नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपालको सबैभन्दा ठुलो पार्टी मात्र होइन, सबैभन्दा ठुलो राजनीतिक शक्ति हो । यो पार्टी सबैभन्दा जनप्रिय राजनीतिक शक्ति हो । हिजो यस पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सुरु भएको छ । महाधिवेशनको उद्घाटन समारोहका अवसरमा हिजो चितवनमा उर्लेको मान सागरले यसको लोकप्रियता र राजनीतिक शक्ति भएको पुष्टि गरेको छ । लाखौँको सङ्ख्यामा सहभागी भएर जनताले नेकपा (एमाले)लाई समर्थन मात्र गरेका होइनन्, एमालेबाट आशा, अपेक्षा र खबरदारी पनि प्रकट गरेका हुन् । गुटबन्दी बहिर्गमनकारीहरूलाई दिएको दनक हो । विशाल जनसमर्थन र सहभागिताबाट एमालेको वर्तमान र भावी नेतृत्व यसबाट नफुर्कियोस्, बरु, यसको सन्देश र सङ्केत बुझी शिक्षा लिन लेओस् । यो समर्थन र सहभागिता गुट—फुटका विरुद्ध, बृहत्तर पार्टी एकताको सर्तमा हो ।
यो सहभागिता पार्टीप्रतिको अगाध विश्वासको सूचक हो । यो विश्वास आर्जन गर्न र जनताको मन मनमा एमालेलाई स्थापित गर्न एमालेका सबै तहका नेता—कार्यकर्ताको अथक परिश्रमको फल हो । यसमा केपी शर्मा ओलीको विकास बारेको स्पष्ट दृष्टिकोण, राष्ट्रिय स्वाभिमानका पक्षमा चट्टानी अडान, जनताको जीवनसँग राजनीति जोड्ने कुशलता र नेतृत्व क्षमताको महत्त्वपूर्ण भूमिका रहेको छ ।
जनताको बहुदलीय जनवादको व्यवहारिक प्रयोगमा दक्ष केपी शर्मा ओलीले माओवादी द्वन्द्वकलामा शान्तिको पक्षमा लिएको अडान र माओवादीलाई शान्तिपूर्ण रूपान्तरणमा ल्याउन गरेको सैद्धान्तिक—वैचारिक पहलको सफलताले ओलीको कद बढाएको हो । यिनै कारणहरूले एमालेको यस राष्ट्रिय महाधिवेशनबाट केपी शर्मा ओलीले अध्यक्षका रूपमा पार्टी नेतृत्व गर्ने कुराको विकल्प देखिँदैन ।
कम्युनिष्ट स्थापनाको यी ७२ वर्ष पार गरिरहँदा नेपालको कम्युनिष्ट आन्दोलनले पटक पटक धोखा र धक्का बेहोर्नुपरेको तथ्य सर्वविदितै छ । यस्ता धोखा र धक्काबाट जोगाउँदै कम्युनिष्ट आन्दोलनको रक्षा र विकास गर्न वि.स. २०४६—०४७ को पञ्चायती निरङ्कुशता विरोधी ऐतिहासिक जनआन्दोलनको सफलता र त्यसपछिको करिब चार वर्ष जननेता मदन भण्डारीको अभूतपूर्व भूमिका रहेको थियो । जन नेता मदन भण्डारीको रहस्यमय दुर्घटनाबाट भएको दुःखद अवसानपछि यस उँचाइमा पार्टीलाई उठाउनमा केपी शर्मा ओलीको भूमिका उल्लेखनीय रहेको स्पष्ट छ । अहिले नेकपा (एमाले)को लोकप्रियता विस्तार अहिलेसम्मकै उच्च छ ।
अहिले पनि माधव नेपालहरूको बहिर्गमनलाई उनीहरूले चित्त बुझाए । किन त ? किन भने पार्टीमा गुटबन्दी र सधैँको खिचलोभन्दा केही नेताको बहिर्गमन पार्टीका लागि हितकर छ भन्ने उनीहरूको ठम्याइ रहेको छ ।
पार्टीलाई केपी शर्मा ओलीको एकीकृत कम्युनिष्ट पार्टी बनाउने प्रयास र सुझबुझले नेकपा (माओवादी) केन्द्र समेतलाई एकीकृत गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निर्माण भयो र त्यसअघि भएको गठबन्धनले दुई तिहाइको हाराहारी मतसहित उहाँको नेतृत्वमा कम्युनिष्ट पार्टीको सरकार बन्यो । अनेकौँ षड्यन्त्र, जालझेलका कारण दुई तिहाइको सरकार ढलाइयो । माओवादी केन्द्रसँगको एकता भङ्ग भयो । कम्युनिष्ट पार्टीको एकतालाई जोगाउने र जनतासँग गरिएको प्रतिबद्धता अनुसार अघि बढ्नुपर्नेमा मान—अपमान र भागबण्डाको खिचलो माओवादी केन्द्रको प्रचण्ड समूह र साबिक एमालेकै माधव नेपालहरू एकीकृत कम्युनिष्ट पार्टी विभाजन गर्ने प्रयासमा लागे । यसमा भएका तिगडम र सेटिङबारे सर्वोच्च अदालतमा अहिले भइरहेको घटनाले बुझिने गरी स्पष्ट सङ्केत गरिरहेको छ ।
पार्टी एकता भङ्ग, सरकारबाट बहिर्गमन आदि जम्माजम्मीमा नहुनुपर्ने कुरा भए पनि एमाले पङ्क्तिका लागि खुसीको विषय पनि छ, त्यो हो साबिक माओवादी केन्द्रका प्रभावशाली नेताहरू र उहाँहरूसँग रहेको कार्यकर्ता पङ्क्ति प्रचण्डको पछि नजानु । यसले दुई पार्टी बीचको एकतालाई आधारभूत रूपमा जोगाएको स्पष्ट पारेको छ ।
एमालेको कार्यकर्ता पङ्क्तिको अपेक्षा साबिक एमाले अझ सशक्त र एकताबद्ध होस् भन्ने थियो । माधव नेपालहरू पनि नबाहिरिउन् भन्ने मनसाय थियो, तर कार्यकर्ताको त्यो सदासयलाई नटेरेर माधव नेपालसहित केही एमालेहरूले पार्टी बहिर्गमन गरे । यसलाई एमाले फुटको हल्ला फिँजाएर कार्यकर्ताको मन दुःखाए । तर, कार्यकर्ता केपी शर्मा ओलीको नेतृत्व र नेकपा (एमाले) दृढतापूर्वक उभिएका छन् ।
एमालेका कार्यकर्ता पार्टी विभाजनको पीडाबाट दिक्क छन् । जनताका बीचमा सधैँ पुग्ने र कम्युनिष्ट पार्टीको सिद्धान्त, विचार बुझाउने, सङ्गठित र अनुशासित पार्टी निर्माणमा लागेका हजारौँ इमान्दर कार्यकर्ता फुट—विभाजनको सन्देश बोक्न चाहँदैनन् । दुर्बल कम्युनिष्ट आन्दोलनको कल्पनासम्म गर्न सक्दैनन् । आफ्नो पार्टी कमजोर हुने कुरा उनीहरूलाई असहनीय हुन्छ । पार्टीमा फुट—विभाजन हुँदा उनीहरूलाई जनतासामु मुख देखाउन पनि लाज हुन्छ, उत्साह मर्छ । एकताबद्ध पार्टीका लागि उनीहरू जस्तोसुकै त्याग गर्न तयार हुन्छन् र हुँदै आएका छन् । अहिले पनि माधव नेपालहरूको बहिर्गमनलाई उनीहरूले चित्त बुझाए । किन त ? किन भने पार्टीमा गुटबन्दी र सधैँको खिचलोभन्दा केही नेताको बहिर्गमन पार्टीका लागि हितकर छ भन्ने उनीहरूको ठम्याइ रहेको छ ।
साह्रै ठुलो त्याग र बलिदानबाट नेपालको राजनीति यहाँसम्म आइपुगेको हो । यसमा नेताहरूको सुझबुझ, नेतृत्व र त्यागको भूमिका त छँदै छ, बाहिर कतै नामसम्म नसुनिने, कुनै मञ्चमा नदेखिने, कुनै सञ्चार माध्यममा नभुल्किने, कुनै राजकीय लाभको आसै नगर्ने, भुईँ कार्यकर्ताको निस्वार्थ लगानीको मूल्य ठुलो छ । नेताहरूले यसलाई सही ढङ्गले बुझ्न आवश्यक छ । लामो समयदेखि नेतृत्व गरिरहेका नेताहरूलाई थप नेतृत्व गर्ने चाहना हुनु, अझ माथिल्लो तहमा पुग्ने लालसा हुनु स्वाभाविक मनोविज्ञान हो । तर, यसका लागि गुट बनाउने, अनुचित तरिकाहरू अवलम्बन गर्नु, एकापसमा कृत्रिम अनमेल बढाउनु किमार्थ राम्रो होइन । कम्युनिष्ट पार्टीको शक्ति विस्तार नचाहने विरोधी शक्ति साना साना छिद्र खोजेर बसेका छन् । यसका लागि अनेकौँ माध्यम परिचालन गरेका हुन सक्दछन् । नेताहरूले आफ्ना पक्षमा इमानदार तर्क गरिरहँदा पनि अभिव्यक्तिहरूलाई तोडमोड, बढाइ चढाइ गर्ने र उत्तेजित पार्ने, भड्काउने गरिएको पनि देखिँदै छ । यस्ता विषयमा पार्टी नेताहरूले ध्यान दिन आवश्यक छ । कार्यकर्ता — आम प्रतिनिधिहरूले पनि कुनै नेताको कुनै सबल पक्ष र कुनैको सामान्य दुर्बल पक्षमा टेकेर गुटबन्दीलाई प्रोत्साहित गर्नु हुँदैन । आफूलाई मन पर्ने नेताको पक्षपोषण गर्दा तुलनात्मक रूपमा कम मन पर्ने नेताको हुर्मत लिने काम गर्नु हुँदैन ।
सारमा, नेपालका कम्युनिष्ट त्यसमाथि पनि एमालेका विरुद्ध अनेकौँ शक्ति केन्द्रहरू घेराबन्दी गर्ने, सकेसम्म फुटाउने, नसके कमजोर बनाउने ध्याउन्नमा रहेका छन् । किनभने यतिबेला नेकपा एमाले सबल छ, लोकप्रिय छ र निर्विकल्प सत्ताको दाबेदार देखिएको छ । यसको सफलताबाट हानि बेहोर्नु पर्नेहरू यसबाट तर्सिनु स्वाभाविकै हो । तर, सत्य के हो भने पार्टी नेता—कार्यकर्ताहरू चर नदिएसम्म उनीहरू भित्र छिर्न त के, चिहाउनसम्म पनि सक्नेछैनन् ।
नेतृत्वका आकाँक्षी नेताहरूले आफ्नो इच्छा व्यक्त गर्नु स्वाभाविकै हो । तर जित्नका लागि कुनै प्रकारको समूह बन्दी गर्न हुने छैन । सानो आकार र निश्चित प्रयोजनका लागि गरिने समूहबन्दीले स्थायी रूप लिने र पार्टीभित्र विषवृक्ष रोपेर त्यसको उँचाइको फलबाट दीर्घजीवी बनिन्छ भन्ने भ्रममा नपर्नु होला ।
प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार ९ : ३६ बजे
प्रतिक्रिया