवस्थाबीच कुनै भेद नदेख्नु क्रान्तिकारी दृष्टिकोणलाई त्यागेर सुधारवादमा फस्नु हो । माथि नै चर्चा भैसकेको छ कि जनवाद भनेको वास्तविक अर्थमा जुन अर्थमा हामी प्रयोग गरिरहेका छौँ त्यो सामन्तवाद–साम्राज्यवाद विरोधी व्यवस्था हो । अहिले हाम्रो देशमा सामन्तवाद– साम्राज्यवादको उन्मूलन भएको छैन । बरु तिनीहरूलाई उन्मूलन गर्नकै निम्ति संघर्षलाई जारी राख्नु र अघि बढाउनुपरेको छ । त्यस्तो स्थितिमा आजको व्यवस्थालाई पनि जनवाद भन्नु जनतालाई भ्रममा पारेर प्रतिक्रियावाद र सुधारवादको सेवा गर्नुबाहेक अरू हुन सक्दैन । एउटा राजनीतिक प्रणाली, सरकारको गठन र सञ्चालन गर्ने व्यवस्थाको रूपमा बहुदलीय व्यवस्था कायम भएको छ तर यो अर्धसामन्ती, अर्धउपनिवेशी जस्तो प्रतिगामी आधारमा उभिएको छ । यस आधारलाई नतोडीकन जनवाद आउन सक्दैन । त्यसकारण हामीले भनेको बहुदलीय जनवाद सामन्तवाद–साम्राज्यवाद विरोधी आर्थिक, सामाजिक, सांस्कृतिक आधारमा उभिएको समाज व्यवस्था हो । बहुदलीय राजनीतिक प्रणालीसहितको नयाँ जनवाद हो ।
११. बहुदलीय जनवादले बहुमत जनताको समर्थनबाट समाजवादमा संक्रमण गर्ने कार्यविधि अपनाउने छ बहुदलीय जनवाद भनेको नयाँ जनवाद नै हो र त्यो सामन्तवाद–साम्राज्यवाद विरोधी, समाजवादको समर्थक तथा स्वयं समाजवादमा संक्रमण गर्ने कार्यदिशा भएको संक्रमणकालीन व्यवस्था हो भनेर माथि उल्लेख गरिएको छ । बहुदलीय प्रतिस्पर्धा कायम गरेर समाजवादमा संक्रमण कसरी सम्भव हुन्छ भन्ने कोणबाट पनि कतिपय जिज्ञासा, प्रश्न र विरोधहरू अभिव्यक्त भएका छन् । सामान्यतया सर्वस्वीकृत अवधारणा के हो भने नयाँ जनवादी सत्ता शान्तिपूर्ण ढंगले समाजवादमा संक्रमण गर्नेछ । कम्युनिष्ट पार्टी सत्तामा रहेको र त्यस पार्टीको अधिकतम लक्ष्य समाजवाद–साम्यवाद भएको हुनाले पार्टीको हातमा भएको सत्ताले शान्तिपूर्ण रूपमा संक्रमण गर्ने विचर स्वाभाविक देखिन्छ । तर गैरकम्युनिष्ट पार्टी सत्तामा पुगेको खण्डमा संक्रमण कसरी हुन्छ भन्ने प्रश्न उठ्नु बेमनासिब देखिँदैन । स्वयं कम्युनिष्ट पार्टी पनि समाजवादको निम्ति आधारभूत वस्तुगत भौतिक स्थिति तयार नगरी समाजवादमा संक्रमण गर्न चाहँदैन । स्वाधीन, स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको निर्माण नगरी बलपूर्वक समाजवादको स्थापना गरे पनि त्यसले चिरस्थायी रूप लिन सक्दैन भन्ने कुरा अनेक देशका घटना र अनुभवहरूले पुष्टि गरेका छन् । नयाँ जनवादलाई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक सबै हिसाबले सुदृढ नबनाई हतारमा बलपूर्वक समाजवादको ज्ञद्द स्थापना गरी हाल्नु उचित र टिकाउपन हुँदैन । त्यसकारण सर्वप्रथम नयाँ जनवादलाई सुदृढ बनाउने काम गर्नुपर्छ । प्रतिगमनको खतरालाई पूर्ण रूपमा समाप्त पार्नुपर्दछ । जनवादी राज्यसत्ताको सुदृढीकरणको ग्यारेण्टी गरिनु पर्छ । त्यसकारण नयाँ जनवादी क्रान्ति सम्पन्न गरेपछि सबभन्दा पहिला सबै क्षेत्रमा सबै हिसाबले नयाँ जनवादलाई सुदृढ बनाउनु प्रमुख काम हुन्छ र हुनुपर्छ । राष्ट्रिय अर्थतन्त्रको क्षेत्रमा सार्वजनिक तथा सामूहिक क्षेत्रको भूमिकालाई बढाउँदै, सामूहिक स्वामित्वको घेराभित्र प्रवेश गरेर जनताले बढी भौतिक लाभ प्राप्त गर्नसक्ने भौतिक परिस्थिति तयार गर्ने काम गर्नुपर्छ । जनतालाई शिक्षात्मक विधिहरूद्वारा सामूहिकतातर्फ आकर्षित गर्ने तरिका अपनाउनु पर्छ । जनता र राष्ट्रको सार्वजनिक जीवनमाथि निजी क्षेत्रको एकाधिकार कायम हुन दिनु हुँदैन । आधारभूत रूपमा समाजवादमा संक्रमण गर्ने भौतिक परिस्थिति तयार गर्नुपर्छ । जनतालाई समाजवादका लाभहरूप्रति आकर्षित, शिक्षित, सचेत गराई मनो गत रूपमा तयार बनाउनुपर्छ । जनताको सक्रिय समर्थन र सहभागिता तथा जनताकै पहलकदमीलाई प्रोत्साहित गरेर समाजवादमा संक्रमण गर्नुपर्छ । मजदुर, सर्वहारा वर्गमात्र होइन आमजनतालाई नै समाजवादको पक्षमा संगठित नगरी समाजवादको निर्माण तथा रक्षा र विकास सम्भव हुँदैन । जुन कुराको निम्ति जनता तत्काल मानसिक एवं भौतिक रूपमा तयार छैनन् र जसको निम्ति वस्तुगत परिस्थिति तयार भैसकेको छैन, त्यसको तयारी गर्ने सिद्धान्त तथा नीति तयार गरेर राजनीतिक पार्टीले सचेतन प्रयास गर्छ । जब कुनै कुराको निम्ति भौतिक एवं मानसिक स्थिति तयार हुन्छ, त्यसबेला त्यो केवल राजनीतिक पार्टीको मात्र नीतिगत विषय रहँदैन, आमजनताको चासो र व्यवहारको विषय पनि बन्छ । समाजवादलाई जनताको चासो र व्यवहारको विषय नबनाई समाजवाद आउन र कायम रहन सक्दैन । यदि समाजवादप्रति आमजनता वा बहुमत जनताको समर्थन संगठित गर्न सकिन्छ भने मुट्ठीभर समाजवाद विरोधीहरूको विरोधका बाबजुद समाजवादमा शान्तिपूण संक्रमण हुनसक्छ । तर समाजवादको निम्ति पाइला अघि सार्दा विरोधीहरूद्वारा विप्लव गर्ने कोशिश हुन्छ भने त्यस्तो तत्वलाई नियन्त्रण गर्न राज्यको बलसमेत प्रयोग गरेर संक्रमणलाई सुनिश्चित गरिनुपर्छ । तर यदि बहुमत जनताको समर्थन छैन भने केवल राज्यको बल प्रयोगको माध्यमबाट मात्र स्थापित गरेको समाजवाद दीर्घजीवी हुन सक्दैन । त्यसकारण जनवादको सुदृढीकरण, समाजवादको निम्ति भौतिक तयारी र समाजवादको पक्षमा जनताको बहुमतलाई गोलबन्द गर्ने विधिद्वारा मात्र समाजवादमा संक्रमण सम्भव हुनेछ । कतिपय मुलुकमा भएको जस्तो समाजवाद स्थापना गर्ने, अल्पमतको लोभले बहुमतमाथि बल प्रयोग गर्ने हतार गर्नुहुँदैन ।
जनताको बहुदलीय जनवादका १४ विशेषता
१. संविधानको सर्वोच्चता : कुनै पनि वर्ग, व्यक्ति, संस्था वा पार्टी संविधानभन्दा माथि हुन सक्दैन । संविधान सबैको निम्ति अनुल्लंघनीय हुनुपर्दछ । समाजको निरन्तर प्रगतिलाई संविधानले निकास दिन सक्नुपर्दछ ।
२. बहुलवादी खुला समाज : प्रत्येक व्यक्तिलाई जनता र राष्ट्रको निम्ति सोच्ने, बोल्ने तथा आफ्ना अनुभूतिहरू भिव्यक्त गर्ने स्वतन्त्रता हुनुपर्दछ । बाहिरी दुनियाबाट अलग, बन्द र एकोहोरो समाज हुनुहँुदैन ।
३. शक्ति पृथकीकरणको सिद्धान्त : शक्ति व्यक्तिको हातमा मात्र होइन संस्थाको हातमा पनि अति केन्द्रिकरण हुनुहुँदैन । एउटै संस्था कार्यकारी, विधायकी र न्यायिक अधिकार प्रयोग गर्ने केन्द्रीय शक्ति हुनुहुँदैन ।
४. मानव अधिकारको रक्षा : साँचो अर्थमा कम्युनिष्टहरू नै मानव अधिकारको सबभन्दा दृढ योद्धा हुन् र हुनसक्छन् । मानव अधिकारको रक्षा कम्युनिष्ट आन्दोलनको महत्वपूर्ण तत्व हो र हुनुपर्दछ ।
५. बहुदलीय प्रतिस्पर्धा प्रणाली : राज्य र त्यसका राजकीय निकायहरू सम्पूर्ण जनताको चासो र सरोकारका विषय हुन् । त्यसमा एउटा मात्र पार्टीको एकाधिकार हुनुहुँदैन । िवर्गीय विविधता भएको समाजमा अनेकन राजनीतिक पार्टीहरू हुन सक्दछन् । तिनलाई संविधान बमोजिम राजनीतिक प्रतिष्पर्धा गर्ने स्वतन्त्रता दिनुपर्दछ ।
६. आवधिक निर्वाचन : जनताले एकपटक गरेको निर्णय संधैको निम्ति शाश्वत हुन सक्दैनन् । निर्वाचन–विचार, कार्यक्रम र नीतिहरूको आधारमा निश्चित अवधिमा हुनुपर्दछ । एउटै नीति र कार्यक्रम भित्र व्यक्ति मात्र रोज्न पाउने व्यवस्था सारतत्वमा लोकतान्त्रिक हुन सक्दैन ।
७. बहुमतको सरकार र अल्पमतको विपक्ष : बहुदलीय पद्धतिको मूल तत्व संगठित प्रतिष्पर्धा हो । अर्को मूल तत्व बहुमतको सरकार र अल्पमतको विपक्ष हुने संवैधानिक व्यवस्था हो । सरकारको विपक्षमा वैधानिक रूपमा काम गर्न पाउने प्रणाली लोकतान्त्रिक प्रणाली हो ।
८. कानूनको शासन : कुनै पनि व्यक्तिमाथि कानून अनुसार अधिकार प्राप्त निकायको औपचारिक निर्णयबाट मात्र दण्डित गर्न सकिने व्यवस्था । सरकार र शक्ति हातमा भएको कुनै पनि निकाय वा व्यक्तिले स्वेच्छाचारी ढंगले काम गर्न पाउने छैनन् र ती सबै प्रचलित कानून अनुसार गरिने छन् ।
९. जनताको जनवादी व्यवस्थाको सुदृढीकरण : जनताको जनवादी व्यवस्था अपेक्षाकृत लामो समयसम्म रहने सामाजिक व्यवस्था भएको हुनाले यसलाई चरणबद्ध रूपमा अगाडि बढाइने छ ।
पहिलो चरण : पुरानो व्यवस्थाका शोषणका अवशेषहरू सबै क्षेत्रबाट अन्त्य गर्ने काममा केन्द्रित भएर लाग्ने ।
दोश्रो चरण: नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने ।
तेश्रो चरण : समाजवादमा संक्रमणको निम्ति केन्द्रित भएर भौतिक तथा सांस्कृतिक तयारी गर्ने ।
१०. विदेशी पूजी र प्रविधि : वैदेशिक पूँजी र प्रविधिको सवालमा नीतिगत रूपमा ढोका बन्द गरिने छैन । संविधान र ऐन कानूनको सिमाभित्र राष्ट्रिय हितलाई ख्याल राखेर वैदेशिक पूँजी र प्रविधिको लगानी, संरक्षण र उपयोग गरिने छ ।
११. क्षतिपूर्ति : नयाँ समाजको निर्माणमा सकारात्मक योगदान गर्न नचाहने र त्यसको विरोध र ध्वंसमा लाग्ने सामन्ती जमिन्दार बाहेक अरूलाई जमिनको क्षतिपूर्ति दिइने छ । क्षतिपूर्तिलाई उद्योग, व्यापार र व्यवसायतर्फ स्थानान्तरित गराउने नीति लिइने छ ।
१२. विदेश नीति : पञ्चशिलको सिद्धान्त अनुरूप वैदेशिक सम्बन्ध कायम गरिने । आफ्नै प्रत्यक्ष पहलबाट अन्तर्राष्ट्रिय समर्थन जुटाउने । क्रान्ति र निर्माणको ठोस व्यवहारिक विषयलाई बेवास्ता गरेर केवल सैद्धान्तिक आग्रहबाट मात्र वैदेशिक नीति निरुपित नहुने ।
१३. नेतृत्व र अधिनायकत्व : सेवा, पहलकदमी र प्रतिष्पर्धाद्वारा नेतृत्व प्राप्त गर्ने । अधिनायकत्व शब्दको सट्टा आम रूपमा जनताको जनवादी राज्यसत्ता शब्दको प्रयोग गर्ने ।
१४. जनताको बहुदलीय जनवाद : यो नेपाली सन्दर्भको नयाँ जनवाद हो । नयाँ जनवादी क्रान्तिको सारतत्व र यस कार्यक्रममा थप १४ विशेषतालाई व्यक्त गर्ने गरी जनताको बहुदलीय जनवाद नामाकरण गरिएको हो ।
प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार १० : १० बजे
प्रतिक्रिया